एक-अर्का...


एक-अर्का..."
"One-Another..." (ἀλλήλων)


"हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्‍ति कसरी उत्‍साहित गराउने त्‍यस कुरामाथि विचार गरौं।" - हिब्रू १०:२४

विश्वासमा जिउनु ‌चाहिँ निक्कै गाह्रो कुरा हो। हामी समय-समयमा निरुत्साहित हुन सक्छौं। 
एकलौटे इशाई चाहिँ प्राय कमजोर इशाई हो। हामीलाई एकअर्काको आवश्यक छ। हामी एक्लै-एक्लै केहि गर्न सक्दैनौं। इशाई जीवनलाई परमेश्वरले कहिल्यै एक्लै बाँच्न डिजाइन गर्नुभएको थिएन-हामीलाई अन्य विश्वासीहरुसँग संगतीमा हुन बोलाइएको हो। यसकारण यदि कुनै इशाईले मलाई मण्डली चाहिदैन भन्छ भने त्यो जस्तो मुर्खता अरु केहि हुँदैन। 
जब कुनै शिकारी जनावर सिकारमा हिड्छ, उसको पहिलो निशाना एकलकाँटे जनावर हुँदछ जो आफ्नो बथानदेखि अलग्गिएको हुन्छ। शैतानले पनि एकलकाँटे इशाईलाई आफ्नो पहिलो निशाना बनाउँछ किनकी बाइबलले भन्दछ, ".....तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‌छ।" - १ पत्रुस ५:८
हाम्रो निम्ति सबैभन्दा सुरक्षित ठाउँचाहिँ आफ्नो बगालसँग रहनु हो।
नयाँ करारको प्रारम्भिक पाण्डुलिपिहरु जुन प्राचिन ग्रीकमा लेखिएको थियो, यसमा अल्लेलन (allelion) शब्द ९४ पदहरुमा १०० पटक उल्लेख गरिएको छ। चाखलाग्दो कुराचाहिँ १०० पटक उल्लेख गरिएको यस शब्दमा ५९ पटक यसलाई आज्ञात्मक रुपमा उल्लेख गरिएको छ। अर्थात  बाइबल एक-अर्कालाई गर्नुपर्ने र गर्नुनहुने कुराको स्पष्ट आज्ञा दिएको छ। त्यहाँ तीन वटा नकारात्मक एक-अर्का छ अर्थात एक-अर्कालाई गर्न नुहुने आज्ञा :
- एक-अर्काको न्याय नगर्नु (रोमी १४:१३)
- एक-अर्कालाई टोक्ने र निल्ने नगर्नु नत्र एकअर्काबाटै हामी खतम हुन्छौं (गलाती ५:१५)
- एक-अर्कालाई रिस नउठाऔं र एकअर्काको इर्ष्या नगरौं (गलाती ५:२६)

- एक-अर्कालाई प्रेम गर.... (१५औं पटक) 
प्रेमको अर्को कुनै विकल्प छैन। प्रेमले जीवन बदल्छ। प्रेम आफैमा एउटा उर्जा र बल हो। प्रेमको साँचो परिभाषा ख्रीष्टले उजागर गर्नुभयो। संसारले मानिसलाई स्वार्थपूर्ण प्रेम गर्न सिकायो तर ख्रीष्टले हामीलाई निस्वार्थ र साँचो प्रेम कस्तो हुन्छ अनुभूति गराउनुभयो। साँचो प्रेमको सबैभन्दा असल उदाहरण हामी ख्रीष्टमा पाउँछौ। बाइबलले एक-अर्कालाई प्रेम गर्नुपर्ने आज्ञा दिएको छ। प्रियहरु! एक-अर्कालाई प्रेम गर्नुपर्ने चाहिँ सल्लाह होइन तर नितान्त अनिवार्य आज्ञा हो। 
“एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्‍तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्‍यस्‍तै प्रेम गर। यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्‍यौ भने, यसैबाट सबैले जान्‍नेछन्‌, कि तिमीहरू मेरा चेलाहरू हौ।”- यूहन्ना १३:३४-३५
हामी भातृप्रेममा एकअरकाप्रति समर्पित हुनुपर्छ (रोमी १२ :१०), प्रेममा एकअर्काको सेवा गर्नुपर्छ (गलाती ५:१३), प्रेममा एकअर्कालाई सहनुपर्छ (एफिसी ४:२) । आज संसार प्रेममा रितिदै गर्दा र संसारमा प्रेम सेलाएर जाँदै गर्दा, प्रेमको आशाचाहिँ मण्डली हुनुपर्छ। परमेश्वरका जनहरुबाट प्रेम बग्नुपर्छ। प्रियहरु! यदि आज हामी पनि कठोर भएका छौं भने, यदि हामी पनि तितो भएका छौं भने हामीले प्रेम गर्न सक्दैनौं। 



