तोडिएको हृदय





तोडिएको हृदय 

आज इशाईलाई सबैभन्दा आवश्यक चाहिँ तोडिएको हृदय हो। यदि हामी हाम्रो जीवनबाट परमेश्वरको साँचो शक्ति प्रवाहित भएको चाहन्छौ भने पहिले हामीमा टुटेको हृदय हुन आवश्यक छ। यदि हामी परमेश्वरद्धारा परिचालित हुन चाहन्छौ भने हाम्रो तोडिएको हृदय हुन आवश्यक छ। बाइबलमा घमण्डी मानिसलाई परमप्रभुले कहिल्यै आफ्नो सेवामा परिचालन गर्नुभएको छैन। परमप्रभुबाट परिचालन हुने कुराको पहिलो योग्यता अथवा माग नै तोडिएको हृदय हो। 

तोडिएको हृदय के हो? 
बाइबलले 'हृदय' शब्दलाई लगभग ८०० पटक उल्लेख गरेको छ। यसैबाट हामीलाई थाहा हुन्छ कि हृदयलाई बाइबलले प्राथमिकता राखेको छ। हिब्रूमा हृदयको अर्थ 'भित्री मनुष्य /मानव' हो र यहि भित्री मानवले मानिसलाई नियन्त्रण गरेको हुन्छ यसकारण बाइबलले भन्दछ,
हितोपदेश ४:२३
"सबै कुराभन्‍दा बड़ी, आफ्‍नो हृदयलाई सुरक्षित राख्‌,  किनभने त्‍यो सारा जीवनको मूल हो"
हितोपदेशकले पूण भन्छन, 
हितोपदेश २७:१९
"पानीमा अनुहार प्रतिबिम्‍बित भएझैँ  मानिसको हृदयमा मानिस प्रतिबिम्‍बित हुन्‍छ"

परमप्रभु नितान्त तोडिएको हृदय चाहनुहुन्छ। तोडिएको हृदय नयाँ हृदय हो। तोडिएको हृदय नम्र हृदय हो। तोडिएको हृदय चूर्ण हृदय हो। तोडिएको हृदय पश्चातापी हृदय हो। तोडिएको हृदय नयाँ आकार प्राप्त गर्ने उत्कट चाहना भएको हृदय हो। तोडिएको  हृदय खाली भाँडो हो जसलाई परमेश्वरले आफ्नो इच्छा अनुरुप परिचालन गर्न सक्नुहुन्छ। 
हन्नाले आफ्नो जीवनमा परमप्रभुको प्रभावशाली र शक्तिशाली कार्य देख्न अघि परमप्रभुलाई आफ्नो तोडिएको हृदय बलिदान स्वरुप चढाउन आवश्यक थियो। जब उनले यो गरिन तब परमेश्वरले उनको वर्षौदेखिको बाझोपनको बन्धनलाई तोडनुभयो। जब हामी परमेश्वरअघि हाम्रो तोडिएको हृदयलाई सुम्पन्छौ, उहाँ हामीलाई प्रेमसाथ जोडनुहुन्छ र नयाँ आकार दिनुहुन्छ। उहाँ हाम्रो तोडिएको हृदय साह्रो मनपराउनुहुन्छ।

किन परमेश्वर तोडिएको हृदय चाहनुहुन्छ? 
भजनसंग्रह ३४:१८
चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्‍छ,  र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्‍छ।

भजनसंग्रह ५१:८, १७
"मलाई हर्ष र उल्‍लास सुन्‍न दिनुहोस्‌,  र तपाईंले चूर्ण पारिदिनुभएका हड्डीहरू आनन्‍दित होऊन्‌"
"तोडिएको आत्‍मा नै परमेश्‍वरको निम्‍ति बलिदान हो।  हे परमेश्‍वर, तोडिएको र पश्‍चात्तापी हृदयलाई तपाईं तिरस्‍कार गर्नुहुन्‍न"

हिब्रू शब्द : शब्बार र ड्वक्वा (shâbar and dâkâh) 
अर्थ : टुक्रा-टुक्रा भएर टुक्रिएको हृदय 

