आत्मिक परिपक्कता

आत्मिक परिपक्कता 



आत्मिक परिपक्कता एउटा यात्रा हो जसमा हामी कति उमेरका भयौं अथवा हामी के गर्छौ भन्दा पनि परमेश्वरलाई हामी के गर्न दिन्छौं भन्ने कुरा बढि महत्वपूर्ण हुन्छ। यस यात्रामा हाम्रो गन्तव्यमा पुग्न हामीलाई धैर्यता, दृढता र सिक्ने र वृद्धि हुने स्वइच्छाको आवश्यकता हुँदछ। उद्धार पश्चात नै वृद्धिको प्रकृया सुरु हुन्छ तर सबै जना पतिपक्कतामा पुग्छ भन्ने ग्यारेन्टी छैन। 
हाम्रो विश्वासको लक्ष्य आत्मिक परिपक्कता हुनुपर्छ। परमेश्वर हामी हरेक आत्मिक रुपमा परिपक्क भएको चाहनुहुन्छ। 
बाइबलले भन्दछ, "....यसकारण ख्रीष्‍टसम्‍बन्‍धी प्राथमिक सिद्धान्‍तहरूलाई छोड़ेर हामी परिपक्‍वतातर्फ बढ़ौं।" हिब्रू ६:१
हरेक दिन परिपक्कतातर्फ हामीले एक कदम अघि सारेको हुनुपर्छ। अवश्य पनि परिपक्कता एकैरातमा हुने कुरा होइन। यसको लागि समय, मेहेनत, परिश्रम र लगानी चाहिन्छ। 
१ कोरिन्थी २:६
"तापनि परिपक्‍व भएकाहरूका बीचमा हामी बुद्धिको प्रचार गर्दछौं....."
तपाई बुद्धि र ज्ञानको कुरा बालकसँग गर्न सक्नुहुन्न तर एक परिपक्क व्यक्ति सँग गर्नुहुन्छ। परमेश्वर पनि एक शिशु बालकसँग रहस्यमय प्रकाश र बुद्धिको कुरा गर्न सक्नुहुन्न। 
यस खण्डमा प्रयोग गरिएको परिपक्क शब्दलाई ग्रीकमा टेलिओस  (téleios) भनिएको छ जसको अर्थ सिद्ध, पूर्ण र खोटरहित हो। 
२ पत्रुस ३:१८
"तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनुग्रह र ज्ञानमा बढ्‌दैजाओ।"

जोन म्याक्सवेलले परिपक्काताको चारवटा चरणहरु बारे भनेका छन् :
पहिलो चरण- विद्रोह : परमेश्वरले जे भन्नुभए तापनि मलाई जे मन लाग्छ म त्यहि गर्छु। 
दोस्रो चरण- शर्तयुक्त प्रेम : यदि मैले चाहेको परमेश्वरले दिनुभयो भने म उहाँले चाहनुभएको कुरा दिन्छु। 
तेस्रो चरण - बढदो विश्वास : मलाई आवश्यक कुरा प्रभुले जुटाउनुहुन्छ भन्ने विश्वासका साथ म उहाँले चाहनुभएको कुरा दिदँछु। 
चौंथो चरण - नि:स्वार्थ आराधना : मेरा लागि कुनै विचार नगरी म परमेश्वरले चाहनुभएको कुरा उहाँलाई दिन्छु किनकि उहाँ प्रभु हुनुहुन्छ र मेरो प्रशंसाको योग्य हुनुहुन्छ। 
यी चरणहरुमध्ये कुन परिपक्कताको चरण हो? 
तपाई कुन चरणमा हुनुहुन्छ? 