- एक-अर्कालाई उत्साह देओ... 
जब पावलले ख्रीष्टलाई ग्रहण गरे र यरुशलेम पुगे, त्यहाँको मण्डलीले उनलाई ग्रहण गर्न सकेनन तर तिनीहरू सबै तिनीसँग डराए (प्रेरित ९:२६)। यो पावलको निम्ति निक्कै अप्ठयारो अवस्था थियो। तिनी यरूशलेमका चेलाहरूसँग मिल्‍ने प्रयत्‍न गरिरहेका थिए तर तिनीहरु डराएका र शंकामा थिए। "तर बारनाबासले तिनलाई साथमा लिएर प्रेरितहरूकहाँ लगे।" - प्रेरित ९:२७
बारनाबासले पावल साँचो रुपमा परिवर्तन भएको र एक असल सुसमाचारक भएको स्पष्ट गराए। उनको प्रारम्भिक सेवाकाईको समयमा उनलाई बर्णबासले हौसला प्रदान गरेको छ। पावललाई मण्डली लगेर परिचित गराउने बर्णबास नै थिए। यसपछि पावल स्वतन्त्र रुपमा हिँडडुल गर्न सक्थे र येशूको नाममा साहसपूर्वक बोल्न सक्थे। बारनाबास त्यो मित्र थिए जसले पावललाई आफ्नो खराब छवि र विश्वासको स्वीकार्य प्रवक्ता बन्न मदत गरे। 
आज हामी कति जना बारनाबास जस्तै 'उत्साहको पुत्र' (प्ररित ४:६) हुन चाहन्छौं? सायद हामी धेरै नै चाहन्छौं। यसको निम्ति एक-अर्कालाई असल कामको निम्ति, परमेश्वरको सेवा र उ‌हाँको राज्यको निम्ति हौसला र उत्साह दिन सुरु गर्नुहोस्। 
म तपाईलाई करिब १०० वर्ष अघिको एउटा सत्य घटना बताउन चाहन्छु। वाल्टर बाल्यकालदेखि नै चित्र बनाउन मन पराउँथे। यद्यपि वाल्टरको आमाबाबुले उनलाई कहिल्यै चित्रकलाको निम्ति हौसला दिएनन। तर वाल्टरकी काकीले उनलाई चित्र कोर्न रङ्ग र पेन्सिल किनेर प्रोत्साहन दिन्थिन। वाल्टरको छिमेकी शेरवुड र तिनकी श्रीमतीले पनि तिनको चित्रहरुको प्रंशसा गर्दै तिनलाई हौसल दिन्थे। जब वाल्टर ७ वर्षका थिए शेरवुड र तिनका श्रीमतीले उनलाई आफ्नो घोडाको तस्बीर बनाउनका निम्ति केहि खर्च दिन्छन र तिनी एकदिन अवस्य ठूला चित्रकार बन्नेछन भनि हौसला दिए। वाल्ट डिस्नीको बाकिँ सबै इतिहास हामीलाई थाहा छ। उनले मिकी माउस, डोनाल्ड माउस र अन्य पात्रहरु निर्माण गरे साथै संसारकै सबैभन्दा प्रख्यात पार्क डिस्नील्यान्ड तथा डिस्नीवर्ल्ड स्थापना गरे । उनले आफ्नो प्रिय डिज्नी कार्टुन र चलचित्र निर्माणका लागि २६‌ वटा प्रख्यात  एकेडेमी अवार्ड जितेका थिए। सानो प्रोत्साहन र उत्साहले लामो यात्रा तय गर्ने साहस प्रदान गर्दछ। 
 यसैकारण एउटाले अर्कालाई यी वचनहरूले सान्‍त्‍वना देओ।" - १ थेसलोनिकी ४:१८
यसकारण एउटाले अर्कालाई प्रोत्‍साहन देओ, र एउटाले अर्कालाई दह्रिलो पार्ने काम गर, जस्‍तो तिमीहरू गर्दै पनि छौ।" - १ थेसलोनिकी ५:११

