राज्यको आधारभूत सिद्धान्तहरु...


 "राज्यको आधारभूत सिद्धान्त"

परमेश्वरको राज्य/Kingdom of God 
स्वर्गको राज्य/ Kingdom of Heaven 
- येशूख्रीष्टको प्रचारको मूख्य विषय 'राज्य' थियो। 
उहाँको मूल सन्देश राज्यको सुसमाचार थियो। (मत्ती ४:२३; ‌९:३५)
उहाँले चङ्गाईको विषयमा प्रचार गर्नुभएन, उहाँले छुटकाराको विषयमा प्रचार गर्नुभएन, उहाँले धर्म प्रचार गर्नुभएन, उहाँको प्रचार चमत्कारको विषयमा थिएन, उहाँले नयाँ जन्मको विषयमा प्रचार गर्नुभएन, यूहन्ना ३ अध्यायमा एकपटक नयाँ जन्मको विषयमा बोल्नुभएको छ तर यहाँ उहाँ भन्नुहुन्छ, 
“साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही नयाँ गरी जन्‍मेन भने उसले परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।”- यूहन्ना ३:३
येशूख्रीष्टले निकोदमेसलाई परमेश्वरको राज्यमा कसरी पस्न सकिन्छ भन्ने सन्दर्भमा नयाँ जन्मको माध्यमबाट मात्र यो सम्भव छ भनेर सिकाउँदै हुनुहुन्थ्यो। 
- जब आदमले परमेश्वरविरुद्ध पाप गर्‍यो उसले स्वर्ग गुमाएन किनकि उसलाई कहिल्यै स्वर्ग दिइएको थिएन। उसले राज्य गुमायो। 
- यसकारण येशूख्रीष्ट त्यस राज्यलाई पुनर्स्थापना गर्न आउनुभयो। उहाँको पहिलो सार्वजनिक प्रचारमा उहाँले यसरी प्रचार गर्नुभयो,
पश्‍चात्ताप गर, किनभने स्‍वर्गको राज्‍य नजिक आइपुगेको छ।”- मत्ती ४:१७
- येशूख्रीष्टले परमेश्वरको राज्यको निम्ति प्रार्थना गर्न सिकाउनुभयो,
 “ हाम्रा पिता, जो स्‍वर्गमा हुनुहुन्‍छ,  तपाईंको नाउँ पवित्र होस्‌।
तपाईको राज्‍य आओस्‌।  तपाईंको इच्‍छा स्‍वर्गमा जस्‍तो छ, त्‍यस्‍तै यस पृथ्‍वीमा पूरा होस्‌।" - मत्ती ६:९-१०

त्यसोभए वास्तवमै राज्य के हो? 
- "परमेश्वरको राज्य" लगभग ७0 पटक उल्लेख गरिएको छ। 
- ती आत्मिक र भौतिक आयामहरु जहाँ परमेश्वर शासन गर्नुहुन्छ - त्यो नै परमेश्वरको राज्य र स्वर्गको राज्य हो। 
- राज्य भनेको राजाको अधिकार र शक्तिको क्षेत्र हो र यस क्षेत्रमा राजाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सार्वभौम शासन गर्दछ। 
ग्रीक : बेशिलिया/ basileia 
अरेमिक :मलकूट /malkut 
'मलकूट' शब्दले भौगोलिक अथवा भौतिक क्षेत्रलाई जनाउँदैन न त त्यहाँ बसोबास गर्ने मानिसहरुलाई तर यस शब्दले स्वयम राजाको सार्वभौम शक्तिको अभ्यास र गतिविधिलाई बुझाउँछ।

हरेक राज्यलाई यी तलको निम्न गुणहरुले वर्णित गर्दछ :
* राजा - सार्वभौम : सर्वोच्च शासक
* क्षेत्र - शासन र अधिकार 
* नागरिक - प्रजा 
* संविधान - करार : राजा र प्रजाबिच जहाँ प्रजाले सधैँ राजाप्रति समर्पित रहने प्रतिज्ञा गर्दछ। 
* कानुन - सिद्धान्त : वास्तवमा राजाको शब्द नै कानुन बन्दछ। 

राज्यलाई यी अर्थहरुले पनि बुझाउँछ :
- स्वर्ग र पृथ्वीमा ख्रीष्टको शासन 
- ख्रीष्टको शासनमुनि रहँदा बग्ने आशिष र फाइदाहरु 
- राज्य र मण्डलीको सम्बन्ध 

