“ परमेश्वरमा स्थिर हुनु... ”

“ परमेश्वरमा स्थिर हुनु... ” 


Being Steadfast on God


हाम्रो जीवनको मौसम र परिस्थिति बिग्रदै गर्दा परमेश्वरमा स्थिर रहने कुरा निक्कै नै कठिन लाग्दछ।

तर यशैया अगमवक्ता भन्छन, 

“जसको मन तपाईंमा अड़िएको छ,  त्‍यसलाई तपाईंले पूरा शान्‍तिमा राख्‍नुहुन्‍छ,  किनभने त्‍यसले तपाईंमाथि भरोसा राख्‍छ।” (यशैया २६:३)
“परमेश्वरलाई भरोसा गर्ने व्यक्ति स्थिर हुँदछ र स्थिर व्यक्तिले परमेश्वरमा भरोसा गरेको हुन्छ।”
परमेश्वरमाथिको भरोसा र स्थिरता दुईतर्फी सम्बन्ध हो जुन एकअर्काबिना अधुरो छ। 
यशैयाले प्रयोग गरेको 'जसको मन तपाईंमा अड़िएको छ' भन्ने वाक्यांशलाई हिब्रूमा 'कामाक/Camak' भनिएको छ जसको अर्थ 'जसले परमेश्वरलाई आफ्नो आड बनाएको छ' भन्ने हुन्छ। 
के तपाईले परमेश्वरलाई आफ्नो आड बनाउनु भएको छ? 
के तपाईले परमेश्वरलाई आफ्नो सुरक्षाको धरोहर बनाउनु भएको छ? 

             यशैयाले यस खण्डमा भन्न खोजेको कुराचाहिँ परमेश्वरमाथिको स्थिरताको इनामचाहिँ पुरा शान्ति (perfect peace) हो। 
पुरा/सिद्ध शान्ति कस्तो शान्ति हो? 
हिब्रूमा यसलाई 'शालोम-शालोम' भनिएको छ। यदि हाम्रो लागि पहिलो शान्ति पर्याप्त भएन भने यसलाई पछ्याउदै अर्को शान्ति परमेश्वरले हाम्रो जीवनमा पठाउनेहुनेछ। 
पुरा/सिद्ध शान्तिको अर्थ के हाम्रो जीवनमा कुनै दुख, कुनै पिडा, कुनै समस्या, कुनै अभाव हुँदैन भन्न खोजिएको हो? अवश्य होइन तर यी सबै कुराहरुका बाबजुद हामीभित्र सदैव परमेश्वरको शान्ति हुनेछ किनकि उहाँले हाम्रो जीवनमा पर्याप्त शान्ति पठाउनुहुनेछ। 

अस्थिरताको बिचमा स्थिरता :
              मार्कस अउरिलियस,  “चट्टान जस्तै बन्नुहोस जसको विरुद्दमा छालहरु नोरन्तर ठोकिन्छन; तर यो दृढ रहन्छ र यसको वरिपरिको पानीको क्रोधलाई वशमा राख्छ। ”

                कहिलेकाँहि हामीलाई स्थिर बनाउनको निम्ति परमेश्वरले हाम्रो जीवनमा अस्थिर परिस्थितिहरुलाई अनुमति दिनुहुन्छ। त्यस्तो समयमा हामीले झन बलियो गरि उहाँको हातलाई समात्नु पर्ने हुन्छ। 
कुनै पनि घरको मजबुति थाहा पाउन, त्यो घरको जग कति बलियो छ र त्यसमा बस्न कति सुरक्षित छ भनेर जाँच्नको निम्ति त्यो घरचाहिँ हावाहुरी, चट्टान, घामपानी र भुकम्पमा पनि स्थिर हुनुपर्ने हुन्छ। त्यसरी नै हाम्रो विश्वासको मजबुतिलाई जाँच्न कतिपटक हामी कठिन समयहरुबाट गुज्रनु पर्ने हुन्छ। प्रियंहरु! याद गर्नुहोस परमेश्वर हामीलाई तोड्न होइन स्थिर बनाउन चाहनुहुन्छ। उहाँ हामीमा कृतज्ञताको हृदयलाई स्थापना गर्न चाहनुहुन्छ। 
Remember at times the rain must fall for us to appreciate the sun. 
“याद गर्नुहोस कहिलेकाहि घामप्रति कृतज्ञ हुनको लागि पानी पर्नैपर्छ।”

