परिवर्तनको निम्ति योजना
गएको हप्ता हामीले हेर्यौ कि परमेश्वर भलै अपरिवर्तनीय हुनुहुन्छ तर उहाँ परिवर्तन चाहनुहुन्छ र यसैको माध्यमबाट कार्य गर्नुहुन्छ। यति मात्र नभएर उहाँले उत्पत्ति ८:२२ मा परिवर्तनको ग्यारेन्टी गर्नुभयो।
यधपि परमेश्वर अपरिवर्तनशील हुनुहुन्छ, उहाँ परिवर्तनद्धारा कार्य गर्नुहुन्छ। उहाँले परिवर्तनको ग्यारेण्टी गर्नुभयो (उत्पत्ति ८:२२)। वास्तवमा परिवर्तन असल छ तर यसलाई वेवास्ता गरेका कारण हामी यसको शिकार हुन्छौं। परिवर्तनलाई सामना गर्ने एउटै तरिकाचाहिँ योजनाद्धारा हो। योजना भविष्यका परिवर्तनहरुको निम्ति पूर्वतयारी हो। परमेश्वर स्वयम एक असल योजनाकार हुनुहुन्छ (यर्मिया २९:११) र उहाँ हामीबाट योजनाको माग गर्नुहुन्छ (हितोपदेश १६:३)।
हामी धेरैलाई परिवर्तन मन पर्दैन तर हामी कोहि पनि परिवर्तनबाट उम्कन सक्तैनौं। हामीलाई समय, अवस्था, परिस्थिति र मानिसहरु परिवर्तन भएको मनपर्दैन किनकि यसले हामीलाई असुरक्षित अनुभूति गराउँदछ ।
तर परिवर्तनको बिचमा पनि परमेश्वरमाथिको हाम्रो आशा र भरोसा परिवर्तन नहुनु नै विश्वास हो। जब अब्राहामलाई परमेश्वरले आफ्नो देश र कुटुम्बलाई छाडेर उहाँले देखाउनुहुने सहरमा जाने आज्ञा दिनुभयो तब उनलाई त्यो सहर कस्तो हुनेछ, त्यहाँका मानिस कस्ता हुनेछन, त्यहाँको खेतीपाती, मौसम, जीवनशैली कस्तो हुनेछ, त्यस विरानो ठाउँमा जीवन कति सहज होला केहि ज्ञान थिएन र यो उनको निम्ति निकै नै चुनौतीपूर्ण परिवर्तन थियो। मानिस स्वभावैले आफ्नो सहजिय क्षेत्र छोड्न मन पराउँदैन। धेरै पटक मण्डली पनि एउटा असल हराभरा, सुसजित, रमणीय, सुन्दर ठाउँ र भवनमा लामो समयदेखि सेवासंगती र आराधना गर्दै आइरहेको हुदाँ उनीहरुको तनमन त्यहि ठाउँसँग जोडिसकेको हुन्छ। परमेश्वरको उपस्थितिभन्दा पनि बढि त्यस ठाउँसँग उनीहरुको आत्मियता भैसकेको हुन्छ।
तर प्रियहरु! जसै अब्राहामले परिवर्तन स्विकारे, परमेश्वरको आज्ञा पालना गरे र आफ्नो सहजिय क्षेत्रबाट निक्ले उनले कल्पनै गर्न नसक्ने आशिष प्राप्त गरे।
आज हामीलाई चुनौती छ, के हामी त्यस परिवर्तनलाई स्विकार्न तयार छौं? के हामी मरुभूमिको बिचमा परमेश्वरमा भरोसा गर्न तयार छौं?
