ख्रीष्टमा वृद्धि हुनु

 Growing in Christ 

ख्रीष्टमा वृद्धि हुनु 


              ख्रीष्टमा आइसके पश्चात हामी निरन्तर वृद्धि हुनुपर्छ। यदि एउटा इशाई ख्रीष्टमा निरन्तर वृद्धि भइरहेको छैन भने उसमा समस्या छ। एउटा बालक भौतिक शरीरमा वृद्धि हुनुपर्छ र यदि बालक शरीरमा वृद्धि भइरहेको छैन भने उसमा केहि समस्या हुन सक्छ। यस्तो अवस्थालाई हामी  Spinal Meningitis भन्छौं जसमा एउटा बालकको भौतिक शरीर र मानसिक क्षेत्रको वृद्धि पुन रुपमा रोकिन्छ। 
            त्यसरी नै एउटा इशाई पनि ख्रीष्टमा निरन्तर बढनुपर्ने हुन्छ। कति पटक एउटा व्यक्ति ख्रीष्टलाई विश्वास गरेको, मण्डली गएको, बप्तिस्मा लिएको लामो समय बित्दा पनि आत्मिकि स्तर जहि को तहि हुन्छ किनकि ऊ ख्रीष्टमा वृद्धि भइरहेको हुँदैन। 
            एउटा साँचो इशाई हरेक उत्तारचढाव र बाधाँहरुको बिचमा वृद्धि हुन्छ। 
हान्स ओर्स भोन बाल्थाजार (Hans Urs Von Balthasar), "तपाई जे हुनुहुन्छ, त्यो परमेश्वरको उपहार हो र तपाई जे बन्नुहुनेछ, त्यो पत‌रमेश्वरको निम्ति तपाईको उपहार हुनेछ।"
यसकारण हाम्रो लक्ष्य ख्रीष्ट जस्तै बन्ने हुनपर्छ। प्रेरित पावल भन्छन,"मेरो अनुकरण गर्ने होओ, जसरी म ख्रीष्‍टको अनुकरण गर्दछु।" - १ कोरन्थी ११:१
के हामी पनि प्रेरित पावलले जस्तै गर्व र निर्धक्कताकासाथ भन्न सक्छौं, 'मेरो अनुकरण गर....।'
के हामी अगुवाहरुले आफ्नो बगाललाई भन्न सक्छौं, 'मेरो अनुकरण गर....।'
के हामी अभिभावकले आफ्ना सन्तानलाई भन्न सक्छौं, 'मेरो अनुकरण गर....।'
के हामी जवानहरुले आफ्नो मित्रहरुलाई भन्न सक्छौं, 'मेरो अनुकरण गर....।'
ख्रीष्टरहित मानिसहरु समस्याबिच थकित र निराश हुन्छ भने हामी इशाईहरुचाहिँ यहि कठिन समयमा अझ बढि वृद्धि हुनुपर्छ। हरेक इशाईले जीवनमा ख्रीष्टमा निरन्तर वृद्धि हुने लक्ष्य लिनुपर्छ। 
"इशाई हुनु चाहिँ तत्कालिन परिवर्तन भन्दा बढि कुरा हो। यो दैनिकि प्रकिया हो जहाँ तपाई हरेक दिन ख्रीष्ट जस्तै बन्दै जानहुन्छ।" - बिल्लि ग्राहम 
प्रेरित पावल पुन भन्छन्,
"धन्‍यवाद दिनमा प्रशस्‍त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्‍वासमा दह्रिला भएका होओ।" - कलस्सी २:७
हरेक इशाईको लक्ष्य यी ३ वटा आधारभूत वृद्धि हुनुपर्छ :
- ख्रीष्टमा जरा गाडिएका 
- ख्रीष्टमा निर्माण भएका 
- विश्वासमा दह्रिला भएका 

प्रेरित पावलले मण्डलीलाई ख्रीष्टमा वृद्धि गरेर परिपक्क बनाउन कठिन परिश्रम गरेका थिए। उनी भन्छन्,
"प्रत्‍येक मानिसलाई चेताउनी दिँदै, र प्रत्‍येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौं, यस हेतुले कि प्रत्‍येक मानिसलाई ख्रीष्‍टमा परिपक्‍व बनाई प्रस्‍तुत गर्न सकौं। मेरो अन्‍तस्‍करणमा उहाँले नै जोड़सँग प्रेरणा दिनुभएको शक्तिअनुसार म यसैको निम्‍ति कठोर परिश्रम गर्दछु।" - कलस्सी १:२८-२९
आज हरेक अगुवाले, हरेक अभिभावकले र हरेक मण्डलीले पनि आफ्नो भेडाहरको, आफ्नो सन्तान र आउँदो पुस्ताहरुको र आफ्नो विश्वासी जनहरुको निम्ति प्रेरित पावलले जस्तै कठोर परिश्रम गर्नुपर्छ ताकि उनीहरु ख्रीष्टमा वृद्धि र निर्माण हुन सकुन। 

