तपाईको चिन्ताफिक्रिमाथि कसरी विजयी हुने?

 How to overcome your anxiety? 

तपाईको चिन्ताफिक्रिमाथि कसरी विजयी हुने?


चिन्ताफिक्रिको परिचय:


"चिन्ता" ल्याटिन आङ्गसियस (anxius) शब्दबाट आएको हो जुन अर्को ल्याटिन शब्द एनजेरे (angere) सँग मिल्दोजुल्दो छ जसको अर्थ चाहिँ "घाँटी निमोठेर मार्नु" हो। 
के हामीलाई चिन्ताले त्यसै गर्छ होइन र? यसले हामीभित्रको शान्ति र आनन्दको हत्या गरिदिन्छ। 

विश्व स्वास्थ्य संगठनले २०१९ मा गरेको अध्ययनले हरेक ८  जनामध्ये १ जना (९७ करोड) चिन्ता र डिप्रेसनजस्ता मानसिक रोगले ग्रसित भएको तथ्यांक पत्ता लगाएको थियो जसमा ५.८ करोड बालबालिका र किशोरकिशोरीहरु रहेको छ । २०२० यता विश्व प्रकोप कोरोनाको कारण अझै बढेको छ।

वैज्ञानिकहरुको अध्ययनले एक सामान्य मानिसको चिन्ता यस्तो देखिने बताएको छ :
४०% चिन्ता कहिल्यै नहुने कुराहरुमा 
३०% चिन्ता विगतमा भएका र परिवर्तन गर्न नसकिने कुराहरुमा 
१२% चिन्ता अरुको असत्य आलोचनाहरुमा 
८% चिन्ता वास्तविक समस्याहरुमा जुन हामीले सामना गर्नैपर्ने हुन्छ

धेरै इशाईहरु क्रूसमा दुई चोरहरुका बिच टाङ्गिएका छन् ; विगतका आत्मग्लानि र भविष्यको चिन्ता। 
चिन्ता भन्ने रोग भयानक हुनुको पछाडिको कारण चाहिँ यसको अदृश्य ढाँचा पनि हो। नेपालीमा एउटा उखान छ, "वनको बाघले खाओस कि नखाओस, मनको बाघले चाहिँ खान्छ नै।"
मनको रोग समयमै उपचार हुन सकेन भने यो निक्कै घातक साबित हुन सक्छ। 

हाम्रो रोगहरुको ठूलो प्रतिशत कुनै न कुनै चिन्ता, फिक्री र तनावसँग सम्बन्धित छ। 
* सबै मृत्युमध्ये ३८% हृदय सम्बन्धित छन र ती मध्ये अधिकांश उच्च रक्तचाप, उच्च तनाव र चिन्तासँग सम्बन्धित हुन्छ। 
* चिन्ता क्यान्सर, फोक्सोको रोग र आत्महत्यासँग अधिकांश जोडिएको हुन्छ। 

बाइबलले पनि यसरी भन्दछ, 
“यसैकारण म तिमीहरूलाई भन्‍दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्‍नो प्राणको निम्‍ति र ‘के लगाउँला’ भनी आफ्‍नो शरीरको निम्‍ति फिक्री नगर।’ के जीवन खानेकुराभन्‍दा र शरीर लुगाफाटाभन्‍दा उत्तम होइन? मत्ती ६:२५
त्यसो हो भने, के चिन्ताफिक्री हुनु नै हुँदैन त? कतिपटक चिन्ताफिक्री नलिउँ भन्दा पनि यो आपसेआप (automatically)  आइहाल्छ, तब के हामीले पाप गरेका हौं? के चिन्ताफिक्री आउनु अनात्मिकता अथवा विश्वास कमजोर हुनुको संकेत हो त? 

हात्तीहरु मानिसहरुभन्दा लामो आयु बाँच्छन किनभने तिनीहरु तौल घटाउने बारे कहिल्यै चिन्ता गर्दैनन्। (हास्यास्पद) 

- चिन्ताफिक्री वास्तविक, यथार्थ र प्राकृतिक हो। 
It is real, fact and natural.

"चिन्ता र फिक्री नगर" भन्नुको अर्थ हाम्रो भावनाहरुलाई बेवास्ता गर्नु भन्न खोजेको होइन न त यसको अर्थ हामीलाई कुनै चिन्ताफिक्री नै हुँदैन भन्ने हो। 
हामी भावुक प्राणी हौं र हामीभित्र विभिन्न किसिमका भावनाहरु छन्। मनोवैज्ञानिकहरुले एउटा मानिसमा २७ किसिमका भिन्न-भिन्न भावनाहरु हुन्छ भनि दाबि गरेको छ। हामी कहिलेकाहिँ टुटछौं, कहिलेकाहीँ भावविह्वल हुन्छौं, कहिले विभिन्न तनाव र चिन्ताफिक्रीहरुबाट गुज्रन्छौं, कति समय हाम्रो हृदयहरु दुख्छ, हामी रिसाउँछौ, हामी रुन्छौं तर यी सबैका बाबजुद परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। उहाँ हामीलाई देख्नुहुने एल-रोइ हुनुहुन्छ, उहाँ हाम्रो दुख र पिडालाई अनुभूति गर्न सक्नुहुन्छ र हामीलाई हाम्रो सबैभन्दा खराब समयहरुमा एक्लो छोडनुहुन्न तर हामीलाई सम्हाल्नुहुन्छ।

