नयाँ हृदय

 नयाँ हृदय 



हिब्रू अगमवक्ता इजकिएल बेबिलोनद्धारा गरिएको सत्तरी वर्षको निर्वासनमा कैदी थिए। यहूदाको राष्ट्रलाई बन्दी बनाउँदा नबुकदनेसरले उनलाई लगेका थिए। इजकिएल बेबिलोनमा निर्वासनका पहिलो अगमवक्ता थिए। उनीभन्दा अलि कान्छो दानिएल निर्वासनको दोस्रो चरणमा बाँचे ।
परमेश्वरविरुद्धको पाप र विद्रोहले सारा इस्राएलीहरुको हृदय कुरुपताले भरिएको भ्रष्ट अवस्थामा उहाँले तिनीहरुलाई प्रतिज्ञा गर्नुहुन्छ,
"म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूभित्र म नयाँ आत्‍मा हालिदिनेछु। तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्‍यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु। " - इजकिएल ३६:२६
जुन हृदय पाप, विद्रोह, घमण्ड र अधर्मका कुराहरुले भरिएको छ, त्यहाँ परमेश्वर वास गर्नुहुन्न । यसकारण परमेश्वरले इस्राएलीहरुको हृदयका ती सबै कुरुपताहरुलाई हटाएर त्यसलाई नयाँ रुप दिएर त्यसमा वास गर्ने प्रतिज्ञा गर्नुभयो। 
जब हामी परमेश्वरलाई हाम्रो फोहोर र कुरुप हृदय सुम्पन्छौ तब उहाँ यसलाई धुनुहुन्छ, सफा गर्नुहुन्छ र यसलाई नयाँ रुप दिनुहुन्छ र त्यसमा वास गर्नुहुन्छ। 
तपाईको हृदयमा परमेश्वरको उपस्थिति हुन आवश्यक छ। 
यो नयाँ हृदय निकै संवेदनशील हुन्छ र यसले पापलाई थेग्न सक्तैन। यसलाई निको तुल्याउन परमेश्वरको वचनको आवश्यकता पर्दछ। 

"हृदयको प्रत्यारोपन पुनर्स्थापनाको चिन्ह हो ।"
१९६७ साल युकेमा पहिलो मुटु प्रत्यारोपण सफल भयो। पहिलो ५३ वर्ष उमेरको व्यक्ति लुइस वाशकान्स्की जसको संसारमै पहिलो पटक मुटु प्रत्यारोपण गरिएको थियो, तिनको मुटुले काम गर्न छोडिसकेको थियो। तिनलाई मुटु दिने दाता, डेनिस डार्भल थिए, जो जम्मा २५ वर्षका थिई। उनको गाडी दुर्घटनामा परेर मष्तिष्कमा गहिरो चोट लागेको थियो। तिनको पिता एडवर्ड जसलाई आफ्नो छोरीको विशाल दयावन्त हृदय थियो र तिनले पनि यहि चाहन्थिन भन्ने थाहा थियो, उनले आफ्नी छोरीको अंग दान गर्ने उद्धार निर्णय लिए। 
मुटु प्रत्यारोपण पश्चात लुइसको पहिलो शब्द म यस्तो थियो,  'म अझै जिउँदै छु' 
परमेश्वर पिताले आफ्नो पुत्र ख्रीष्ट येशूको हृदय हामीमा प्रत्यारोपण गर्नुभयो । यो कुनै चानचुने कुरा थिएन। हामी पापको रोगले ग्रसित भएर शिथिल अवस्थामा थियौं। यस रोगले हाम्रो हृदय, मनमुटु, हाड, मस्तिष्क, मासंपेसि सबैलाई संक्रमित पारेको थियो। यसको उपचार कहि थिएन। तब एक अनुग्रहि र उद्धार हृदय भएको पिताले आफ्नो पुत्रको हृदय हामीलाई दान दिने निर्णय गर्नुभयो। तर यो दान बलिदान बिना सम्भव थिएन। अन्तमा ख्रीष्ट द‌हाम्रो निम्ति बलिदान हुनुभयो। 
पहिलो मुटु प्रत्यारोपनको कथाले आत्मिकी स्तरमा हामीलाई तीनवटा कुरा सिकाउँदछ :
- जब हाम्रो हृदयले काम गर्न सक्तैन तब हामीलाई नयाँ हृदय चाहिन्छ। 
- जब तपाईले नयाँ हृदय प्राप्त गर्नुहुन्छ, त्यो तपाईको हुँदैन तर अरु कसैको हुन्छ : येशू ख्रीष्टको 
- नयाँ हृदयले तपाईको आत्मालाई जिवन्त तुल्याउँछ। 