- तपाईको उमेरसँग परिपक्कताको कुनै सम्बन्ध छैन। 
तपाई परिपक्क नभई समयसँगै वृद्ध हुन सक्नुहुन्छ। त्यहाँ ५० वा ६० वर्ष उमेरको आत्मिक शिशुहरु हुन सक्छन्। 
- तपाईको उपलब्धिसँग परिपक्कताको कुनै सम्बन्ध छैन्। 
- परिपक्कता बाहिरी आवरण होइन्। 

"परिपक्कता तपाईको चरित्र बारे हो। "


- एक परिपक्क इशाई दबाबको बिचमा पनि सकारात्मक हुन्छ:
चिनियाँ भनाई, जसरी बिना घस्रण बहूमूल्य रत्न र मणि चम्कदैंन, त्यसरी नै न त मानिस जाँच बिना सिद्ध हुन्छ"।

याकूब १:२-४
मेरा भाइ हो, तिमीहरूमाथि विभिन्‍न किसिमका आपत्‌-विपत्‌ आइपर्दा तिनलाई पूरा आनन्‍दको कुरा सम्‍झ।
किनकि तिमीहरू जान्‍दछौ, तिमीहरूका विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँछ। धैर्यलाई त्‍यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्‍व र पूर्ण होओ।
"मानिसलाई वृद्धिको लागि समाधानभन्दा बढि समस्या नै चाहिन्छ। "
कहिलेकाहीँ वृद्धिको लागि हाम्रो जीवनमा उत्तारचढाव र समस्या आवश्यक हुन्छ। हामी परिपक्कतातर्फ लम्कन सकौं भनी अय्यूबको जीवनमा जस्तै, हाम्रो जीवनमा बाधाँ र कठिनाईहरुलाई परमेश्वर अनुमति दिनुहुन्छ। 

हामी मध्ये धेरैले रुखको हाँगामा वा चट्टानको उचाँइमा चीलको गुँडको चित्र देखेका छौँ, तर हामीमध्ये थोरैले गुँड भित्रको झलक पाएका छौं। 

आमा चिलले आफ्नो गुँड बनाउँदा काँडा, भाँचिएका हाँगाहरु, धारिलो ढुङ्गाहरु र गुँड बनाउनका लागि अनुपयुक्त देखिने वस्तुहरुबाट सुरु गर्छ। त्यसपछि उनले मारेका जनावहरुको ऊन, प्वाँख र भुत्लाहरु ओछ्याएर गुँडलाई अण्डाहरुको लागि नरम र सहज बनाउँछ। 
बढदो चराहरु उडने उमेरमा पुग्दा, गुँडको आराम र सहज साथै नि:शुल्क खानाको विलासिताले तिनीहरु गुँड छोडेर उडन चाहँदैनन्। त्यतिबेला आमा चिलले गुँडलाई हलचल गर्न थाल्छ र आफ्नो बलियो पञ्जाले नरम प्वाँख र भुत्लाहरुको  बाक्लो ओछ्यान तान्न थाल्छ र गुँड पहिलाको जस्तै तिखो काँडा र धारिलो ढुंगाहरुले भरिदँछ। जति धेरै ओछ्यान उखेलिन्छ त्यति धेरै गुँड जवान चिलहरुको लागि असहज हुन्छ। अन्तत : बढदो चिलहरुलाई उनीहरुको आरामदायी बासस्थान छोडन र थप परिपक्क व्यवहारमा जान प्रेरित गर्दछ। 

बाँधासमस्या र उत्तारचढाव जीवनको अभिन्न हिस्सा हो। यसलाई हेर्ने हाम्रो दृष्टिकोण फरक र बाइबलिय हुनुपर्छ। समस्या आउँदै गर्दा परमेश्वरले समस्या ल्याउनुभयो भनेर उहाँलाई दोष्याउने होइन तर यो मेरो परिपक्कताको प्रकृयाको एउटा भाग हो भनेर बुझ्न पर्छ। किनकि परमेश्वर अन्तमा हामी हरेकको निम्ति भलाई नै गर्नुहुन्छ। 
समस्याले हामीलाई अझ स्थिर, परिपक्क र बुद्धिमान बनाउनुपर्छ। 
- एक परिपक्क इशाई अरुप्रति संवेदनशील र सहानुभूति राख्ने व्यक्ति हुँदछ:

