ख्रीष्टमा म को हुँ? (चौंथो भाग: राजकीय पुजाहारीगिरी)

ख्रीष्टमा म को हुँ? 
हाम्रो चिनारी: राजकीय पुजाहारीगिरी 


पुरानो नियममा, परमेश्वरले लेवी कूललाई पुजाहारीको रुपमा चुन्नुभयो र यहूदाको कूललाई राजाको रुपमा। 
पुरानो नियममा कुनै व्यक्ति राजा र पुजाहारी दुवै हुन सक्तैन थियो। 
हामीलाई याद छ कसरी उज्जियाह राजाले जबरजस्तीका साथ मन्दिरमा परमेश्वरको निम्ति धुप बाल्न खोजेका थिए तर त्यस कामको निम्ति परमप्रभुले राजालाई होईन तर पुजाहारीलाई चुन्नुभएको र ग्रहण गर्नुभएको थियो । 
तर पूजाहारी अजर्याह र परमप्रभुका अरू असी जना साहसी पूजाहारीहरू राजा उज्‍जियाहको पछिपछि गई तिनको सामना गरेर तिनलाई भने, “हे उज्‍जियाह, परमप्रभुको निम्‍ति धूप बाल्‍ने काम तपाईंको होइन। यस कामको निम्‍ति त अर्पण गरिएका हारूनको वंशका पूजाहारीहरू छन्‌। पवित्रस्‍थानबाट हटिजानुहोस्‌, किनभने तपाईंले विश्‍वासघात गर्नुभएको छ। परमप्रभु परमेश्‍वरबाट तपाईंले केही कदर पाउनुहुनेछैन।” 
२ इतिहास २६:१७-१८
तब यस गलत कार्यको निम्ति परमेश्वरले उज्जियाह राजालाई कुष्ठरोगद्धारा दण्ड दिनुभएको छ। उज्जियाहले रोगमात्र होइन तर आफ्नो सम्पूर्ण राजगद्दी पनि गुमाएका छन्। हामीले परमेश्वरको व्यवस्था, प्रणाली र निषेधाज्ञालाई आदर र शिरोपर गर्नुपर्छ। 
राजा शावलले पनि पुजाहारीको सट्टा आफुले बलिदान दिएर परमेश्वरको आज्ञा उल्लंघन गरेका कारण उहाँले शावललाई त्याग्नुभयो (१ शमूएल १३:९-१३)।
परमेश्वरले राजा र पुजाहारीको आ-आफ्नो जिम्मेवारीलाई विशेष गम्भीरताकासाथ लिनुहुने कुरालाई यहाँ स्पष्ट रुपमा देख्न सकिन्छ। धेरैपटक हामी यो कुरालाई भुलिरहेका हुन्छौं कि जसले दिन सक्नुहुन्छ, उहाँले त्यो खोस्न पनि सक्नुहुन्छ। 
हाम्रो राजकीय पद र प्रतिष्ठाले परमेश्वरप्रतिको नम्रता झल्कनुपर्छ। चाहे राजा नै किन नहोऔ, हामी परमेश्वरप्रति नम्र अझै नम्र हुनपर्छ।
वास्तवमा परमेश्वरको सन्तान राजा र पुजाहारी दुवै हुने उहाँको योजना थियो। तर यसको निम्ति पुरानो नियम ठिक समय थिएन्। 