              हामीलाई याद छ कसरी इस्राएलीहरु शत्रु र समस्याको दोधारमा पर्दा परमेश्वरले उनीहरुलाई शक्तिशाली रुपमा बचाउनुभयो। जसरी इतिहासमा इस्राएलीहरु शत्रु र समस्याको दोधारमा थिए किनकि उनीहरुको पछाडि मिश्री सेनाहरु थिए र अगाडि तर्नै नसकिने लाल समुद्र थियो। धेरैचोटी हामी पनि त्यो दोधारमा परेका छौं या त पर्नेछौ । हामी समस्याले शिथिल हुँदै गर्दा हाम्रो शत्रुहरुले हाम्रो खेदो गरिरहेको हुनेछ। त्यस्तो अवस्थामा हामीले गर्न सक्ने एउटै कुराचाहिँ परमेश्वरमा पुर्ण भरोसाकासाथ स्थिर बस्नु हो। 
मोशाले इस्राएलीहरूलाई भने, “तिमीहरू नडराओ, स्‍थिर होओ, र परमप्रभुले आज तिमीहरूलाई दिनुहुने छुटकारा हेर....परमप्रभु नै तिमीहरूका निम्‍ति लड्‌नुहुनेछ। तिमीहरू केवल स्‍थिर बस।” (प्रस्थान १४:१३-१४)।


स्थिर हुनुको अर्थ के हो? 

- दृढ संकल्पसाथ खडा/अटल हुनु

         डांटे अ्यालगेरि,  “इशाई मित्रहरु! तपाई जे गर्नुहुन्छ त्यसमा  अडिग हुनुहोस्, हावाको झोक्कामा गतिविहिन रुपमा उडने प्वाँखजस्तो नहुनुहोस....”
प्रेरित पावल भन्छन्, 
“यसकारण मेरा प्रिय भाइ हो, स्‍थिर र अटल रहो। प्रभुको काममा सधैँ बढ्‌दैजाओ। किनकि तिमीहरू जान्‍दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्‍यर्थ हुँदैन।” (१ कोरन्थी १५:५८)
          याद गर्नुहोस्, स्थिरताले हाम्रो परिश्रम र मेहेनतलाई मूल्यवान बनाउँछ। स्थिर हुनु भनेको चाहिँ तपाईको आफ्नो वरदानको क्षेत्रमा लगानी गर्नु, त्यहि क्षेत्रमा परिश्रम गर्नु, त्यहि क्षेत्रमा मेहेनत र पसिना बगाउनु। जब हामी आफ्नो क्षेत्रलाई छोडेर विभिन्न क्षेत्रहरुमा परिक्षण गर्न थाल्छौ, हाम्रो परिश्रम व्यर्थ हुँदछ। 
Don't experiment your life. Be sure of your calling and area. 
तपाईको जीवनको परिक्षण नगर्नुहोस् । आफ्नो बोलावट र क्षेत्रमा निश्चित हुनुहोस्। 
जब तपाईले आफ्नो बोलावट, क्षेत्र, वरदान र उद्धेश्यलाई पहिचान गरेर त्यसैमा स्थिर बन्दै त्यसैमा लगानी, परिश्रम र मेहेनत गर्नुहुन्छ, तपाईको त्यस परिश्रम व्यर्थ हुने छैन। सबै कुरामा हात हाल्ने, सबै मण्डली चहार्ने, सबै क्षेत्रमा परिक्षण गर्ने 'भै पो हाल्छ कि.. 'भनेर, त्यस्तो अस्थिर व्यक्तिको विषयमा प्रेरित पावलले भनेका छन्, 
 “...छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्‍तको प्रत्‍येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्‍ता... ” (एफिसी ४:१४)
स्थिर हुनुको अर्थ यो पनि हो, 'एउटै दिशाप्रति केन्द्रित...'