यसकारण परिवर्तनलाई स्विकार्नु हाम्रो लागी बुद्धिमानी हुन्छ। वास्तवमा जिवन नै परिवर्तनहरुको शृंखला हो। हामी आफ्नो आमाको गर्भबाटै परिवर्तनलाई अनुभूति गरिरहेका हुन्छौं र यसलाई मृत्युसम्मै र मृत्युपछि पनि अनुभव गर्नेछौं। यसकारण पावल भन्छन्,
"हेर, म तिमीहरूलाई एउटा रहस्य भन्दछु, हामी सबै सुत्दैनौं, तर हामी सबैको परिवर्तन हुनेछ, एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन्। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ।" - १ कोरिन्थी १५:५१-५२
यसकारण हामीले मृत्युसम्मै र त्यसपश्चात पनि परिवर्तनको अनुभूति गर्ने कुरा पक्का हुँदछ।
हरेक पल, हरेक समय, हरेक वर्ष परिवर्तन जारी छ। चाहे तपाई यसलाई स्वीकार्नु होस या इन्कार गर्नुहोस् परिवर्तनको प्रक्रिया चलिरहन्छ।
- जिवनको दुईवटा शक्तिहरु समय र परिवर्तन हो जसलाई हामी नियन्त्रण गर्न सक्दैनौं।
- समय र परिवर्तन जिवनको दुईवटा कारकहरु हुन जसलाई व्यवस्थापन गर्न निकै कठिन छ।
परमेश्वर योजनाको माग गर्नुहुन्छ :
"सल्लाह लिएर योजनाहरु बना...." - हितोपदेश २०:१८
"तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे, र तेरा योजनाहरू सफल हुनेछन्।" - हितोपदेश १६:३
यस खण्डले स्पष्ट रुपमा हामीसँग योजना हुनुपर्ने बताउँछ किनकि योजना सफल हुन पहिला हामीसँग योजना हुनुपर्छ। योजना परमेश्वरमा विश्वास कमजोर हुनुको लक्षण होइन तर योजनाले विश्वासलाई प्रतिबिम्बित गर्दछ । यदि एउटा इशाईले परमेश्वरमा भरोसा गर्दछ भने उसले गर्ने काममा परमेश्वरले साथसहयोग दिनुहुन्छ भन्नेमा ऊ निर्धक्क हुन्छ र यसै विश्वासको आधारमा उसले योजना कोर्दछ। कसैले भन्दछ कि 'परमेश्वरमा विश्वास नगर्नेले योजना बनाउँछ' तर त्यसो होइन तपाई परमेश्वरमा विश्वास गर्नुहुन्छ यसकारण योजना बनाउनुहुन्छ र त्यस योजनालाई उहाँमा सुम्पनुहुन्छ। तपाई जब प्रार्थनामा कुनै कुरा परमेश्वरसँग माग्नुहुन्छ तब तपाई खाली हात उहाँकहाँ उपस्थित नहुनुहोस् । तपाईसँग योजना होस्। यसले तपाई आफ्नो मागप्रति कति गम्भीर हुनुहुन्छ भन्ने कुरालाई दर्शाउँछ र उहाँले तपाईको योजना सफल पार्नुहुनेछ।
हामीसँग कस्तो योजना हुनुपर्छ?
हितोपदेशक भन्छन्, "मानिसको हृदयमा धेरै योजनाहरु हुन्छन्, तर परमप्रभुकै उद्धेश्य विजयी रहन्छ" - (१९:२१)।
परमेश्वरको इच्छा र योजना अनुरुको हाम्रो योजनाले हुनुपर्छ। यो हाम्रो स्वार्थ र फाइदाको आधारमा होइन तर परमेश्वरको वचनको आधारमा यो रचिएको हुनुपर्छ।
"लगनशीलको योजनाहरुले लाभ गराउनेतर्फ उन्मुख गराउँछ, त्यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्छ" - हितोपदेश २१:५
हितोपदेश ६:१८ मा परमप्रभुले घृणा गर्नुहुने सात वटा कुराहरु टिपोट गरिएको छ जसमध्ये चौंथो चाहिँ 'दुष्ट योजना रच्ने हृदय' हो।
योजना के हो?
