"More than Conquerors.."
वास्तवमा आज संसारमा हरेक मानिस हारको जीवन जिउन बाध्य छ। कोहि पैसाले, कोहि सम्बन्धले, कोहि पद र प्रतिष्ठाले र कोहि बुद्धि र ज्ञानले हारेको छ। तर परमेश्वर हामी हारमय जीवन होइन तर विजयी जीवन जिएको चाहनुहुन्छ। उहाँ आफ्ना सन्तानहरुले डर, निराशा, लाचार अनि पराजित जीवन जिएको कदापि चाहनुहुन्न। उहाँ हामी सफल, प्रभावकारी र विजयी जीवन जिएको चाहनुहुन्छ- यसमा कुनै शंका छैन्। परमेश्वर हाम्रो प्रगतिको विरुद्धमा हुनुहुन्न। परमप्रभुले मानिसलाई फल्दैफुल्दै वृद्धि हुने आज्ञा दिनुभयो।
परमेश्वर हाम्रो पक्षमा :
उदाहरण: पहिलो विश्व युद्धमा एउटा अचम्मको घटना घट्छ। एउटा जवान सेना लियोनार्ड नाइटलाई युद्ध मैदानमा छातीमा गोली लाग्छ तर अचम्म तरिकाले ऊ बाँच्न सफल हुन्छ। वास्तवमा उसले आफ्नी काकीले दिएको सानो बाइबललाई छातीको गोजीमा राखेको हुन्छ। अचम्म तरिकाले गोली अन्तिमबाट ५० पेजअघि नै रोकिन्छ।
परमेश्वर आफ्नो सन्तानले विजयी जीवन जिओस भनेर हाम्रो पक्षमा लडनुहुन्छ।
"किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका शत्रुका विरुद्धमा तिमीहरूका निम्ति लड़ेर तिमीहरूलाई विजयी तुल्याउन साथसाथै जानुहुन्छ।”- व्यवस्था २०:४
हामी यसकारण पनि विजेताहरुभन्दा अझ बढि हौं किनकि हाम्रो पक्षमा परमप्रभु लड्नुहुन्छ।
"परमप्रभु नै तिमीहरूका निम्ति लड्नुहुनेछ। तिमीहरू केवल स्थिर बस।”- प्रस्थान १४:१४
धेरै पटक हामी आत्मिक लडाइँहरुमा पराजित हुनुको कारण परमप्रभु हाम्रो पक्षमा नहुनु भएर होइन तर हामी अस्थिर भएको कारण हो। हामी छिट्टै हाम्रो भरोसा उहाँबाट हटाउँछौ । हामी डराउँछौ र अन्त विकल्पहरु खोज्न लागी पर्छौं। हामी विकल्पहरु खोज्न आफ्नो मुहार उहाँबाट मोड्छौं र शत्रुले यहि मौकामा हामीलाई गिराउँछ।
"हाम्रा विश्वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं,..." - हिब्रू १२:२
तपाईले देख्नुभयो, जब हामी येशूबाट हाम्रो आँखा हटाउँछौ तब हामी समस्यामा पर्छौ। शैतान हामीलाई धोका दिन र येशूबाट हामीलाई विचलित पार्न सख्त कोसिस गर्दछ।
तर सफलता र विजयीको निम्ति तयारी, घोषणा, प्रतिबद्धता र विश्वास चाहिन्छ। हुन सक्छ तपाई कठिन र संघर्षमय परिस्थितिहरुबाट गुज्रदैगर्दा तपाईलाई लाग्न सक्छ, 'के म जस्तो व्यक्ति पनि विजेता हुँ र? मेरो आर्थिक अवस्था कमजोर छ- मेरो जीवनमा यतिका समस्याहरु जिउका तिउ छन-म उत्ति धेरै पढेलेखेको व्यक्ति पनि होइन...मैले ठूला ओहदाका मानिसहरु चिनेको छैन..." यस्तो दुविधामय अवस्था र अनेकौं अनुत्तरित प्रश्नहरूकाे बिचमा पनि तपाईले घोषणा र विश्वास गर्नुहोस्- कि परमेश्वरले तपाईलाई 'विजेताहरुभन्दा पनि अझ बढिको निम्ति.." बोलाउनुभएको छ। हिजोको दिनसम्म तपाई एक साधारण व्यक्ति हुनुहुन्थ्यो तर आज तपाई असाधारण व्यक्ति ठहरिनुभएको छ।
"जब परमेश्वरले बोलाउनुहुन्छ एक साधारण मानिस असाधारण हुन्छ, थकित मानिस बलियो बन्छ र पराजित मानिस विजेता हुन्छ ।"
प्रेरित पावल लेख्छन्,
"हामीले यसमा के भन्ने त? यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुन्छ?
जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुनेछैन र?
होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्दा पनि अझ बढ़ी छौं।" - रोमी ८:३१-३२, ३७
'विजेताहरुभन्दा अझ बढी'को अर्थ के हो?
उदाहरण: हिएन फामको कथा....
प्रेरित पावलले उच्चारण गरेको "विजेताहरुभन्दा अझ बढि..." भन्ने वाक्यांशको प्रयोग नयाँ नियमको यही भागमा मात्र प्रयोग गरेको पाइन्छ।
"विजेताहरुभन्दा अझ बढि.." भन्ने वाक्यांशलाई एउटै ग्रीक शब्द 'Nikao/ निकाओ' ले जनाउँदछ जसबाट 'Nike' शब्द आएको हो। यसको अर्थ महान विजयी प्राप्त गर्नु भन्ने हुन्छ।
"युद्धका दिनको लागि घोडा तयार पारिन्छ, तर विजयचाहिँ परमप्रभुकै हातमा हुन्छ" - हितोपदेश २१:३१
"विजेताहरुभन्दा अझ बढी" हुनु भनेको हामीले विजयी मात्र प्राप्त गरका छैनौं तर हामी अत्यधिक विजयी भएका छौं। यसले ती मानिसहरुलाई बुझाउँछ जसले "उत्तम विजय प्राप्त गर्दछ" जसको अर्थ "पूर्ण रुपमा विजयी हुनु; महान विजय हासिल गर्नु"।
उनले भनेको वास्तविकता यहि हो; हामी विजेताहरुभन्दा अझ बढी हौं... उनले यहाँ 'वर्तमान काल-सक्रिय अवस्था' प्रयोग गरेका छन, अर्को शब्दमा इशाईहरु "महिमाको विजय हासिल गरिरहेका छन्।"
यस्ता मानिसहरु कठिन भन्दा कठिन समयमा पनि विजेताको मानसिकता लिएर हिड्छन। यिनीहरुमा सिंहको जस्तो मनोवृति हुन्छ। सिंह सधैं एक सम्मानिय मृत्यु चाहन्छ र अन्तिमसम्म हार नमानि लडाइँ लडेर मर्छ। विजेताहरुभन्दा अझ बढि भएको मानिसहरु कहिल्यै हार मान्दैनन्हार उनीहरुको रगतमा हुँदैन्।
यथार्थ यो हो कि जब सम्पूर्ण संसार हाम्रो विरुद्धमा भएतापनि, हामी विजेताहरुभन्दा अझ बढि हौं र परमेश्वरले हामीलाई त्यो महिमित विजयी जीवन जिउन बल दिनुहुनेछ।
हुन सक्छ, हाम्रो अवस्था र परिस्थितिहरु बिल्कुलै फरक देखिएला, तरै पनि हामी विजेताहरुभन्दा अझ बढी हौं।
हामी धेरैलाई लाग्न सक्छ, विजयी जीवन जिउन त हरेक समस्या र टाउको दुखाईबाट मुक्त हुनु पर्छ। तर यहाँ प्रेरित पावल विल्कुल फरक बाइबलिय धारणा राख्छन्। संसार र शैतानले हाम्रो विरुद्धमा फ्याँक्ने हरेक कुराहरुका बाबजुद हामी विजेताहरुभन्दा अझ बढी हौं।


Comments
Post a Comment