परमेश्वरले इस्राएलीहरुलाई भन्नुभयो,“ ‘किनकि म जाति-जातिहरूबाट तिमीहरूलाई निकाल्‍नेछु, र सबै देशहरूबाट तिमीहरूलाई भेला गर्नेछु, र तिमीहरूलाई तिमीहरूको आफ्‍नै देशमा ल्‍याउनेछु।" - इजकिएल ३६:२४
परमेश्वरको प्रतिज्ञा यहूदी मानिसहरुलाई तिनीहरुको अधिकारको भूमिमा, प्रतिज्ञा गरिएको भूमिमा पुनर्स्थापित गर्ने थियो, जुन उनीहरुलाई तिनीहरुको अनाज्ञाकारीताको कारण त्यहाँबाट हटाइएको थियो। 
परमेश्वर हामीलाई पुनर्स्थापना गर्न चाहनुहुन्छ। पुनर्स्थापना भनेको हाम्रो पहिलेकै स्थतिमा स्थापना गर्ने प्रक्रिया हो। तपाई अहिले जतिसुकै कठिन परिस्थितिहरुबाट गुज्रिरहनुभएको छ, त्यो तपाईको वास्तविक स्थिती होइन। निराश नहुनुहोस! हरेश नखानुहोस ! हार नमान्नुहोस! 
तपाईलाई प्रतिज्ञा गरिएको तपाईको राज्य र तपाईको वास्तविक स्थिती चाहिँ तपाई दुध र मह बग्ने देशमा पुग्नुपर्छ। 
जब पत्रूसले येशूख्रीष्टलाई आफ्नो तोडिएको हृदय सुम्पियो तब उहाँले तिनलाई पुनर्स्थापना गर्नुभयो (यूहन्ना २१:१५-१७)।