नकारत्मक हौसला खतरनाक हुन सक्छ :
खराब सल्लाह नदिनुहोस्। गलत कामको निम्ति र अबाइबलिय कार्यहरुको निम्ति कहिल्यै हौसला नदिनुहोस। यो निक्कै खतरनाक कुरा हो। गलत हौसलाले मानिसलाई भ्रष्ट बनाउँछ। गलतलाई गलत नै भन्नुहोस्। पापलाई पाप नै भन्नुहोस्। तपाईले भन्नुहोस्, "मेरो भाई, मेरो छोरा, मेरो छोरी म तिमीलाई निक्कै प्रेम गर्छु तर तिमीले गरेको कार्य गलत छ"। 
मत्ती १८:१५-१७ अनुसार 
यदि कसैले “अपराध गर्‍यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्‍यसको दोष देखाइदेऊ। त्‍यसले तिम्रो कुरा सुन्‍यो भने, तिम्रो भाइ आफ्‍नो भयो। तर त्‍यसले सुनेन भने आफ्‍नो साथ अरू एक वा दुई जनालाई लैजाऊ र दुई अथवा तीन साक्षीद्वारा प्रत्‍येक कुरा पक्‍का होस्‌। यदि त्‍यसले तिनीहरूका कुरा पनि सुन्‍न इन्‍कार गर्‍यो भने, मण्‍डलीलाई भन। त्‍यसले मण्‍डलीको कुरा पनि सुन्‍न इन्‍कार गर्‍यो भने, त्‍यो तिम्रो लागि विधर्मी र कर उठाउनेसरह होस्‌।" 


- एक-अर्कालाई क्षमा देओ... 
"एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एक-अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्‍यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ।" - कलस्सी ३:१३
ख्रीष्टले हामीलाई हाम्रो क्षमाको निम्ति एउटा सिद्धान्त सिकाउनुभयो : 
"हाम्रो अपराध क्षमा गर्नुहोस जसरी हामीले पनि आफ्ना अपराधीहरुलाई क्षमा गरेका छौं... " - मत्ती ६:१२

जब येशू ख्रीष्ट पृथ्वीमा आउनुभयो, उहाँले नैतिकताको सिमालाई व्यग्र रुपमा बढाउनुभयो। उहाँले ब्यवस्थालाई नै चुनौती दिने गरि नयाँ नियममा बाइबलिय सिद्धान्तहरु निर्माण गर्नुभयो। व्यवस्थामा लेखिएको छ, "आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा, डामको सट्टा डाम, चोटको सट्टा चोट, कुटाइको सट्टा कुटाइ त्‍यस मानिसलाई मिलोस्‌।" - प्रस्थान २१:२४-२५
तर उहाँले नयाँ नियममा भन्नुभयो, "...जसले तिम्रो दाहिने गाला चड्‌काउला, त्‍यसलाई अर्को गाला पनि थापिदेऊ।....आफ्‍ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्‍ति प्रार्थना गर" - मत्ती ५:३९,४४
हामी कतिलाई लाग्न सक्छ 'क्षमा दिनै पर्छ र?' यदि हामी आफ्नो अपराधहरुबाट क्षमा पाउन चाहन्छौं भने हामीले क्षमा दिनै पर्छ। 
 एकपटक पत्रुसले येशूख्रीष्टलाई भन्छ, “प्रभु, मेरो भाइले कति पल्‍ट मेरो विरुद्धमा अपराध गरे मैले त्‍यसलाई क्षमा गर्ने? के सात पल्‍टसम्‍म?” - मत्ती १८:२१
यहूदी धर्ममा तपाईले एउटै व्यक्तिलाई एउटै अपराधको लागि तीन पटक क्षमा दिनु भन्छ। पत्रुसले येशूसामु आफैलाई उदार भएको सोच्दै आफ्नो भाईलाई सात पटक क्षमा दिनुपर्छ भनि प्रश्न गर्दछ। तर येशूले भन्नुहुन्छ। यसको सट्टा हामी प्रभावकारी रुपमा असीमित क्षमा दिनको लागि तयार हुनुपर्छ।


- एक-अर्काको सेवा गर.... 

"... तर प्रेममा तिमीहरू एक-अर्काको सेवक बन।" - गलाती ५:१३
स्वयम येशूख्रीष्टले पनि चेलाहरुको खुट्टा धोएर एक-अर्काको सेवा गर्नुपर्ने उदाहरण दिनुभयो। उहाँले भन्नुभयो, "....मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्‍वरूप आफ्‍नो प्राण दिन आयो।”- मत्ती २०:२८
हामी पनि एक-अर्काको निम्ति सेवा गर्नलाई चुनिएका हौं। यो हाम्रो जिम्मेवारी हो। हामी यसबाट तर्किनु हुँदैन्। 



Comments