याकूब २:८
यदि “आफ्‍ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्‍ने पवित्र-धर्मशास्‍त्रको राजकीय व्‍यवस्‍थालाई साँच्‍चै पूरा गर्दछौ भनेता असलै गर्दछौ।

येशू ख्रीष्टले मत्ती २५:३१-४६ खण्डमा हाम्रो न्याय चाहिँ हामीले अरुलाई देखाउने प्रेमको आधारमा हुने कुरा बताउनुभयो। यदि हामी स्वर्गमा साँच्चै परमेश्वरको अघि इनाम र स्याबासीको हकदार हुन चाहने हो भने ता पृथ्वीमा हामीले सक्दो अरुलाई हाम्रो प्रेमको ऋणी बनाउनुपर्ने रहेछ
१ यूहन्ना ३:१७

- एक परिपक्क इशाईले जिब्रोलाई वशमा राख्न जानेको हुन्छ:
"जिब्रोमा हड्डी हुँदैन तर हृदय तोड्ने बल यसमा हुन्छ। "
मूर्खले आफ्नो जिब्रोलाई रोक्न सक्दैन्।
मानिसको जिब्रोले उसको हृदयलाई झल्काउँछ। 

याकूब ३:८
तर जिब्रोलाई कुनै मानिसले तह लाउन सक्‍दैन। घातक विषले भरिएको यो चञ्‍चल दुष्‍ट हो।
 
डाक्टरकहाँ चेकअपको निम्ति जाँदा सधैं डाक्टरले "जिब्रो बाहिर निकाल्नुहोस त" भन्छन्। डाक्टरले हाम्रो स्वास्थ्यलाई  जाँच गर्न हाम्रो जिब्रो प्रयोग गर्छन्। परमेश्वरले पनि त्यसै गर्नुहुन्छ। 
एक परिपक्क इशाईमा हामी संयमताको फल देख्न सक्छौं।
धेरैपटक हामी मनपरी बोल्छौं, मनमा जे आउँछ त्यहि बोल्छौं, बोल्नै नहुने कुराहरु बोलि पठाउँछौं अनि अन्तिममा भन्छौं, "मनमा नलिनुहोला। मेरो त बानी नै त्यस्तो छ। रिसको बेला केके बोलि पठाउँछु। "
होइन! प्रियहरु त्यो नितान्त अपरिपक्कताको चिन्ह हो। हामीले आफ्नो जिब्रो र क्रोधलाई नियन्त्रण गर्न नसक्नु त्यो अपरिपक्कता र गैरजिम्मेवारपनको संकेत हो। 
याकूब १:२६
यदि कोही मानिसले आफूलाई धर्मी सम्‍झन्‍छ, र आफ्‍नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्‍नो हृदयलाई धोका दिन्‍छ भनेता त्‍यस मानिसको धर्म व्‍यर्थ हुन्‍छ।
याकूब ३:३-६

