Change is good
नेल्सन मण्डेला- "सबैभन्दा कठिन कुरा समाज परिवर्तन गर्नु होइन तर आफैलाई परिवर्तन गर्नु हो। "
एल.टोलस्टोय - "सबैले मानवता बदल्ने सोच्छन् तर आफुलाई बदल्ने कोहि सोच्दैनन्। "
परमेश्वर अपरिवर्तनीय (immutability) हुनुहुन्छ (मलाकि ३:६) तर उहाँ परिवर्तनद्धारा कार्य गर्नुहुन्छ। यदि हामी परिवर्तनलाई स्विकार्दैनौं भने यसको सिकार हुन्छौं।
हामी धेरैलाई परिवर्तन मन पर्दैन किनकि हामी आफ्नो आरामदायी क्षेत्र छोड्न चाहदैनौं । हामी परिवर्तनबाट असुरक्षित महशुस गर्छौं। हामीलाई त्यस आरामदायी क्षेत्रमा सुतेर सपना देख्न मन पर्छ। हामी त्यस आरामदायी क्षेत्रमा संसार परिवर्तन गर्ने ठूला-ठूला सपना देख्छौ तर परिवर्तनलाई स्विकार्न चाहदैनौं।
"परिवर्तनलाई इन्कार गर्ने व्यक्ति यसको सिकार हुनेछ।"
सृष्टिको प्रणालीभित्र परमेश्वरले परिवर्तनलाई स्थापना गर्नुभयो यसकारण सृष्टिमा कुनै पनि सृष्टि परिवर्तनबाट भाग्न सक्दैन।
“पृथ्वी रहुञ्जेल बीउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, र दिन र रातको अन्त हुनेछैन।”- उत्पत्ति ८:२२
जिन्दगीमा केहि कुरा निश्चित (ग्यारेन्टी) छ भने त्यो परिवर्तन हो। परमेश्वरले परिवर्तनको ग्यारेन्टी गर्नुभयो।
"समय र परिवर्तन जीवनको इट्टा र मसला (सिमेन्ट र बालुवाको संयोजन) हो, यसलाई कसरी प्रयोग गर्नुहुन्छ यो तपाईमा भर पर्छ" - माइल्स मुनरोइ
तपाईको सपनालाई साकार पार्न सर्वप्रथम तपाईले आफैलाई परिवर्तन गर्न तयार हुनुपर्छ। तपाईले हिजो जे गरिरहनुभएको थियो जसले तपाईलाई आफ्नो सपनाबाट टाढा लगिरहेको थियो, भोली तपाईले त्यसलाई गर्न छाड्नुपर्छ।
यदि तपाई आफ्नो शरीरमा परिवर्तन देख्न चाहनुहुन्छ तर तपाई आफ्नो खाने आदतमा लापरवाह हुनुहुन्छ भने, जे पायो त्यही खानुहुन्छ भने तपाईले पहिला आफैलाई परिवर्तन गर्नुपर्छ।
जब अब्राहाम आफ्नो आरामदायी क्षेत्रमा, आफ्ना मानिसहरुको बिच प्रशस्ततामा जिइरहेका थिए, तर
"परमप्रभुले अब्रामलाई भन्नुभयो, “तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा।" - उत्पत्ति १२:१
ओहो! यो त निकै अप्ठ्यारो र कठिन परिवर्तन भयो। होइन र?