परमेश्वर आत्मिक स्वर्गीय आयामहरूमा प्रत्यक्ष रुपमा शासन गर्नुहुन्छ भने उहाँ यस पृथ्वीमा उहाँको सन्तान अर्थात मण्डलीद्धारा अप्रत्यक्ष रुपमा शासन गर्नुहुन्छ। 

              रोमनहरुले जब शासन गर्दथे, उनीहरुको शासनशैली र तौरतरिका परमेश्वरले शासन गर्न चाहनुभएको तरिका जस्तै हुबहु थियो। यसकारण पनि येशूख्रीष्ट रोमी शासनकालमा पृथ्वीमा आउनुभयो। 
             रोमी शासकहरुले आफूले जितेका वा कब्जा गरेका कुनै राज्यलाई प्रत्यक्ष रुपमा कहिल्यै शासन गर्दैनथिए। उनीहरुले ती राज्यहरुमा शासन गर्न शासकहरु चुनेका हुन्थे जसले रोमको प्रतिनिधित्व गर्दथे ।
उदाहरणको निम्ति यहुदामा पिलातसले रोमको प्रतिनिधित्व गरेर शासन गरेका थिए। त्यस समयको रोमी सम्राट तिबेरियस प्रत्यक्ष रुपमा यहूदामा थिएनन तर रोमको प्रतिनिधित्वकर्ता पिलातसको माध्यमबाट यहूदामा शासन गरिरहेका थिए। 

             परमेश्वर पनि यस पृथ्वीमा आफ्नो प्रतिनिधित्वकर्ताहरुद्धारा त्यहि नमुनामा राज्य गर्न चाहनुहुन्छ यसकारण उहाँले पहिलो मानवजातीलाई पृथ्वीमाथि अधिकार गर्ने आज्ञा दिनुभयो। 
              स्वर्गीय राज्यलाई मण्डलीले प्रतिनिधित्व  गर्दछ। मण्डली मजबुत र प्रभावकारी भएन भने यसले पृथ्वीलाई स्वर्गीय राज्यको ‌स्वाद दिन सक्तैन। परमेश्वरको राज्यमा मण्डली जिएको हुनुपर्छ, मण्डलीले राज्यको आशिषहरु र फाइदाहरुलाई अनुभूति गरेको हुनुपर्छ, मण्डली राज्यभित्र बाँचेको  हुनुपर्छ अनि मात्र मण्डलीले संसारलाई स्वर्गको राज्यको अनुभव र गवाहि बाड्न सक्छ। 
प्रेरित पावल भन्छन्, 
"किनभने परमेश्‍वरको राज्‍य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्‍मामा धार्मिकता, शान्‍ति र आनन्‍द हो।" - रोमी १४:१७
हामी आफै राज्यभन्दा बाहिर छौ भने, हामी आफै स्वर्गीय राज्यको आशिष, यसको फाईदा र लाभहरुबाट वञ्चित छौ भने कसरी संसारलाई स्वर्गको राज्यभित्र ल्याउन सक्छौं। 

एउटा दरिद्र र गरिब शिक्षकले आफ्नो विधार्थीहरुलाई कक्षामा 'आज म तिमीहरुलाई अर्बपति कसरी हुने?' भन्ने विषयमा पढाउँछु भन्यो भने विधार्थीहरुबाट कस्तो प्रतिक्रिया आउँछ होला? सायद विधार्थीहरु शिक्षकलाई गिज्याउँदै गललल हाँस्नेछन्।

            धेरैपटक मण्डलीले पनि त्यहि गल्ती गरिरहेको हुन्छ। 
किन हाम्रो कुरा कसैले सुन्दैन? किन संसारले हामीलाई पत्याउँदैनन्? किन हामीले संसारलाई प्रभाव पार्न सकिरहेका छैनौं?
किनकि हामी त्यो शिक्षक जस्तै भइरहेका हुन्छौं। केहि गलत भैरहेको ‌छ।
"यदि हामी आफै बन्धनमा छौ भने हामीले अरुलाई स्वतन्त्र गर्न सक्दैनौं।"
मण्डली परमेश्वरको राज्यभित्र हुन जरुरी छ। तपाई मण्डलीको सदस्य हुनुको मतलब यो होइन कि तपाई परमेश्वरको राज्यको नागरिक हुनुहुन्छ। मण्डली र राज्य विल्कुल भिन्न हो। हामी परमेश्वरको राज्यभित्र  छैनौ भने र स्वर्गीय राज्यको आशिष, आनन्द, लाभ र फाईदाहरुलाई कहिल्यै अनुभूति गरेका छैनौँ भने अफसोस हामी मण्डली वर्षौबाट गयौं तर राज्यभित्र कहिल्यै प्रवेश गरेनौं। जब आदम राज्यबाट धपाईयो तब ऊ राज्यभित्र पाउने सम्पूर्ण लाभ र फाइदाहरुबाट वञ्चित भयो। जब मण्डली परमेश्वरको राज्यभित्र हुँदैन तब मण्डलीमा विभिन्न समस्या, श्राप, तनाव, भाँडभैलो र कलह उत्पन्न हुन्छ। 

