देख्नुहुने परमेश्वर El-Roi
परमेश्वरको धेरै नामहरुमध्ये एल-रोइ एक हो जसले परमेश्वरको विशेष प्रकृति र गुणलाई बयान गर्दछ। अरु धेरै नामहरु एलोहिम, अब्बा, यहोवा-यिरे र याह्ववे यी नामहरु जसरी हामी यो नामलाई आराधना र प्रचारमा कम सुन्ने गर्छौ। वास्तवमा यो नामचाहिँ बाइबलमा केवल एकपटकमात्र उल्लेख गरिएको छ।
एल : परमेश्वर शर्वशक्तिमान हुनुहुन्छ
रोइ : परमेश्वर देख्नुहुन्छ
उत्पत्ति १६ (Expository Study)
अनि तिनी हागारकहाँ गए, र त्यो गर्भवती भई। जब त्यसले “म गर्भवती भएछु” भनी थाहा पाई, तब त्यसले आफ्नी मालिक्नीलाई तुच्छ दृष्टिले हेर्न लागी।
तर अब्रामले साराईलाई भने, “हेर, तिम्री कमारी तिम्रै हातमा छे। त्यसलाई जे गर्न मन लाग्छ त्यही गर।” तब साराईले त्यससित कठोर व्यवहार गर्न लागिन्, र त्यो तिनको सामुन्नेबाट भागेर गई।
परमप्रभुका दूतले त्यसलाई उजाड़-स्थानमा शूरतिर जाने बाटोकै पानीको मूलनेर भेट्टाए।
र तिनले सोधे, “ए साराईकी दासी हागार, कहाँबाट आइस् र कता जाँदैछेस्?” त्यसले भनी, “मेरी मालिक्नी साराईको सामुन्नेबाट भाग्दैछु।”
परमप्रभुका दूतले त्यसलाई भने, “तेरी मालिक्नीकहाँ फर्केर जा, र तिनकै अधीनमा बस्।”
हागारले आफूसित कुरा गर्नुहुने परमप्रभुलाई यस्तो नाउँ दिई, “मलाई देख्नुहुने परमेश्वर तपाईं हुनुहुन्छ।” किनभने त्यसले भनी, “मैले साँच्ची नै परमेश्वरलाई देखेकी छु, र उहाँलाई देखेर पनि म जीवितै छु।” (उत्पत्ति १६:४,६,७,८,९,१३)
तीन पात्रहरु : हामी यस खण्डमा अब्राहामलाई देख्न सक्छौं जसका प्रशस्त गाईवस्तु,भेडाबाख्रा र नोकरहरु थिए । अर्को शब्दमा उनी एक सफल व्यक्ति थिए। त्यसपछि हामी सारालाई देख्न सक्छौं जो अब्राहामको निम्ति बच्चा जन्माउन असमर्थ छिन । त्यसै गरि साराको एक सुन्दरी मिश्री कमारी हागार पनि छिन।
अन्तमा यो खण्डचाहिँ यी तीन पात्रहरु बारे मात्र नभएर तपाई र मेरो बारे पनि हो।
त्यहाँ अवस्था निक्कै दबाबपूर्ण देखिन्छ। अब्राहाम सबैकुराभन्दा धेरै छोरा चाहन्थे। साराले आफ्नो पतिलाई छोरा दिन नसक्दा निशब्द र निराश थिइन। यी सबैभन्दा माथि - परमेश्वर मौन हुनुहुन्थ्यो।
याद गर्नुहोस्, जब परमेश्वर मौन बस्नुहुन्छ यो तपाईको जाचँको समय हो।
तपाईको जीवनको आत्मिक समस्याको निम्ति सांसारिक समाधान नरोज्नुहोस्। त्यो बेला परमेश्वरको समाधानको निम्ति प्रतिक्षा गर्नुहोस्।
