“ख्रीष्टमा अर्थात ख्रीष्टमा रहनु”

 In Christ 

“ख्रीष्टमा अर्थात ख्रीष्टमा रहनु”


नयाँ करारमा प्रेरित पावलले आफ्नो पत्रहरुमा "ख्रीष्टमा" शब्द १००औं पटकभन्दा बढि प्रयोग गरेका छन्। जब मण्डली ख्रीष्टभन्दा बाहिर हुन्छ तब त्यस्तो मण्डलीहरु कम प्रभावशाली, कम फलवन्त र बढि गन्जागोल र किचलोले भरिएको हुन्छ। मण्डलीको कुने ढुंगाे र शिर ख्रीष्ट हुनुपर्छ। 

ख्रीष्टमा रहनु अथवा हुनुको अर्थ के हो? 

- ख्रीष्टमा हुनुको अर्थ उहाँमा रोपिनु हो। 
यदि हाम्रो विश्वासको जरा ख्रीष्टमा गाडिएको छ भने यसको वृद्धि निश्चित छ। प्रियहरु! यो सुन्दा अलिकति नमिठो र कठोर लाग्न सक्छ तर तपाईको विश्वासको आधार पास्टर, अभिभावक, शिक्षक, प्रेरित र स्वयम मण्डलीमा नै पनि हुनुहुँदैन। तपाईको विश्वासको आधार नितान्त येशूख्रीष्ट हुनुपर्छ। धेरैपटक विश्वासीको विश्वास र भरोसा परमेश्वरमा भन्दा बढि पाष्टरमा हुन्छ। त्यसकारण जबसम्म पाष्टरले असल मनपर्ने व्यवहार गरुञ्जेल मात्र मण्डली सेवामा सहभागी हुन्छ तर जुनदिन पाष्टरले थोरै रुखो मनमा बिझ्ने कुरा भनिदिन्छ मण्डलीबाट पत्तो नभई विश्वासी गायब हुन्छ। यस्तो किन भयो? हाम्रो विश्वासको जरा हामीले परमेश्वर‌मा होइन तर मानिसमा राखेको कारण। मानिसमा भरोसा राख्ने व्यक्तिले ठूलो धोखा पाउँछ। 
भजनसंग्रह ९२:१२-१४
 “धर्मीचाहिँ खजूरको बोटझैँ (Palm tree) लहलह हुन्‍छ,  तिनीहरू लेबनानको देवदारुजस्‍तै (Cedar tree) बढ्‌छन्‌,
तिनीहरू परमप्रभुको भवनमा रोपिएका हुन्‍छन्‌,  हाम्रा परमेश्‍वरका चोकहरूमा तिनीहरू मौलाउँछन्‌।
बुढ़ेसकालमा पनि तिनीहरू फलदायी हुन्‍छन्‌,  र तिनीहरू ताजा र हरिया रहन्‍छन्‌..।”
जब हामी परमेश्वरमा गाडिएका हुन्छौं र हाम्रो विश्वासको जराहरु उहाँमा रोपिएका हुन्छन, तब हामी 
* मोलाउँछौ (हिब्रू : 'parah' कोपिला जस्तै फुल्नु) : फस्टाउनु, फलिफाप 
* फलदायी : यस खण्डमा वर्णन गरिएको खजुरको रुख सम्भवत: मध्य पूर्वमा उब्जाइएको खजुर हो। खजुरहरु ढिलो-बढने रुखहरु हुन् जसले तुरुन्तै फल दिँदैन। तिनीहरु वृद्धि हुन र परिपक्कतामा पुग्नको लागि धैर्यता चाहिन्छ। 
फलको लागि पनि धैर्यता चाहिन्छ। खजुरको रुखमा फल आउन पाचँदेखि आठ वर्ष लाग्दछ। यसले आफ्नो पहिलो बालीमा लगभग १० केजी फल फलाउँछ तर यसको फलमा निरन्तर वृद्धि आउँछ र ३० वर्षको उमेरसम्म यसले ९० केजीसम्म फल फलाउँछ। यसको उत्पादन क्षमता ६० वर्षपछि घटछ तर ८० वर्षको उमेरसम्म नै यसले फल फलाउँछ ।
परमेश्वर हामीले फल फलाएको चाहनुहुन्छ। 
यूहन्ना १५:४
“ममा रहो, र म तिमीहरूमा रहन्‍छु। जसरी हाँगा दाखको बोटमा रहेन भने त्‍यो आफैले फल फलाउन सक्‍दैन, त्‍यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्‍दैनौ।”
* ताजा र हरिया :
यर्मिया १७:७-८
“तर त्‍यो मानिस धन्‍यको हो, जसले परमप्रभुमा भरोसा राख्‍तछ, जसको आशा परमप्रभु हुनुहुन्‍छ।
त्‍यो पानीको किनारमा रोपेको रूखजस्‍तो हुनेछ, जसले आफ्‍ना जराहरू खोलाका किनारसम्‍म फिँजाएको हुन्‍छ। गर्मी हुँदा त्‍यो डराउँदैन, त्‍यसका पातहरू सधैँ हरियै हुन्‍छन्‌। खड़ेरीको समयमा त्‍यसलाई केही चिन्‍ता हुँदैन, र त्‍यसले फल फलाउन कहिल्‍यै चुक्‍दैन।”