कसरी परमेश्वरको राज्यमा प्रभावकारी रुपमा जिउने? 
किनकि वचनले यसरी भन्दछ, 
"पहिले उहाँको राज्य र धार्मिकताको खोजी गर र अन्य सम्पूर्ण थोकहरु तिमीहरुका निम्ति थपिनेछ।"
कुनै पनि राज्यमा प्रभावकारी रुपमा जिउनको निम्ति त्यस राज्यको विषयमा बुझ्न आवश्यक हुन्छ, त्यस राज्यको कानुन र सिद्धान्त बुझ्नुपर्ने हुन्छ, त्यहाँको रहनसहन, वातावरण, संस्कृति, भाषा आदिइत्यादी। जब हामीले परमेश्वरको राज्यलाई बुझ्न थाल्छौ हामी पनि यसको प्रजा हौ भन्ने सत्यतालाई महसुस गर्न थाल्छौ। हाम्रो निम्ति यो राज्य बहुमूल्य बन्दछ। 
वचनले यसरी भन्दछ,
- मत्ती १३:४४-४६
४४ “स्‍वर्गको राज्‍य कुनै एउटा खेतमा गाडी राखिएको गाड़धनजस्‍तो हो, जो एक जना मानिसले भेट्टाएर लुकाइराख्‍दछ, र आनन्‍दित भएर ऊ जान्‍छ र आफूसित भएका सबै बेच्‍छ, र त्‍यो खेत किन्‍छ।
४५ “फेरि स्‍वर्गको राज्‍य असल मोतीहरू खोज्‍ने एउटा व्‍यापारीजस्‍तो हो।
४६ त्‍यसले एउटा बहुमूल्‍य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्‍यो मोती किन्‍यो।

                            जबसम्म हामीले राज्यलाई चिन्दैनौ र यसलाई बुझ्ने कोसिस गर्दैनौ, हामीले यसको बहुमूल्यतालाई कहिल्यै पहिचान गर्न सक्दैनौ। यसको महत्वलाई ठम्याउन सक्दैनौं। 

- परमेश्वरको राज्य आत्मामा दिन हुनेहरुको हो। (मत्ती ५:३)

- सिद्धान्तहरु साचाँ हुन। येशूख्रीष्टले भन्नुभयो, 
"म तिमीलाई स्‍वर्गको राज्‍यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्‍वीमा बाँध्‍नेछौ, सो स्‍वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्‍वीमा फुकाऔला, सो स्‍वर्गमा फुकाइनेछ।”- मत्ती १६:१९
- हाम्रो प्राथमिक आवश्यकता आशिष होइन तर राज्य हो। जब हामी परमेश्वरको राज्यभित्र हुन्छौं, हाम्रो सम्पूर्ण आवश्यकताहरु पुरा हुनेछ। 
आशिषहरु राज्यको उप-उत्पादन हो। 
उप-उत्पादन कुनै मूख्य वस्तु उत्पादन गर्ने प्रक्रियामा आपसे-आप उत्पादन भएको अर्को वस्तु हो। उदाहरणको निम्ति जब ‌तेलको निम्ति भटमासलाई कुनै मेसिनमा पेलिन्छ  तब तेल निष्कासन भैसकेको भटमासबाट मसेउरा र साबुनजस्ता उप-उत्पादन बन्दछ। 
 
- प्रियहरु! राज्यको सुसमाचार र प्रचार सुन्नु मात्र पर्याप्त हुँदैन तर राज्यलाई बुझ्नु, अनुभूति गर्नु र आफ्नो जीवनमा फल फलाउने अनुमति दिनुपर्छ। (मत्ती १३:१८-२३)



Comments