प्राचिन समयमा कमारीले आफ्नो मालिकको निम्ति सन्तान जन्माउने प्रचलन सामान्य थियो। यो त्यति बेला गरिन्थ्यो जति बेला मालिकको कुनै सन्तान हुँदैन्थ्यो तब कुनै कमारीलाई मालिकको उत्तराधिकारी जन्माउन प्रयोग गरिन्थ्यो।
साराको परमप्रभुमाथिको अल्पविश्वासको कारण उनी परमेश्वरमा स्थिर हुन सकिनन्। उनले संसारिक समाधानलाई विकल्पको रुपमा रोजिन जसले झन ठूलो समस्या खडा गरिदियो। जब हामी परमेश्वरमा प्रतिक्षा नगरेर हाम्रो आफ्नै बुद्धि र क्षमताको आधारमा निर्णयहरु गर्न थाल्छौं, हामी असफल हुन्छौं। प्रतिक्षाको समयचाहिँ परमेश्वरमा पूर्ण रुपमा भरोसा गर्ने समय हो।
परमेश्वरको काम हतारमा हुँदैन।
पाठ १: परमेश्वर हामीलाई देख्नुहुन्छ
कुनै पनि मानिसको निम्ति सबैभन्दा पिडादायी कुराचाहिँ अरुबाट तिरस्कृत हुनु हो। जब हामी मानिसहरुबाट त्यागिन्छौं, यो निक्कै नै पिडादायी अनुभव हुँदछ।
हागार आफ्नै मानिसबाट तिरस्कृत भएकी थिइन। उनले आफू अर्काको आनन्दको निम्ति प्रयोग गरिएकी र त्यसपछि त्यागिएकि महसुस गरिन। त्यो अति नै भएको थियो; उनले त्यसलाई सहनै सकिनन्। उनले आफू एक अछुत भएको महसुस गरिन। उनको यस विरानो देशमा आफ्नो भन्नु नै अब्राहाम र साराबाहेक कोहि थिएन तर आफ्नै मालिकबाट उनी त्यागिइन।
धेरै वर्षपछि भजनकर्ताले ती शब्दहरुलाई उतारे जुन पक्कै पनि जाचँको बेला हागारको मनमा थियो,
“मदतको लागि कराउँदा-कराउँदा म थाकेको छु, मेरो घोक्रो सुकिसकेको छ। मेरा परमेश्वरको बाटो हेर्दा-हेर्दा मेरा आँखा धमिला भएका छन्।” (भजनसंग्रह ६९:३)
सायद हामी पनि हागार गुज्रिएकी मरुभूमिबाट गुज्रिएका छौ होला अथवा गुज्रिने छौं।
के तपाईले कहिल्यै आफु त्यागिएको महसुस गर्नुभएको छ? तपाईको वरिपरिको मानिसहरुले तपाईलाई बेवास्ता गर्दा कस्तो महसुस गर्नुभएको छ? तपाईले कहिल्यै आफू केहि पनि गर्न असक्षम भएको महसुस गर्नुभएको छ? के तपाईले कहिल्यै मानिसहरुले तपाईको फाइदा उठाएर तपाईलाई तिरस्कार गरेकाे महसुस गर्नुभएको छ? त्यो तितो धोखाको अनुभव कति नमिठो र पिडादायी हुन्छ। हामी त्यस्तो अवस्थामा आफैलाई लाचार महसुस गर्छौं। हागारले आफ्नो मालिकको साँचो परमेश्वरको विषयमा सुनेकी थिइन र सायद एउटा सामान्य इशाईले झै त्यस एकान्त मरुभूमिमा प्रश्न गरिन,
परमेश्वर कहाँ हुनुहुन्छ? के वास्तवमै परमेश्वरले मेरो दुखलाई देख्नुभएको छ त? सबै कुरा मिलेर भलाई हुन्छ भनी प्रतिज्ञा गर्नुहुने सर्वोच्च परमेश्वर कहाँ हुनुहुन्छ? के उहाँले मलाई देख्नुहुन्छ? के उहाँलाई मेरो पिडा थाहा छ? म कस्तो कठिन अवस्थाबाट गुज्रिरहेको छु के उहाँले देखिरहनुभएको छ?