'ख्रीष्टमा वृद्धि हुनु'को अर्थ के हो? 
- आत्मिकि परिपक्कता तर्फ लम्कनु 
- परमेश्वरसँगको घनिष्ठ सम्बन्ध र सँगती निर्माण गर्नु 
- ख्रीष्टजस्तै बन्ने लक्ष्य बोकि ख्रीष्टसँगै यात्रा गर्नु
- ख्रीष्टलाई व्यक्तिगत रुपमा चिन्नु (यूहन्ना १७:३)
- आज्ञाकारीताको जीवन 

वृद्धिको निम्ति उत्कट इच्छा गर्नुहोस् :
                                    प्रियहरु! धेरैपटक हामी परमेश्वरलाई हाम्रो समस्या हटाइदिनुहोस भनि प्रार्थना गर्छौ तर हामी कमैले यस समस्यामा मलाई वृद्धि गर्नुहोस् भनि प्रार्थना गर्छौं। समस्याचाहिँ वृद्धिको निम्ति एउटा कारक हो। यो सुन्दा अनौठो लाग्न सक्छ तर सत्य यहि हो कि हामी समस्याको बिचमा वृद्धि हुन्छौं। धेरै पटक परमेश्वरले हामीलाई समस्या र उत्तारचढावबाट गुज्राउनु हुन्छ ताकि हामी वृद्धि र निर्माण हुन सकौं। एउटा बालक तब सम्म हिड्न सक्दैन जबसम्म अभिभावकले बालकको हात छोडदैन। जब ऊ हिड्न थाल्छ ऊ कतिपटक लडछ र पुन खडा भएर हिडन थाल्छ। बालक हिडनको निम्ति अभिभावकले उसलाई आफ्नो अंगालोबाट झारेर उसलाई जमिनमा छोडनैपर्छ तर यसको अर्थ आमाबाबुले आफ्नो सन्तानलाई प्रेम गर्दैन भन्ने हुँदैन। त्यसरी नै हाम्रो निर्माण र वृद्धिको निम्ति कति पटक हामी लडछौं र पुन खडा हुन्छौ। एउटा अभिभावकले जसरी हाम्रो हरेक पाइलालाई परमेश्वर नियाल्नुहुन्छ।

म्याक्स लुकार्डो भन्छन्, "धैर्यवान हुनुहोस्। परमेश्वरले आजको कठिनाइहरू भोलिको लागि तपाईंलाई बलियो बनाउन प्रयोग गर्दै हुनुहुन्छ। उहाँले तपाईंलाई सुसज्जित गर्दै हुनुहुन्छ। चीजहरू बढाउनुहुने परमेश्वरले तपाईंलाई फल फलाउन मद्दत गर्नुहुनेछ।"
                                  प्रियहरु! परमप्रभु केवल तपाईको अवस्था र परिस्थिति मात्र होइन तर तपाईलाई परिवर्तन गर्न चाहनुहुन्छ- उहाँमाथि भरोसा गर्न नसक्ने तपाईभित्रको हृदयलाई परिवर्तन गर्न चाहनुहुन्छ- तपाईको भित्रि मनुष्यलाई परिवर्तन गर्न चाहनुहुन्छ यसकारण तपाईको अवस्था र परिस्थिति परिवर्तन होस् भनेर लामो समयदेखि प्रार्थना गरिरहनुभए तापनि तपाईको अवस्था र परिस्थिति परिवर्तन नभएको देख्दा पनि घोषणा गर्नुहोस्- म परिवर्तन हुँदै छु। यसकारण याकूब भन्छन्, 
"मेरा भाइ हो, तिमीहरूमाथि विभिन्‍न किसिमका आपत्‌-विपत्‌ आइपर्दा तिनलाई पूरा आनन्‍दको कुरा सम्‍झ।
किनकि तिमीहरू जान्‍दछौ, तिमीहरूका विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँछ। धैर्यलाई त्‍यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्‍व र पूर्ण होओ।" - याकूब १:२-४


किन वृद्धि आवश्यक छ? किन हामी ख्रीष्टमा वृद्धि हुन आवश्यक छ? 