-एक परिपक्क इशाई झगडालु, कुरौटे, कलह ल्याउने होइन तर शान्तिपूर्ण र मेलमिलाप गराउने व्यक्ति हुँदछ। 
१ कोरिन्थी ३:२-३
मैले तिमीहरूलाई दूध खुवाएँ, खँदिलो पदार्थ होइन, किनकि तिमीहरू त्‍यसको निम्‍ति तयार थिएनौ, अनि अझ पनि छैनौ। तिमीहरू अझै सांसारिक नै छौ। किनकि जब तिमीहरूका बीचमा डाह र कलह छ, त के तिमीहरू सांसारिक चालमा चल्‍ने साधारण मानिसजस्‍ता भएनौ र?
मत्ती ५:९
धन्‍य मेलमिलाप गराउनेहरू,  किनभने तिनीहरू परमेश्‍वरका छोराहरू कहलाइनेछन्‌।
रोमी १२:१८
हुन सक्‍छ भने, सकेसम्‍म सबैसँग शान्‍तिमा बस।
Source of conflict : selfishness and judgmentalism (रोक वारेन) 
याकूब ४:१
तिमीहरूका बीचमा लड़ाइँ र झगड़ाहरू कुन कुराले ल्‍याउँछ? के यी सब तिम्रो शरीरका अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाहरूबाट आएका होइनन्‌ र?
एक परिपक्क व्यक्ति अनावश्यक वादविवादमा फस्न चाहँदैन तर दाजुभाईहरुको बिचमा मिलापको कारण बन्दछ। 
हितोपदेशकले ६ अध्यायमा परमप्रभुले घृणा गर्नुहुने ६ वटा कुराहरुलाई उल्लेख गरेका छन र छैटौं कुरा जसलाई परमप्रभु घृणा गर्नुहुन्छ त्यो चाहिँ "दाजुभाइहरुका माझमा झगडा उठाउने मानिस" हो। 


-एक परिपक्क इशाईमा धैर्यता र प्रार्थनापूर्ण जीवन हुन्छ :
याकूब ५:७-८
यसकारण भाइ हो, प्रभुको आगमन नहोउञ्‍जेल धैर्य धारण गर। हेर, भूमिको बहुमूल्‍य फसलको आशा राखेर किसानले अगिल्‍लो र पछिल्‍लो वर्षा नहोउञ्‍जेल धैर्य धारण गरेर पर्खिरहन्‍छ। तिमीहरूले पनि धैर्य धारण गर। आफ्‍नो हृदयलाई स्‍थिर गराओ, किनकि प्रभुको आगमन नजिकै छ।
उदाहरण : किसानको धैर्यता 
याकूब ५:१६
 धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्‍छ।

- एक परिपक्क इशाई विश्वासयोग्य भण्डारे हुँदछ।
तपाईले कसरी अर्थलाई (पैसा) व्यवस्थापन गर्नुहुन्छ भन्ने कुराले तपाईको आत्मिक परिपक्कतालाई दर्शाउँदछ। 
जसरी परमप्रभुले आदमलाई अदनको बगैंचामा सम्पूर्ण थोक उपभोग गर्ने अनुमति दिनुभयो त्यसरी नै परमेश्वरले हामीलाई आर्थिक श्रोत उपभोग गर्ने अनुमति दिनुभएको छ। तर यसप्रति लालयित भई यसको मोह गर्नु हाम्रो निम्ति हानिकारक हुन्छ। 
मर्कूस १०:१७-३१ "धनी मानिस"
येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, "धनीहरूलाई परमेश्‍वरको राज्‍यमा पस्‍नु कति कठिन छ।”
उहाँले भन्‍नुभएको यस कुरामा चेलाहरूले अचम्‍म माने। तर येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो,  “बालक हो, धनसम्‍पत्तिमाथि भरोसा राख्‍नेहरूलाई परमेश्‍वरको राज्‍यभित्र पस्‍नु कति कठिन छ।
धनी मानिसलाई परमेश्‍वरको राज्‍यभित्र पस्‍नुभन्‍दा त बरु सियोको नाथ्रीबाट ऊँटलाई छिर्न सजिलो हुन्‍छ।”
अवश्य पनि येशू ख्रीष्ट धनको विरुद्ध हुनुहुन्न न त उहाँको भनाईको तात्पर्य धनी मानिस स्वर्ग जाँदैन भन्ने नै हो। तर यहाँ ध्यान दिएर हेर्ने हो भने २४औं पदमा उहाँले भन्नुभयो, "धनसम्‍पत्तिमाथि भरोसा राख्‍नेहरू..."।

हाम्रो भरोसा धनसम्पत्ति, हाम्रो उपलब्धि, हाम्रो ओहदा, हाम्रो बलमा होइन नितान्त परमप्रभुमा हो। 

Comments