हो, उहाँ देख्नुहुने परमेश्वर अर्थात एल-रोइ हुनुहुन्छ। उहाँबाट केहि कुरा लुकेको छैन। तपाईको हृदयको कुरा उहाँलाई थाहा छ। तपाईको दुखपिडालाई उहाँले देख्नुभएको छ। तपाईको आँशुलाई उहाँले दख्नुभएको छ।
यदि परमप्रभुले तपाईको दुखलाई देख्नुहुन्छ भने उहाँले तपाईलाई आफ्नो आनन्द पनि दिनुहुनेछ।
यदि परमप्रभुले तपाईको अभावलाई देख्नुहुन्छ भने, उहाँले तपाईलाई जुटाउनु पनि हुनेछ ।
यदि परमप्रभुले तपाईको जीवनको कठिनतालाई देख्नुहुन्छ भने, यसमाथि विजय हुने सामर्थ्य पनि दिनुहुनेछ किनकि उहाँ एल-रोइ अर्थात देख्नुहुने परमेश्वर हुनुहुन्छ।
कति अचम्म उदेकको परमेश्वर, उहाँले एक समाजबाट त्यागिएकी, मानिसहरुबाट तिरस्कृत भएकी एक दासी महिला जो सबैको नजरबाट बेवास्ता भएकी र आफ्नै मालिकबाट भाग्दै गरेकी स्त्रीलाई देख्नुभयो। परमेश्वरले त्यागिएका र तिरस्कृत मानिसलाई चुन्नुभएको यो पहिलो घटना होइन। नयाँ करारमा प्रभुले इनारमा एक समाजबाट अस्वीकृत र तुच्छ ठानिएकी स्त्रीलाई भेट्टाउनुभयो। हामी यो कथा युहन्नामा भेट्टाउछौं। त्यस जम्काभेटपछि त्यस स्त्रीको जीवन बदलिएको छ र अन्तमा उनी समाजको निम्ति एक सुसामाचारक भएकी छिन।
त्यति मात्र होइन राहाब जो एक अन्यजाती वेश्या थिइन जसलाई परमेश्वरले आफ्नो कृपा देखाउनुएको छ।
परमेश्वरले हागारलाई देख्नुमात्र भएन तर भेट्टाउनुभयो, भेट्टाउनु मात्र भएन तर करार बाँध्नुभयो। त्यस दासी स्त्रीलाई परमेश्वरले आफ्नो प्रतिज्ञा दिनुभयो।
“तँ गर्भवती छेस्, र तैंले एउटा छोरो जन्माउनेछेस्। तैंले त्यसको नाउँ इश्माएल* राख्नू, किनभने परमप्रभुले तेरो दु:ख हेर्नुभएको छ।
मानिसहरूमा त्यो जङ्गली गधाजस्तै हुनेछ। त्यसको हात सबैका विरुद्धमा उठ्नेछ, र सबैका हात त्यसको विरुद्धमा उठ्नेछन्। आफ्ना सबै नातेदारहरूकै शत्रुतामा त्यो बसोबास गर्नेछ।” (उत्पत्ति १६:११-१२)
कति अचम्म र उदेकको कुरा, आफ्नो जातीबाट त्यागिएकि, आफ्नै मालिकबाट तिरस्कृत भएकी, आफ्नो मानिसहरुबाट बेवास्ता भएकी एक गैर-यहूदी स्त्रीसँग परमेश्वरले प्रतिज्ञा गर्नुहुन्छ।
प्रियहरु! भलै तपाईको आफ्नो मानिसले तपाईलाई बेवास्ता गरेका होलान, तपाईले आफन्तहरुबाट त्यागिएको महसुस गर्नुभएको होला, तपाईको दुखपिडा बुझ्ने मानिस नहोला, जसमाथि तपाईले विश्वास गर्नुभयो उसले तपाईंमाथि विश्वासघात गरको होला, हुन सक्छ तपाई एकान्तमा एक्लो भई रुनुभएको होला तर म आजको दिन तपाईलाई बताउन चाहन्छु तपाईलाई परमेश्वरले एक्लो छोडनुभएको छैन, तपाई एकान्तमा एक्लै आँशु खसाल्नुहुँदा परमेश्वर तपाईको साथमा हुनुहुन्थ्यो, तपाईलाई उहाँले आफ्नो नजरबाट कहिल्यै टाढा राख्नुभएको थिएन।
परमेश्वर तपाईलाई भन्नुहुन्छ,
“तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु। तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउनेछैनन्। तँ आगोबाट हिँड़ेर जाँदा डढ्नेछैनस्। त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन।” (यशैया ४३:२)
याद गर्नुहोस्, हागार साराको उपस्थितिबाट भाग्न सक्थिन तर परमेश्वरको उपस्थितिबाट उनी भाग्न सकिनन्। तपाई आफ्नो कठिन परिस्थितिहरुबाट भाग्ने प्रयास गर्न सक्नुहुन्छ, तर तपाई परमेश्वरको नजरबाट लुक्न सक्नुहुन्न।