- वृद्धिले परिपक्क (teleios/टेलिओस : परिपक्क, सिद्ध र पूर्ण ) बनाउँदछ।  

                          हरेक इशाई विश्वासमा परिपक्क हुनुपर्छ। प्रेरित पावलले कोरन्थीको मण्डलीलाई 'दुधे बालक'को संज्ञा दिएका छन किनकि उनीहरु परिपक्क थिएनन् (१ कोरन्थी ३:१-३)। हिब्रूका लेखकले पनि हामी परिपक्कतातर्फ बढनुपर्ने बताउँछन्।
"यसकारण ख्रीष्‍टसम्‍बन्‍धी प्राथमिक सिद्धान्‍तहरूलाई छोड़ेर हामी परिपक्‍वतातर्फ बढ़ौं।" - हिब्रू ६:१
आफ्नो पुस्तक 'विश्वासको आयामहरु' मा जेम्स फाउलरले यसरी टिप्पणी गरे कि "हामी सबैले शिशुको रुपमा विश्वासको यात्रा सुरु गर्छौ। यद्यपि हामी ख्रीष्टमा शिशु नै वा बालक नै भैरहने होइन।"

प्रेरित पावल भन्छन,
"यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्‍तको प्रत्‍येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्‍ता नहोऔं।" - एफिसी ४:१४
यसको अर्थ के हो? 
यसको अर्थ एउटा आत्मिक रुपमा परिपक्क इशाई आफ्नो विश्वास र आस्थामा, बाइबलिय सिद्धान्तमा र आफ्नो मूल्यमान्यतामा स्थिर हुन्छ। यस्तो इशाई कसैको बहकाउमा, कसैको झुटो आश्वासनमा, झुटो शिक्षामा र झुटा पासोमा फस्दैनन्। 
आज धेरै इशाईहरु शैतानको पासोमा फसेका छन्, धेरै इशाईहरु झुटा प्रलोभनमा परेका छन्, धेरैले बाइबलिय सिद्धान्त र मूल्यमान्यता त्यागेर संसारसँग सम्झौता गरेका छन किनकि उनीहरु आफ्नो विश्वासमा स्थिर थिएनन र उनीहरु ख्रीष्टमा परिपक्क थिएनन्। यसकारण आज मण्डलीको सबैभन्दा ठूलो चिन्ताचाहिँ यो हुनुपर्छ कि कसरी आफ्नो भेडाहरुलाई ख्रीष्टमा परिपक्क बनाउने? किनकि आज संसार बाहिरबाट निक्कै लोभलाग्दो र आकर्षित बनेको छ, यसले अस्थिर, अपरिपक्क र काँचो इशाईहरुलाई छिट्टै तान्छ। 
स्टेफेन यार्न्किनले आफ्नो पुस्तक 'Aiming at maturity: The goal of the Christian life'/ 'परिपक्कताको लक्ष्य'मा आत्मिक रुपमा परिपक्क व्यक्तिलाई यसरी परिभाषित गरेका छन, "जसको चरित्र- स्वभाव, वचन र कार्यले येशूख्रीष्टको चरित्रको अनुकरण गर्छ।"


- परिपक्कताले फल फलाउँछ। 

"धर्मीचाहिँ खजूरको बोटझैँ लहलह हुन्‍छ,  तिनीहरू लेबनानको देवदारुजस्‍तै बढ्‌छन्‌, तिनीहरू परमप्रभुको भवनमा रोपिएका हुन्‍छन्‌,  हाम्रा परमेश्‍वरका चोकहरूमा तिनीहरू मौलाउँछन्‌। बुढ़ेसकालमा पनि तिनीहरू फलदायी हुन्‍छन्‌,  र तिनीहरू ताजा र हरिया रहन्‍छन्‌।" - भजन. ९२:१२-१४
                               यदि हामी फल फलाउन चाहन्छौं भने ख्रीष्टमा वृद्धि भएर परिपक्क हुनुपर्छ। सामान्यतया एउटा बिरुवाले फल फलाउन सक्दैन किनकि फल फलाउनको निम्ति बिरुवा बढेर परिपक्क रुख हुनुपर्छ। त्यसपश्चात त्यस रुखले फल फलाउँनेछ र मानिसहरुले त्यस रुखको मीठो फल चाख्नेछ। 
                              यदि हामी मानिसहरुलाई हाम्रो मीठो फल खुवाउन चाहन्छौं - हाम्रो मीठो सुवास्नाले सुगन्धित पार्न चाहन्छौं- हामीप्रति आकर्षित पार्न चाहन्छौं- मानिसहरुले हाम्रो प्रशंसा गरेको हामी चाहन्छौं भने सर्वप्रथम हामी ख्रीष्टमा वृद्धि हुन आवश्यक छ। हाम्रो समस्याचाहिँ हामी ख्रीष्टमा वृद्धि हुन चाहदैनौं तर मानिसले मलाई चिनोस, मेरो प्रशंसा गरोस, मप्रति आकर्षित होस, मेरो सेवाकाईको तारिफ गरिदेओस भन्ने चाहन्छौं। यसले तपाई परमप्रभु केन्द्रित होइन तर मानिस केन्द्रित बन्नुहुन्छ। अब तपाईको सेवाकाइले परमेश्वर रिझाउने होइन तर मानिस रिझाउने काम गर्छ। 
                            प्रियहरु! म तपाईलाई बताउन चाहन्छु परिपक्क रुखले मानिसलाई रिझाउनु पर्दैन तर यसको फल देखेर मानिसहरु यसप्रति अटोमेटिक रुपमा आकर्षित हुन्छ। 


Comments