धर्मशास्त्र परमेश्वर तोडिएको हृदय चाहनुहुने कुरामा दुईमत छैन्। अझ भनौ दाऊद राजालाई परमेश्वर तोडिएको चूर्ण हृदय चाहनुहुन्छ भनेर स्पष्ट थाहा थियो। सायद दाऊद आफैमा पनि तोडिएको चूर्ण हृदय भएको कारण हुन सक्छ। 
जब दाऊद राजाले परमेश्वरविरुद्ध गम्भीर पाप गर्छन, परमप्रभुले नातान अगमवक्ताको माध्यमबाट राजालाई उसको पाप जातइदिनुहुन्छ तर जब दाऊदले आफूले परमप्रभु विरुद्ध पाप गरेको थाहा गर्छ, तब उसले परमेश्वरअघि आफैलाई नम्र पारेर भयङकर पश्चाताप गर्दछ। त्यहि पश्चातापमा लेखेका भजले भन्दछ, 
तोडिएको आत्‍मा नै परमेश्‍वरको निम्‍ति बलिदान हो।  हे परमेश्‍वर, तोडिएको र पश्‍चात्तापी हृदयलाई तपाईं तिरस्‍कार गर्नुहुन्‍न।
वास्तवमा बाइबलले दाऊद राजालाई 'परमेश्वरको हृदयअनुसारको मान्छे' उपनाम दिएको छ। 
प्रेरित १३:२२
 उनको विषयमा परमेश्‍वरले गवाही दिएर भन्‍नुभयो, ‘मैले यिशैको छोरो दाऊदलाई मेरो हृदयअनुसारको मान्‍छे पाएँ, जसले मेरा सबै इच्‍छा पूरा गर्नेछ।’
दाऊद कसरी 'परमेश्वरको हृदयअनुसारको मान्छे' थिए? 
दाऊद  'परमेश्वरको हृदयअनुसारको मान्छे' हुनुको कारणहरुमध्ये एउटा कारण चाहिँ उनको तोडिएको हृदय हो। उनले परमप्रभुको विरुद्धमा पाप गरेतापनि उनी परमेश्वरबाट टाढिन सक्तैन थिए, उहाँको प्रेमबाट वञ्चित हुने कुरा तिनको निम्ति अति नै असहनीय थियो, उनले परमेश्वरलाई आफूलाई भन्दा बढि प्रेम गर्थे र त्यति नै विश्वास गर्थे भन्ने कुरामा कुनै दुईमत छैन्, यसकारण जब-जब उनी परमेश्वरको नजरबाट चुके, उनले आफ्नो घमण्डलाई तोडेर नम्रताकासाथ पश्चाताप गरेको छ। 
भजनसंग्रह ५ मा दाऊदले आफ्नो पापपछि दिएका चार वटा प्रतिक्रियाहरु छन्:
- दाऊद परमेश्वरतर्फ फर्कन्छन्  ।
- शूद्धताको निम्ति प्रार्थना (२, ७)।
- पापको स्वीकारोक्ति (३-६)। 
- नविकरणको निम्ति विन्ति (१०-१२)। 


 १९०४, सेप्टेम्बर २९ को दिन इभान रोबर्टसले सेथ जोशुवाले दिएको शक्तिशाली वचन सुने जसमा जोशुवाले भनिरहेका थिए, "प्रभु, हामीलाई झुकाउनुहोस्! प्रभु, हामीलाई तोडनुहोस!" पवित्र आत्माले इभान रोबर्टसको हृदय तोड्न त्यो सरल भनाईलाई प्रयोग गर्नुभयो। 
भोलीपल्ट सोमबार राती उनको बाइबल कक्षाका १७ जना युवाहरुले रोबर्टसलाई यसो भनेको सुनेपछि प्रतिक्रिया दिए, "तपाईले सबै अस्वीकृत पाप त्याग्नुपर्छ; तपाईले कुनै पनि शंकास्पद बानी त्याग्नुपर्छ; तपाईले परमेश्वरको आज्ञापालन गर्नुपर्छ र तपाईले ख्रीष्टलाई सार्वजनिक रुपमा स्वीकार गर्नुपर्छ"
परमेश्वरको आत्मा उहाँको सेवकमा खन्याइयो र शक्तिशाली र प्रभावशाली काम हुन थाल्यो। केवल छ महिनामा त्यहाँ एक लाखले ख्रीष्टलाई ग्रहण गरे। अन्ततः त्यस जागृतिले इङ्गल्यान्ड, आयरल्याण्ड र संयुक्त राज्य-अमेरिकासम्म प्रभाव पार्‍यो। 
तर कुञ्जी यो थियो कि इभान रोबर्टसले पहिले तोडिनुपर्थ्यो।परमेश्वरको अगाडि यस्तै तोडिएको मानिसहरु टिक्छ। 