पद ८ लाई ध्यान दिनुहोस्, प्रभुलाई हागारको नाम र जीवनको अवस्था थाहा छ, तरै पनि उहाँ हागारलाई उनी कहाँबाट आएकी छिन र उनी कहाँ जाँदैछिन सोध्नुहुन्छ। जहाँ बाइबलमा तपाईले परमेश्वरलाई प्रश्न सोधेको भेट्टाउनुहुन्छ, बुझ्नुहोस उहाँ जानकारी मात्र खोजिरहनुभएको छ। उहाँ त्यस व्यक्तिले परिस्थितिको बारेमा सोचेको चाहनुहुन्छ। यहाँ पनि परमेश्वर हागारले परिस्थिति बारे सोचेको चाहनुहुन्थ्यो। हागारले दुइवटा कुराको बारेमा सोचेको चाहनुहुन्थ्यो, तिमी कहाँबाट आएकी हौं? र तिमी कहाँ जाँदैछौं? उनी साराकी दासी भएर आएकी थिइन।उनलाई आफ्नो कर्तव्यबाट भाग्ने अनुमति थिएन। उनी कता जाँदैथिइन ?उनलाई वास्तवमै थाहा थिएन। तर स्पष्ट रुपमा उनले प्रभु र उहाँको इच्छालाई खोजिरहेकी थिइनन्।
पाठ २: हाम्रो सबैभन्दा पिडादायी अवस्थामा परमेश्वर हामीलाई खोज्नुहुन्छ
हागार परिस्थितिको शिकार थिइन। उनी आफ्नो परिवार, समाज र घरबाट टाढा विरानो देशमा थिइन। मालिकद्धारा उनको नाजायज फाइदा उठाइयो। उनको इच्छाबारे उनलाई कहिल्यै सोधिएन। उनीसँग आफ्नो बचाउको लागि गुहार्ने ठाउँ कतै थिएन। उनी सबैभन्दा खराब अवस्थामा थिइन।
परमप्रभुका दूतले त्यसलाई उजाड़-स्थानमा शूरतिर जाने बाटोकै पानीको मूलनेर भेट्टाए (७)।
आहा! दयालु र कृपालु परमेश्वरको कति सुन्दर तस्बीर, जो एक गरिब र कमजोर स्त्रीको चिन्तित हुनुहुन्थ्यो। वास्तवमा हागारले परमेश्वरलाई भेट्टाएकि थिइनन तर परमेश्वरले हागारलाई भेट्टाउनुभएको थियो। परमेश्वर खोज्नुहुने एक असल गोठालो हुनुहुन्छ।
वास्तवमा हिब्रूमा Ro'iy को अर्थ गोठालो पनि हो।
ख्रीष्टले भन्नुभयो,
किनभने मानिसको पुत्र हराएकालाई बचाउन आएको हो
“तिमीहरू के विचार गर्छौ? कोही मानिसका सय भेड़ामा एउटा भड्केर गयो भने, उसले उनान्सय वटालाई छोड़ेर पर्वत हुँदो गएर त्यस भड्केर जाने एउटालाई खोजी गर्न जाँदैन र?
यदि उसले त्यसलाई भेट्टायो भने, साँच्चै म तिमीहरूलाई भन्दछु, ती भड्केर नजाने उनान्सयभन्दा त्यस एउटाको लागि ऊ बढ़ी रमाउनेछ। (मत्ती १८:११-१३)
त्यहाँ त्यस्ता अनगिन्ती आधुनिक हागारहरु छन् जसले एक्लो, कमजोर, तिरस्कृत र त्यागिएको महसुस गर्दछन्। सायद, तपाई ती मध्ये एक हुनुहुन्छ। तर हाम्रो मरुभूमिमय अनुभवको बिचमा परमेश्वर हामीलाई खोज्नुहुन्छ।
परमेश्वरलाई थाहा छ, हाम्रो खराब अवस्थामा हामीलाई उहाँको अंगालोको खाँचो पर्दछ अनि उहाँ हामीलाई आफ्नो अंगालोमा बाँध्न हाम्रो खोजी गर्नुहुन्छ। जब उहाँ हामीलाई भेट्टाउनुहुन्छ, आमाले आफ्नो हराएको बँचेरालाई भेट्टाए जसरी हामीलाई माया गर्नुहुन्छ।
येशू ख्रीष्टले मत्ती १०:२९-३१ खण्डमा यसरी भन्नुभयो,
“के एक पैसामा दुई भँगेरा बिक्दैनन्? तीमध्ये एउटा पनि तिमीहरूका पिताको इच्छाविना भूइँमा खस्नेछैन।
तिमीहरूका शिरका केशहरू पनि सबै गन्ती भएका छन्। यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराभन्दा बढ्ता मूल्यवान् छौ।”
“तब हामीले परमप्रभु हाम्रा पुर्खाका परमेश्वरलाई पुकारा गर्यौं, र उहाँले हाम्रो सोर सुन्नुभयो र हाम्रा पीडा, कठिन श्रम र हामीमाथि भएको अत्याचारलाई देख्नुभयो।” (व्यवस्था २७:७)


Comments
Post a Comment