- योजना पूर्वतयारी हो किनकि परिवर्तन निश्चित छ।
बाइबलले भन्दछ,
"तापनि ग्रीष्म ऋतुमा त्यसले अन्नको भण्डार तयार गर्छ र कटनीको समयमा आफ्नो खानेकुरो सञ्चय गर्छ।" - हितोपदेश ६:८
अब यस खण्डले हामीले कमिलाबाट पनि योजना र पूर्वतयारीको विषयमा सिक्नुपर्ने कुरा बताउँछ :
कमिलाले ग्रीष्म ऋतुमा अन्न र खानेकुरा सञ्चय गरेर जाडो यामको निम्ति तयारी गर्दछ किनकि यसलाई थाहा छ परिवर्तन निश्चित छ, समय फरक हुनेछ, खानेकुरा पाउन कठिन हुनेछ, मौसम परिवर्तन हुनेछ। तिनीहरुले केवल आफ्नो निम्ति मात्र होइन तर आउँदो पुस्ताको निम्ति पनि अन्न सञ्चय गर्दछ।
हितोपदेशकले पुन भन्दछ,
"ग्रीष्म ऋतुमा अन्न जोहो गर्ने छोरो बुद्धिमान् हो, तर जो फसलको बेला सुत्छ त्यो बेइज्जत ल्याउने छोरो हो।" - (१०:५)
धेरै इशाईले मत्ती ६:२५-३४ खण्डलाई गलत रुपमा बुझेका हुन्छन्। त्यहाँ भोलीको फिक्री नगर भनिएको छ तर हामी धेरै जना चाहिँ भोलीको निम्ति तयारी गर्दैनौं र भविष्यको योजना कोर्दैनौ । वास्तवमा त्यहाँ गहिरीएर हेर्ने हो भने यो पनि भनिएको छ, 'आकाशका चराचुरुङ्गीलाई हेर....' (६:२६)।
प्रियहरु ! ख्रीष्ट हामीले चराचुरुङ्गीबाट केहि गम्भीर कुरा सिकेको चाहनुहुन्छ। "चराचुरुङ्गीहरुले न त बिउ छर्छन्, न अन्न कटनी गर्छन्, न भकारीमा बटुल्छन्.." भन्नुको तात्पर्य तिनीहरु आल्छी हुन्छन् भन्न खोजिएको होइन । उनीहरु निक्कै महेनती हुन्छ र हरेक परिस्थिति र परिवर्तनको निम्ति तम्तयार रहन्छ।
के तपाईलाई थाहा छ, चराहरुको प्रजातिमध्ये कमन स्फिट (common swift) चराले सबैभन्दा लामो दुरी र समयको बँसाई सराई गर्दछ : यिनीहरुले युनाइटेड किंगडमबाट अफ्रिकासम्म लगभग २२५३० कि.मी को दुरी लगभग १० महिना लगाएर पार गर्दछ।
यति लामो र कठिन बँसाई सराई किन?
परिवर्तनको तयारी : युकेमा जाडोयाममा यिनीहरु चिसो मौसम र आहाराको कमिले बाँच्न सक्तैन यसकारण यिनीहरु जाडोयाम अफ्रिकाको न्यायनोपनमा कटाउन यति लामो दुरीको बँसाई सराई गर्ने गर्छन्।
यस्ता चराचुरुङ्गीहरुबाट हामीले के सिक्न सक्छौं?