प्रियहरु! परिवर्तन सधैं राम्रो नहुन सक्छ तर यसले ल्याउने परिणाम असल छ।
जब अब्राहामले परमेश्वरले आज्ञा गर्नुभएको परिवर्तनलाई स्विकारेर आफैलाई परिवर्तन गरे तब उनले मानव समझले कल्पना गर्न नसक्ने अचम्म र उदेकका काम देखे।
प्रियहरु! २०७८ सालमा परमप्रभुले हामी धेरैलाई परिवर्तनको आज्ञा दिनुभयो तर सायद हामीले त्यो निक्कै अप्ठयारो र कठिन भएको कारण स्विकार्न सकेनौं। बितेका सालमा हामी धेरैले परमप्रभुले गर्न चाहिरहनुभएको उदेकको कामहरु देख्न सकेनौं, उहाँले दिन चाहिरहनुभएको आशिषलाई अनुभूति गर्नबाट वञ्चित भयौ । किन यस्तो भयो? किनकि हामीले परिवर्तलाई इन्कार गर्यौ।
इस्राएलीहरु जब यर्दन नदि आइपुगे तब तिनीहरुले परमप्रभुले गर्न गइरहनुभएको शक्तिशाली र उदेकको काम देख्न अघि उनीहरुमा परिवर्तन आउन आवश्यक थियो यसकारण यहोशूले मानिसहरुलाई भने,
“तिमीहरू आफैलाई पवित्र बनाओ, किनकि भोलि तिमीहरूका बीचमा परमप्रभुले उदेकका काम गर्नुहुनेछ।”- यहोशू ३:५
परमप्रभुले हामीलाई २०७८ सालमा "आफैलाई पवित्र बनाओ..., कुलतबाट टाढा बस भन्नुभयो..., गलतसंगतबाट टाढा बस भन्नुभयो...., ऋणको बोझले नदबिओ भन्नुभयो....,अरुको आलोचना गर्न बन्द गर भन्नुभयो..., जिब्रोलाई वशमा राख भन्नुभयो...,विलाशिताको जिवन त्याग...संसारबाट अलग बस...यस्ता धेरै परिवर्तनको आज्ञा दिनुभयो।
सायद यो परिवर्तन हाम्रो लागि निकै कठिन भएको हुनुपर्छ। परमेश्वरले २०७९ एउटा अवसरको रुपमा हामीलाई प्रदान गर्नुभएको छ। अझै समय छ। त्यहाँ सकरात्क र असल परिवर्तनको लागि ढिलो भन्ने कुरा छैन्।
एक पटक एउटा जवान केटाले ख्रीष्टलाई ग्रहण गरेर नजिकैको मण्डलीमा सदस्यताको निम्ति आवेदन दिन्छ। मण्डलीको डिकनसँगको वार्तालापमा उनलाई प्रश्न सोधियो, "के ख्रीष्टलाई ग्रहण गर्न अघि तपाई पापी हुनुहुन्थ्यो?"
जवान केटा : "हो! म थिए"
डिकन : "के तपाई अझै पापी नै हुनुहुन्छ?"
जवान केटा : "वास्तवमै तपाईलाई भन्नुपर्दा, म एकदमै ठूलो पापी भएको महसुस गर्छु। "
डिकन : "त्यसोभए तपाईले आफूमा त्यस्तो के साँचो परिवर्तन अनुभव गर्नुभयो त?"
जवान केटा : "पहिले म पापको पछि भाँग्ने पापी थिएँ, तर अब मैले मुक्ति पाएको छु। अहिले पापबाट भाग्ने पापी भएको छु"
उनलाई मण्डलीको सदस्यको रुपमा ग्रहण गरियो। धेरैचोटी सानो परिवर्तनले ठूलो फरक पार्छ। सानो भन्दा सानो परिवर्तनलाई हामीले नजरअन्दाज गर्नु हुँदैन।
१०० वर्ष उमेरभन्दा माथी बाँच्ने मानिसहरुमा एक सर्वेक्षण गरिएको थियो। यस सर्वेक्षणले ती मानिसहरुमा तिनीहरुको दिर्घायुको लागि एकै खाले विशेषताहरु भएको पत्ता लगायो। ती विशेषताहरु यस प्रकार थियो:
- उद्धेश्य
- सकारात्मक दृष्टिकोण वा विश्वास
- परिवर्तन वा नोक्सानलाई सम्हाल्न सक्ने क्षमता
तिनीहरुले परिवर्तन जीवनको वास्तविकता हो भनी बुझे। जब हामी यस कुरालाई बुझ्छौ, परिवर्तनबाट हामी डराएर भाग्ने होइन तर यसबाट लाभ उठाउनतिर लाग्छौ।