येशूख्रीष्ट राजा र उच्च प्रधान पुजाहारी :
येशूख्रीष्ट यहूदाको कूलबाट हुनुहुन्थ्यो यसकारण उहाँ पुजाहारी पछि तर राजा पहिला हुनुहुन्छ। 
परमेश्वर धर्म होइन तर राज्य चाहनुहुन्छ र त्यस राज्यलाई येशूख्रीष्टले स्थापना गर्नुभयो यसकारण उहाँले भन्नुभयो,
 “मेरो राज्‍य यस संसारको होइन। मेरो राज्‍य यस संसारको हुँदो हो त मेरा सेवकहरू मेरो निम्‍ति लड्‌नेथिए, र म यहूदीहरूका हातमा पर्नेथिइनँ। तर मेरो राज्‍य यस संसारको होइन।”- यूहन्ना १८:३६
अझ थप ख्रीष्टले “परमेश्वरको राज्‍य आओस्‌” (मत्ती६:१०) भनी  प्रार्थना गर्न सिकाउनुभयो। 
ख्रीष्टले आफ्नो पहिलो सार्वजनिक प्रचारमा भन्नुभयो, 
 “पश्‍चात्ताप गर, किनभने स्‍वर्गको राज्‍य नजिक आइपुगेको छ” (मत्ती ४:१७)।
यी खण्डहरुले स्पष्ट पार्दछ कि परमेश्वर राज्य र राजा चाहनुहुन्छ। यसकारण ख्रीष्टद्धारा हामी हरेक त्यस राजकिय घरानाका सन्तान ठहरिएजका छौं। 
येशूख्रीष्ट राजकिय प्रधान पुजाहारी हुनुहुन्छ ।
हिब्रूका लेखकले येशूख्रीष्टलाई मल्कीसेदेकसँग दाँजेका छन्। 
हिब्रू ७:११-१४
११. अब यदि लेवीको पूजाहारी पदद्वारा सिद्धता प्राप्‍त हुँदो हो त (किनभने यसैको आधारमा मानिसहरूलाई व्‍यवस्‍था मिलेको थियो) हारूनको दर्जाबमोजिम नै नभएर फेरि मल्‍कीसेदेकको दर्जाअनुसार अर्को पूजाहारी खड़ा हुनलाई के जरूरत पर्थ्‍यो?
१२. किनकि पूजाहारी पद बद्‌लिँदा व्‍यवस्‍था पनि बद्‌लिनैपर्छ।
१३. किनकि जसको विषयमा यी कुराहरू भनिएका हुन्‌, उहाँ त अर्कै कुलका हुनुहुन्‍छ, जुन कुलबाट कसैले पनि कहिल्‍यै वेदीमा सेवा गरेको छैन।
१४. किनभने यो प्रष्‍टै छ, कि हाम्रा प्रभु त यहूदाको कुलबाट उत्‍पन्‍न हुनुभएको हो। यस कुलको विषयमा पूजाहारीहरूका सम्‍बन्‍धमा मोशाले केही पनि भनेका छैनन्‌।

 मल्कीसेदेक को थिए? 
उत्पति १४:१८-२०
मल्कीसेदेकको "धार्मिकताको राजा हुन्छ" जो शालेमका राजा (शान्ति, मिलाप) थिए र उनी सर्वोच्च (एल एलियोन) परमेश्वरका पूजाहारी थिए (उत्पति १४:१८)।
हिब्रूका लेखकले मलकीसेदेकलाई येशूख्रीष्टको पूर्व अवतार (pre-incarnate) को रुपमा प्रस्तुत गरेका छन् (हिब्रू ७:३)।

येशूख्रीष्टद्धारा हामी राजकिय पुजाहारीगिरी :
१ पत्रूस २:५ ले भन्दछ, 
"तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको दृष्‍टिमा ग्रहणयोग्‍य आत्‍मिक बलिदान चढ़ाउने पवित्र पूजाहारीगिरीको निम्‍ति जीवित पत्‍थरहरूझैँ आत्‍मिक घर बन्‍दैजाओ"
ख्रीष्टको पहिचान जे हो, त्यस पहिचान हामीले प्राप्त गरेका छौँ। परमेश्वरले हामी धर्मी भएको कारण हामीलाई चुनेर आफ्नो परिवार बनाउनुभएको होइन तर हाम्रो नयाँ पहिचानको कारण हामीलाई स्विकार्नुभएको हो। परमेश्वर र पापको कहिल्यै सम्झौता हुन सक्दैन यसकारण क्रूसमा येशूख्रीष्ट परमेश्वर पिताबाट त्यागिनुभयो किनकि उहाँले तपाई र मेरो पापलाई बोकिरहनुभएको थियो। यस इन्कारलाई सहन नसकेकाले ख्रीष्टले 'पिता मलाई किन त्याग्नुभयो' भनी प्रश्न गर्नुभयो।
प्रियहरु! यस नयाँ पहिचानको निम्ति ख्रीष्टले ठूलो मूल्य चुकाउनुभएको छ। कृपया यसलाई सम्हालेर राख्नुहोस्। यसमा दाग लाग्न नदिनुहोस्। तपाई गलत हुनु भनेको ख्रीष्टको पहिचानमा दाग लाग्नु हो। सधैं नयाँ जीवन र पहिचानको निम्ति उहाँलाई धन्यवाद दिनुहोस्। 

राजकिय पुजाहारीगिरी हुनुले हाम्रो जीवनमा अर्थ बोकेको छ? 
हाम्रो जीवनमा यसको के महत्व छ? 