- it is a relationship 
यो एक सम्बन्ध हो। 
गलाती ३:२९
"यदि तिमीहरू ख्रीष्‍टका हौ भनेता तिमीहरू अब्राहामका सन्‍तान हौ, र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ।"
'म ख्रीष्टलाई विश्वास गर्छु' भन्नु मात्र पर्याप्त हुँदैन तर हामी चाहिँ ख्रीष्टमा जिइरहेको र उहाँमा वृद्धि भइरहेको हुनुपर्छ। 
डेभिड प्लाटले आफ्नो पुस्तक "मलाई पछ्याउ" मा हामी 'येशूलाई विश्वास गर्न र उहाँलाई पछ्याउन बोलाइएका हौं' भनि भन्छन्। 
कलस्सी २:६-७
"यसकारण जसरी ख्रीष्‍टलाई तिमीहरूले ग्रहण गर्‍यौ, त्‍यसरी नै उहाँमा जीवन बिताओ।
धन्‍यवाद दिनमा प्रशस्‍त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्‍वासमा दह्रिला भएका होओ।"
ख्रीष्टमा हुनुको अर्थ उहाँको जीवनशैली, आचरण, रुप र ढङ्गलाई धारण गर्नु हो। हाम्रो पुरानो शैलीलाई पूर्ण रुपमा त्यागेर नयाँ सृष्टि हुनु हो। 
२ कोरिन्थी ५:१७-१८
“यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।”
यो सब परमेश्‍वरबाट भएको हो, जसले हामीलाई ख्रीष्‍टद्वारा आफूसँग मिलापमा ल्‍याउनुभयो, र हामीलाई मिलापको सेवा दिनुभयो।
जसै हामी ख्रीष्टमा हुन्छौं हामी परिवर्तन‌ हुन्छौं, हामी वृद्धि हुन्छौं, र हामी नयाँ मानिस बन्छौं। 
"ख्रीष्टमा हुनुको अर्थ हाम्रो पूर्ण रुपान्तरण हो।"
कलस्सी ३:९-१०
“एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्‍वभाव त्‍यसका चलनसमेत तिमीहरूले त्‍यागेका छौ,
र नयाँ स्‍वभाव धारण गरेका छौ, जो आफ्‍नो सृष्‍टिकर्ताको रूपअनुसार ज्ञानमा नयाँ भइरहेको छ।
यदि हामी अझै पनि झुट बोल्छौं, ठग्छौं, लुटछौं, अरुलाई चोट पुर्‍याउछौं, गलत गर्छौं र पाप गर्छौं भने ता हामी ख्रीष्टमा छैनौं।”


Comments