- स्थिर हुनुचाहिँ परमेश्वरमा रोपिनु हो।

          “तिनीहरू परमप्रभुको भवनमा रोपिएका हुन्‍छन्‌,  हाम्रा परमेश्‍वरका चोकहरूमा तिनीहरू मौलाउँछन्‌।
बुढ़ेसकालमा पनि तिनीहरू फलदायी हुन्‍छन्‌,  र तिनीहरू ताजा र हरिया रहन्‍छन्‌... ” (भजनसंग्रह ९२:१३-१४)
           प्रियहरु! जब हाम्रो विश्वास र भरोसाको जरा मानिसहरुमाथि गाडिएको हुन्छ, हामी छिट्टै निराश हुन्छौं र परमेश्वरमा स्थिर रहन सक्दैनौं तर जब हाम्रो विश्वास र भरोसाको जरा परमेश्वरमा गाडिएको हुन्छ, तब  भजनकर्ताले भनेझै हामी चाहिँ “त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ,  जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ,  अनि जसको पात कहिल्‍यै ओइलाउँदैन।  त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ। ” (भजनसंग्रह १:३)

“हे मेरो प्राण, परमेश्‍वरमा मात्र विश्राम गर।  मेरो आशा उहाँबाटै आउँछ।
उहाँ मात्र मेरो चट्टान, मेरो उद्धारक र मेरो किल्‍ला हुनुहुन्‍छ।  म डग्‍नेछैनँ।
मेरो उद्धार र मेरो इज्‍जत परमेश्‍वरमा आश्रित छ,  मेरो शक्तिशाली चट्टान र मेरो शरणस्‍थान परमेश्‍वर नै हुनुहुन्‍छ।” (भजनसंग्रह ६२:५-७)।
ख्रीष्टलाई तपाईको केन्द्र बनाउनुहोस् । जब कठिन परिस्थितिहरु आउँदछ हामीले सधैं हाम्रो दृष्टि परमेश्वरतिर राख्नुपर्छ। 
हामीलाइ याद छ, जब पत्रुसले ख्रीष्टमाथि आफ्नो दृष्टि राखे र उहाँलाई केन्द्र बनाए तब उनी पानीमाथि हिडँन सके तर जसै उनले आफ्नो मुहार र दृष्टिलाई ख्रीष्टबाट हटाए र समुद्र र बतासमा केन्द्रित भए तब उनी पानीमा डुब्न थाले। 
तब ख्रीष्टले पत्रुसलाई भन्नुभयो, “ए अल्‍पविश्‍वासी, किन शङ्का गर्‍यौ?” (मत्ती १४:३१)
जब परिस्थिति झन खराब बन्दै जान्छ, हाम्रो विश्वास पनि डगमगाउदैं जान्छ किनकि हामी परमेश्वरमा होइन पत्रुसझैं समस्यामा केन्द्रित भैरहेका हुन्छौं। 

- तपाईको सिद्धान्त र मूल्यमान्यतामा अडिग हुनु 
हरेक इशाई बाइबलिय सिद्धान्त र मूल्यमान्यतामा जिएको हुनुपर्छ जुन मूल्यमान्यातासँग तपाई कहिल्यै सम्झौता गर्नुहुन्न। 
हाम्रो बोलीमा त्यो गम्भीरता र वजन हुनपर्छ जसले हामीलाई एक वफादार र विश्वासयोग्य इशाईको रुपमा स्थापना गरिरहेको हुन्छ। जब हाम्रो वचनमा नै हामी स्थिर हुन सक्दैनौ। हिजो के बोलियो आज याद छैन भने हामी विश्वसयोग्य पात्र हुन सक्दैन। 

- परिवर्तनको अधिनतामा नपर्नु 
एउटा इशाईको परिवर्तनचाहिँ छेपारोको परिवर्तन जस्तो होइन तर झुसिलकिरा पुतलीमा परिणत भएको जस्तो परिवर्तन हो। हाम्रो परिवर्तन चाहिँ रुपान्तरण हो जसमा हामी ख्रीष्टको स्वरुपमा रुपान्तरण हुन्छौं। हामी परिस्थिति र अवस्थाको आधारमा परमेश्वरलाई प्रेम गर्दैनौ तर हरेक परिस्थितिहरुमा उहाँलाई एकनास प्रेम गर्दछौं। 




Comments