किन नयाँ हृदय आवश्यक छ:
जे. सी रायल भन्छन्, "पुनर्जन्म बिना मुक्ति छैन-नयाँ जन्म बिना आत्मिकी जीवन छैन-नयाँ हृदयबिना स्वर्ग छैन्। "
के तपाई यहाँ याद गर्नुहुन्छ, परमेश्वर यसो भन्नुहुन्न 'म तिमीहरुको हृदयलाई मर्मत गर्नेछु' तर भन्नुहुन्छ 'म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूभित्र म नयाँ आत्‍मा हालिदिनेछु।
मानिसहरुको हृदय यति भ्रष्ट भएको छ । तिनीहरुको हृदयमा पाप र अपराधले ठाउँ ओगटेको छ। हामी अहिले हरेक दिन बालबालिका बलात्कार भएको, मारिएको, जाती-जाती बिचको घृणा, देश-देश बिचको युद्ध र लडाइँको समाचारहरु मात्र सुन्छौ। इतिहासमा पनि यस्तै समय थियो। इस्राएलीहरुले परमप्रभुबाट आफ्नो मुहार मोडेका थिए। तिनीहरुको हृदयलाई पापले वशमा पारेको थियो। 
हृदय नै सम्पूर्ण दुष्ट कुराहरुको श्रोत हो भनी ख्रीष्टले सिकाउनुभयो (मत्ती १५:१९)।
यर्मिया १७:९ ले यसरी भन्दछ, 
"मानिसको हृदय सबै कुराभन्‍दा छली हुन्‍छ, र त्‍यसलाई निको पार्न सकिँदैन। त्‍यसलाई कसले जान्‍न सक्‍छ र?"
हृदय भ्रष्टताको रोगलाई औषधोपचारद्धारा निको पार्न नसकिने यर्मिया बताउँछन्। यसको उपचार नै प्रत्यारोपण हो। 
यी खण्डहरुले पापद्धारा संक्रमित भएको भ्रष्ट हृदय कति खतरनाक छ भन्ने कुरालाई थाहा गर्न सकिन्छ। परमेश्वर यस्तो हृदयलाई घृणा गर्नुहुन्छ। 
" कुटिल (जसका चाल र मार्गहरु ठिक छैन) हृदय भएको मानिसलाई परमप्रभु घृणा गर्नुहुन्‍छ" - हितोपदेश ११:२०
यस्तो हृदयको लागी कुनै आशा हुँदैन। 
घरको झ्याल अथवा ढोका अथवा छतको एक पाटो भत्किएको छ भने त्यस समस्याको निम्ति मर्मत राम्रो समाधान हुन सक्छ तर जग नै ठिक छैन भने कुनै पनि समय पुरै घर भत्किन सक्छ। यस्तो अवस्थामा सानो मर्मतको कुनै अर्थ हुँदैन। 
त्यसरी नै मानिसको सानो पाटो भत्केको छ भने मर्मत राम्रो समाधान हुन सक्छ तर यदि उसको हृदय भ्रष्ट भएर पापको वशमा छ भने त्यहाँ आत्मिक हृदय प्रत्यारोपणको आवश्यक हुन्छ। 
'उद्धेश्य नियन्त्रित जीवन' का लेखक रोक वारेन भन्छन्, "परमेश्वरले शून्यबाट पनि केहि बनाउन सक्नुहुन्छ। उहाँले टुटेको, अपवित्र र भत्किएकाे हृदय लिएर यसलाई पूर्ण, शुद्ध र उद्धेश्यपूर्ण हृदयमा परिणत गर्न सक्नुहुन्छ। परमेश्वर तपाई शुद्ध भएको चाहनुहुन्छ, त्यसैले उहाँले तपाईको नयाँ हृदय सिर्जना गर्न र जीवनको अराजकतालाई व्यवस्थित गर्न सक्रिय भूमिका लिनुहुन्छ। "

नयाँ हृदय र आत्मा आवश्यक :
बिल्ली ग्राहमले एकताका यसरी भन्नुभयो, "संसारको सबैभन्दा ठूलो आवश्यकता मानव प्रकृतिको परिवर्तन हो। हामीलाई नयाँ हृदय चाहिन्छ जसमा लालच, लोभ र घृणा हुँदैन। हामीलाई प्रेम, शान्ति र आनन्दले भरिएको हृदय चाहिन्छ र यहि कारणले गर्दा येशू संसारमा आउनुभयो ।"
यरुशलेममा एक रात निकोदमेससँग कुरा गर्दैगर्दा सायद येशूको मनमा यो खण्ड थियो होला। यस इमान्दार,नैतिक, आत्मिक रुपमा संवेदनशील मानिसलाई येशूले भन्नुभयो, 
 “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही नयाँ गरी जन्‍मेन भने उसले परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।”- यूहन्ना ३:३
निकोदमेसले सोधे, “मानिस बूढ़ो भएपछि कसरी जन्‍मन सक्‍छ र?
येशूले जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही पानी र आत्‍माद्वारा जन्‍मेन भने परमेश्‍वरको राज्‍यमा पस्‍न सक्‍दैन।....मैले तिमीलाई नयाँ गरी जन्‍मनुपर्छ भन्‍दा अचम्‍म नमान।”- (३:५,७)
मानव हृदयमा परमेश्वरको कामलाई विचार गर्दै प्रेरित पावलले यसरी लेखे,  
"यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ" - २ कोरन्थी ५:१७
प्रभुलाई खुशी पार्ने जीवन जिउने एउटै तरिका भनेको पवित्र आत्माको वास बस्नु हो (गलाती ५:१६-२६)।




    KR MINISTRY

Follow us on Facebook :

https://www.facebook.com/KR-Ministry-100603994682704/

Subscribe to our youtube Channel:

https://youtube.com/channel/UCrEdov-cW_27tu48OuQVXKQ

Comments