जसरी लेखिएको छ, 
"जब धार्मिक जनहरूले पुकार गर्छन्‌, तब परमप्रभुले सुन्‍नुहुन्‍छ,  र तिनीहरूका सबै सङ्कष्‍टबाट तिनीहरूलाई उद्धार दिनुहुन्‍छ। चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्‍छ,  र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्‍छ।" भजन. ३४:१७-१८

यसकारण अब उसो हामीले चिन्तालाई पक्रिराख्नु पर्दैन। हाम्रो भरोसा चाहिँ चिन्ताफिक्रीमाथि होइन तर परमेश्वरमाथि हो यसकारण हामीले हाम्रो मनमष्तिस्कबाट चिन्ताफिक्रीलाई जान दिन सक्छौं। 
यसकारण "चिन्ता र फिक्री नलेओ" भन्ने बाइबलको आज्ञा चाहिँ तपाईमा चिन्ता कहिल्यै आउनै हुन्न अथवा आउँदै- आउँदैन भन्न खोजेको होइन। त्यस्ता कठिनाई, उत्तारचढाव, जिवन र भविष्य, दुखपिडा जस्ता समयहरुलाई सामना गर्दा र यस्ता कुराहरुको बारेमा सोच्दा चिन्ताफिक्री हुनु स्वाभाविक र प्राकृतिक हो। चिन्ताफिक्री आउनु चाहिँ तपाई परमेश्वरमा कमजोर भएको अथवा तपाईको विश्वास कमजोर हुनुको संकेत होइन। तर चिन्ताफिक्री आएपश्चात के गर्नुहुन्छ, यसप्रति तपाईको कस्तो प्रतिक्रिया हुन्छ? यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ? आफैलाई कसरी समाल्नुहुन्छ? यो निक्कै नै महत्वपूर्ण छ।

यदि सबै कुरा छाडेर चिन्ता र फिक्रीमै डुबिरहनुहुन्छ भने ता अब यसले तपाईको परमेश्वरप्रतिको विश्वासलाई बिस्तारै कमजोर बनाउन थाल्छ। तपाई परमप्रभुमा भन्दा पनि तपाईको समस्यामा बढि केन्द्रित बन्नुहुन्छ। अब तपाईले परमप्रभुलाई भन्दा समस्यालाई ठूलो देख्न थाल्नुहुन्छ र उहाँ तपाईको समस्यालाई सुल्झ्याउन सक्ने काबिल हुनुहुन्छ भन्ने कुरा तपाईको लागि अवास्तविक बनिदिन्छ। 

तर हामीले भजनकर्ताले भनेझैं गर्नुपर्ने हुन्छ। 
जुन बेला मलाई डर लाग्‍छ,  म तपाईंमा भरोसा राख्‍नेछु। भजन. ५६:३
डर चाहिँ चिन्ताको अर्को पर्यायवाची शब्द पनि हो। 
ध्यान दिनुहोस्, पहिला मैले डरलाई अनुभव गर्छु अनि म भरोसा गर्छु। डराएकोमा आफैलाई दोषि महसुस नगर्नुहोस्।  
हाम्रा धेरै थकाईहरु कामको कारण होइन तर चिन्ता, निराशा र आक्रोशको कारण हो। 

- तपाईको चिन्ताफिक्री परमप्रभुलाई सुम्पनुहोस्। 
Cast it to God. Let God heal you. 
"तिम्रा चिन्‍ता र फिक्री परमप्रभुमा राख  र उहाँले तिमीलाई सम्‍भाल्‍नुहुनेछ।  उहाँले धर्मीलाई कहिल्‍यै डग्‍न दिनुहुनेछैन।" भजन. ५५:२२
जब हामी अस्वस्थ हुन्छौं र उपचारको निम्ति हस्पिटलमा जान्छौं। तब हामी आफैंलाई डाक्टरकहाँ सुम्पिदिन्छौं। उनले जुन औषधी तोकिदिन्छ- त्यहि खान्छौं, जेजे खानेकुरा खानु भन्छ- त्यहि खान्छौं, जेजे गर्न मिल्दैन भन्छ-त्यो गर्दैनौं। जब हाम्रो मनमस्तिष्क र हृदय बिमारी हुन्छ, हामी परमेश्वरकहाँ गइहाल्नुपर्छ र हामीले आफैलाई उहाँकहाँ सुम्पिदिनुपर्छ। 
फिलिप्पी ४:६-७
"कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्‌, र समझले नै भियाउन नसकिने परमेश्‍वरको शान्‍तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।"
जब हामी परमेश्वरलाई हाम्रो चिन्ता सुम्पन्छौं, उहाँ हामीलाई आफ्नो शान्तिले भन्नुहुन्छ।
कसैले पनि प्रार्थना र चिन्ता एकसाथ गर्न सक्दैन। 
१ पत्रुस ५:७
"तिमीहरूका सारा फिक्री उहाँलाई सुम्‍पिदेओ, किनकि उहाँले तिमीहरूको वास्‍ता गर्नुहुन्‍छ।"

Comments