"परिवर्तनबाट भाग्नु मुर्खता हो, परिवर्तनको निम्ति तयार रहनु बुद्धिमानी हो"
"जसले परिवर्तनलाई स्विकार्दछ, उसले परिवर्तनलाई व्यवस्थापन गर्न सक्छ।"
"परिवर्तन ईश्वरीय व्यवस्था हो"
परिवर्तन शैतानिक कुरा होइन तर ईश्वरीय व्यवस्था हो। यो सृष्टिको नियम हो।
येशूख्रीष्टले भन्नुभयो,
"अनि कसैले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्दैन, नत्रता त्यस दाखमद्यले छालाका मशकहरू फुटाइदिन्छ, र दाखमद्य र मशक पनि नष्ट हुन्छन्। तर नयाँ दाखमद्यचाहिँ नयैँ भाँड़ामा हालिन्छ।” - मर्कूस २:२२
प्राचिन समयमा दाखमद्य बाख्राको छालाबाट बनेको मशकहरुमा राख्ने गरिन्थ्यो। नयाँ दाखमद्य फुल्थ्यो र यसले मशकलाई तन्काउने गर्थ्यो। जब नयाँ दाखमद्य पुरानो मशकमा राखिन्छ तब मशकचाँहि तन्किन सक्ने सिमासम्म पहिल्यै तन्किसकेको हुँदा यो फुट्छ।
नयाँ साल आउँछ अनि जान्छ, यदि तपाई यो वर्ष पनि त्यहि पुरानो व्यक्ति हुनुहुन्छ भने, यो वर्ष पनि कुनै फरक हुने वाला छैन्। परमेश्वर यस साल तपाईलाई नयाँ व्यक्ति बनाउन चाहनुहुन्छ तर यदि हामीले आफ्नो पुरानो नराम्रा व्यक्तित्व, जीवनशैली, बिग्रिएका भ्रष्ट विचार, आनीबानी, कुसंगत, फोहोरी जीवनलाई नै लिएर जिउन खोजिरहेका छौं भने हामी नयाँ सृष्टि बन्न सक्दैनौं।
बाइबलले भन्दछ, "यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ" - २ कोरन्थी ५:१७
जबसम्म हामी परिवर्तन हुँदैनौ तबसम्म नयाँ सृष्टि बन्न सक्दैनौं।
"परिवर्नले रुपान्तरण ल्याउँछ"
साँचो परिवर्तन प्रकिया हो, गन्तव्य होइन् ।
"यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू ईश्वरीय स्वभावका सहभागी होओ।" - २ पत्रूस १:४
यस खण्डमा हामी स्पष्ट थाहा गर्न सक्छौं कि परमेश्वर हामी न केवल परिवर्तन भएको चाहनुहुन्न तर ख्रीष्टको स्वभाव र स्वरुपमा रुपान्तरित भएको चाहनुहुन्छ।
परिवर्तन बदँलिनु हो। यो हिजोभन्दा आज फरक देखिनु हो। तर रुपान्तरणचाहिँ कोहि जस्तै बन्नु हो। त्यो कोहि चाहिँ ख्रीष्ट हुनुहुन्छ। हो, प्रियहरु हामी हरेकको लक्ष्य चाहिँ येशूख्रीष्ट जस्तै बन्नु हो।
पावल लेख्छन् ,
"मेरो अनुकरण गर्ने होओ, जसरी म ख्रीष्टको अनुकरण गर्दछु।" - १ कोरन्थी ११:१
परिवर्तनबिना रुपान्तरण असम्भव छ।
"तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्मतिसाथ एउटै चित्तका भएर मेरो आनन्द पूरा गर।
तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो।" - फिल्लिप्पी २:२,५
यहाँ पावल हरेक इसाईको लक्ष्य चाहिँ रुपान्तरित ख्रीष्टको जीवन हो भनि बताउँछन्। यसको निम्ति पहिलो कदम परिवर्तन नै हो।
रुखमा नयाँ पालुवा, हरिया पात आउन र यो जिवन्त देखिन पहिला यसबाट ती सबै पातहरु झर्नुपर्छ। कहिलेकाँहि परिवर्तन कठिन हुन सक्छ, गाह्रो हुन सक्छ तर यसले ल्याउने परिणाम असल हुन्छ।


Comments
Post a Comment