तयारी कठिन हुन सक्छ तर यसको फल निक्कै सार्थकमय हुनेछ। तपाईको हरेक मेहेनत र परिश्रमको यसले हिसाब बुझाउनेछ।
यदि कुनै स्फिट चरा परिवर्तनको निम्ति तयारी हुन इन्कार गर्दछ भने - बसाई सराई गर्दैन भने त्यस चरा चिसो र आहाराको कमिले मर्नेछ, त्यो परिवर्तनको शिकार हुनेछ।
योसेफ एक असल योजनाकार थिए। उनले अनिकालको निम्ति गरेका तयारीका कारण मिश्र र अन्य देश बाँच्न सफल भयो। आज परिवारमा, मण्डलीमा र राष्ट्रमा यस्ता असल योजनाकारको आवश्यकता छ ।
प्रियहरु! अनिकाल आउनेछ, समय सधैं एकनास हुनेछैन, कठिन समयहरुको सामना गर्नुपर्ने हुन्छ, त्यस्तो अवस्थाहरुमा तपाईलाई तपाईको तयारीले बचाउनेछ।
मध्ययुगीन समयमा कुनै पनि राजकुमारले (Medieval prince) हरेक क्षेत्रहरुमा दक्षताहासिल गर्नुपर्दथ्यो। उनलाई शिक्षा, भाषा, युद्धकला, घोडसवार, सिकार गर्ने, राजनिति र अन्य क्षेत्रहरुमा भरिपुर्ण ज्ञान हुन अनिवार्य थियो। यो चाहिँ अनिश्चितता र परिवर्तनको कारण भविष्यको निम्ति तयारी थियो। कुनै पनि समय जुनसुकै उमेरमा राजकुमार राजा हुनुपर्ने हुन्छ। कुनै पनि समय शत्रुसँग लडाइँमा होम्मिन्नुपर्ने हुन्छ। ती सम्पूर्ण तयारीले भबिष्यका राजाको ज्यान बचाउँन सक्छ।
प्रियहरु हामी कति तयार छौं?
- योजना सडकको नक्सा हो जसद्धारा तपाई आफ्नो गन्तव्यमा पुग्न सक्नुहुनेछ।
जसरी बिनानक्सा घर बन्न सक्दैन, त्यसरी नै तपाई योजनाबिना आफ्नो गन्तव्यमासम्म पुग्न सक्नुहुन्न।
"हामी असफल हुन योजना बनाउँदैनौ तर योजना बनाउन असफल हुन्छौं" - डा. माइल्स मुनरोइ
प्रियहरु ! यदि तपाई ऋणमुक्त हुन चाहनुहुन्छ भने यी कुरा तपाईले गर्नुहोस :
बिनायोजना ऋण नलिनुहोस। यदि तपाईसँग ऋण कसरी तिर्ने योजना छैन भने ऋण नलिनुहोस। यसकारण कुनै बैंकले तपाईलाई बिनायोजना कर्जा दिँदैन। यदि संसारको एउटा सानो संस्थाकहाँ तपाई बिनायोजना केहि रकमको माग गर्न सक्नुहुन्न भने सारा ब्रह्माण्डको सृष्टिकर्ता राजाहरुका पनि महान राजाकहाँ तपाई कसरी बिना योजना रित्तो हात आफ्नो माग राख्न सक्नुहुन्छ?
यसकारण बाइबलले भन्दछ,
"परमप्रभुको सामु कोही रित्तै हात देखा नपरोस्।" - व्यवस्था १६:१६
यसल खण्डले भलै भेटी, दंशाश र बलिदानको विषयमा बोल्दछ, यधपि परमेश्वरकहाँ बिना योजना रितो हात लिई जानु हाम्रो निम्ति लज्जास्पद कुरा हो भनि बुझ्नुपर्छ।
- योजना रणनीति हो।
नेपोलियनको आफ्नो मनपर्ने सेनापतिसँग अग्लो स्थानमा बसेर लडाइँ हेर्ने बानी थियो। जसै उसले लडाइँ हेरिरहेको बेलामा उसको विष्लेषणात्मक विवेकले छिटो-छिटो लडाइँ जित्न सक्ने मुख्य बुँदाहरु देखाउँथ्यो ।
हामीले पनि नेपोलियनले जस्तै त्यो माथिल्लो स्थानमा बसेर हाम्रो जिवनलाई नियाल्नु पर्छ र स्पष्ट रणनीति बनाउनु पर्छ। हामीले यस २०७९ साल पनि यस्ता कयौं विश्वासका लडाइँहरु लडनुपर्ने छ, हितोपदेशकले भनेझैं 'युद्ध गर्नका निम्ति तँलाई रणनीति चाहिन्छ' (२४:६)।
KR MINISTRY
https://www.facebook.com/KR-
Subscribe to our youtube Channel:

Comments
Post a Comment