हामीमा तोडिएको हृदय हुन आवश्यक :
हामीले एक-अर्कालाई चुर्ण हृदयका साथ व्यवहार गर्नुपर्छ। हामीले कसैको न्याय गर्नुहुँदैन। हामीलाई थाहा छैन को व्यक्ति कस्तो अवस्था र परिस्थितिबाट गुज्रिरहेको छ। तपाईको मीठो एक शब्दले उसको आत्मा बाँच्न सक्छ। तपाईको मीठो एक शब्दमा नै तपाईले ख्रीष्टको प्रेम बाँड्न सक्नुहुन्छ। 
आफ्नो रिटायरमेन्टमा, थोमस जेफरसनले भर्जिनियामा एउटा विश्वविद्यालय स्थापना गरे। उनले विधार्थीहरुमाथि विश्वास गर र अनुशासनको कुरामा कठोर भएनन। दुर्भाग्यवश, उनको विश्वास गलत साबित भयो जब विधार्थीहरुको दुर्व्यवहारले दंगा निम्त्यायो र त्यसमा प्राध्यापकहरुमाथि आक्रमण गरियो। अर्को दिन विश्वविद्यालयको समिति र अपमानजनक विधार्थीहरुबिच बैठक राखियो, जसमा जेफरसन एक सदस्य थिए। जेफर्सनले भने, "यो मेरो जीवनको सबैभन्दा पीडादायी घटनाहरुमध्ये एक हो" यति भनेर उनी भावुक हुन्छन् र आँशु झारेर रु थाल्छन्। 
अर्को समिति सदस्यले दंगा गर्नेहरुलाई अगाडी आउन र आफ्नो नाम दिन आग्रह गरे। अचम्म ढंगले लगभग सबैले नाम दिए र पश्चाताप गरे। पछि विधार्थीहरुमध्ये एकले यसरी भने, "त्यो जेफरसनको शब्दहरु थिएन, तर उहाँको आँशू थियो जसले हाम्रो कठोर हृदयलाई छिया-छिया पारिदियो"
प्रियहरु, मानिसको हृदयलाई तोड्न तोडिएकै हृदय चाहिन्छ। धेरैपटक हामी इशाईहरु पनि क्रोध, रिसाहा, घमण्ड, बदलाको भावनमा प्रतिक्रिया दिइरहेका हुन्छौ तर यसले केवल अर्को व्यक्तिलाई रिस मात्र उठाउँछ, उसको हृदय तोडिदैन तर यदि साच्चैँ हामी कसैको हृदयलाई कोमलतामा बदल्न चाहन्छौ भने पहिले हामीले आफ्नो हृदयलाई नम्रता र कोमलतामा झार्नुपर्छ। 
फिलिप्पी २:३
"स्‍वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्‍दा श्रेष्‍ठ ठान"
यस्तो त्यहि मानिसले गर्न सक्छ जसको हृदय तोडिएको छ।  मण्डलीको सुन्दरता नै यसैमा छ। परमेश्वर भयङ्कर अन्यभाषा बोल्ने, चमत्कारी कार्य गर्ने, अगमवाणी बोल्ने, भविष्यवाणी गर्ने मण्डली भन्दा पनि प्रेमले भरिएको मण्डली जहाँ एकले अर्कोलाई नम्रता र आदरले व्यवहार गर्दछ, जहाँ एउटा विश्वासीको सुखदुखमा सधैं अर्को विश्वासी हुन्छ, जहाँ ख्रीष्टको प्रेममा विश्वासीजनहरु एक परिवार जसरी रहदँछ, परमप्रभु यस्तो मण्डली मन पराउनुहुन्छ। 
यहाँ मण्डलीमा चंगाइ, अगमवाणी, वरदान, अन्यभाषा नै आवश्यक छैन भन्न खोजीएको अवश्य होइन तर यी सबै भएर मण्डली प्रेमको, नम्रताको, एकले अरकालाई गरिने आदिको कुरामा खोक्रो छ भने त्यो अपुरो र खाली मण्डली हुन जान्छ, त्यो ख्रीष्ट र उहाँको प्रेम केन्द्रित मण्डलीभन्दा पनि ती कुराहरुलाई बढी रुचाउने मण्डली हुन पुग्छ। 



    KR MINISTRY

Follow us on Facebook :

https://www.facebook.com/KR-Ministry-100603994682704/

Subscribe to our youtube Channel:

https://youtube.com/channel/UCrEdov-cW_27tu48OuQVXKQ

Comments