- राजकिय अस्तित्व (Royal Existence):
"अनि तिमीहरू परमप्रभुका पूजाहारी भनिनेछौ, तिमीहरूलाई हाम्रा परमेश्‍वरका सेवक नाउँ दिइनेछ। तिमीहरूले जाति-जातिहरूका धन-सम्‍पत्ति खानेछौ, र उनीहरूकै धनमा तिमीहरूले गर्व गर्नेछौ"- यशैया ६१:६
परमेश्वर हामी हरेक अलग गरिएका जाती भएको चाहनुहुन्छ । यसको मतलब के हो? 
वास्तवमा, पुराजारीगिरी (hierateuma/ἱεράτευμα ) को मूल अर्थ नै शुद्ध पारी अलग्याइएको शरीर हो। 
अलग हुनुको अर्थ पवित्र र शुद्ध हुनु हो। जसरी पुरानो करारमा पुजाहारीले आफैलाई हरेक अशुद्ध कुराहरुदेखि अलग गर्नुपर्थ्यो त्यसरी नै हामीले आफैलाई संसार र संसारिक कुराहरु जसले हामीलाई छिट्टै परमेश्वरदेखि टाढा लिएर जान्छ, त्यसदेखि अलग हुनु हो। हामी इशाईहरुलाई, उहाँको सेवा गर्नको लागि यस जीवनमा विशेष भूमिका दिइएको छ। हामी भ्रष्ट र अन्धकारबाट अदभुत र प्रकाशको राज्यमा परिणत भएका छौं। येशूका चेलाहरुको रुपमा, हामीले हाम्रो पहिचानलाई अँगाल्नुपर्छ जुन ख्रीष्टले हामीलाई दिनुभयो, जुन परमेश्वरको अनुग्रह र पवित्र आत्माको उपस्थितीद्धारा सशक्त भई पवित्र जीवन जिउने हो।

- राजकिय प्रभाव (Royal Influence) :
प्रत्रूस भन्छन्, "... उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक" - १ पत्रूस २:९
हामी परमेश्वरद्धारा चुनिएका उहाँको राज्यको राजाहरु भएका कारण हामीसँग तीनवटा महत्वपूर्ण भूमिका र जिम्मेवारीहरु छन् :
पहिलो, अनन्तकालसम्म निरन्तर जीवित परमेश्वरको आराधना, उपासना र सेवा गर्नु। 
दोस्रो, हरेक ख्रीष्टको चेलाहरुलाई निर्माण गर्नु जुन भूमिका हामी सबै येशूख्रीष्ट हाम्रो प्रभुमा पूर्ण नहुँदासम्म कायम रहनेछ। 
तेस्रो, परमेश्वरले हाम्रो लागि के गर्नुभएको छ घोषणा गरेर अरुलाई अन्धकारबाट उहाँको अदभुत प्रकाशमा ल्याउन परमेश्वरको भाँडो बन्नु। 
शाही राजकिय पुजाहारीको रुपमा हाम्रो जिम्मेवारीलाई पूर्ण आत्मसमर्पण चाहिन्छ। जब परमेश्वरले यशैया अगमवक्तालाई आफ्नो महिमा घोषणा गर्नुभयो, अगमवक्ताले आफूलाई पूर्ण रुपमा समर्पण गरे (यशैया ६:८)।
दमस्कस बाटो तर्फको यात्रामा पावलले सम्पूर्ण अस्तित्व ख्रीष्टमा समर्पण गर्दछ (प्रेरित ९:१५-१९)।
परमेश्वर आफ्नो राजकिय पुजाहारीहरुबाट पूर्ण समर्पणता चाहनुहुन्छ। 

- राजकिय विनिमय (Royal Exchange) :
राजकिय एउटा संस्कारचाहिँ तपाई हरेक पटक राजालाई भेट गर्न जाँदै हुनुहुन्छ भने खालीरित्तो हात जान सक्नुहुन्न। परमेश्वर राजाहरुको पनि राजा हुनुहुन्छ यसकारण उहाँले इस्राएलीहरुलाई भन्नुभयो, 
“कोही पनि मेरो सामुन्‍ने रित्तो हात लिएर देखा नपरोस्‌" - प्रस्थान २३:१५
तर एउटा रोचक कुराचाहिँ राजाले यसलाई आफ्नो वैभवताको अघि चुनौती भन्दा पनि दबाबको रुपमा लिँदछन, र आफ्नो उदारता देखाउन तपाईले लिएर आउनुभएको उपहारभन्दा धेरै गुणा बहुमूल्य र महङ्गो उपहार तपाईलाई दिन्छन्। 
पत्रूसले पनि यस्तै विनिमय (साटासाट) को विषयमा भन्छन्, 
" ....उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। एक पल्‍ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्‍वरका प्रजा भएका छौ। एक पल्‍ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ" - १ पत्रूस २:९-१० 
यहाँ पत्रूस बताउँछन् परमेश्वरले तपाईको जीवनको अन्धकारको साटोमा ज्योती दिनुभयो, श्रापको साटो कृपा, अयोग्यताको साटो विशिष्टता, त्यागिएको व्यक्तित्वहरुलाई साटेर तपाईलाई आफ्नो प्रजा तुल्याउनुभयो। 
तपाईसँग जे थियो, परमेश्वरले तपाईलाई त्यो भन्दा बहुमूल्य र अनमोल उपहार दिनुभयो। 



    KR MINISTRY

Follow us on Facebook :

https://www.facebook.com/KR-Ministry-100603994682704/

Subscribe to our youtube Channel:

https://youtube.com/channel/UCrEdov-cW_27tu48OuQVXKQ


Comments