ख्रीष्टमा म को हुँ? (तेस्रो भाग-हाम्रो चिनारी)

ख्रीष्टमा म को हुँ? (हाम्रो चिनारी)

पहिलो पहिचान : चुनिएको वंश
यूहन्ना ३:३ मा येशू ख्रीष्टले निकोदमेसलाई भन्नुभयो, "साँच्चै म तिमीलाई भन्दछु, कोहि नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन"। नयाँ गरी जन्मेको व्यक्तिले  ख्रीष्टमा नयाँ पहिचान र चिनारी प्राप्त गर्दछ। अब उप्रान्त ऊ पुरानो व्यक्ति हुँदैन तर नयाँ हुँदछ। उसको जीवनशैली, स्वभाव र चरित्रहरुमा हामी ख्रीष्टको झल्को देख्न सक्छौ। जसरी लाजसर मरेको थियो उसको पुरानो स्वभाव र शैलीहरु मरेर जान्छ र जसरी ख्रीष्टले लाजरसलाई पूर्ण रुपमा बौरी उठाउनुभयो, मानिसहरुले भने "यस बेलासम्म त त्यो गन्हाउन लागिसक्यो होला", तपाईको पुरानो पाप र गल्ती, स्वभावहरुलाई ख्रीष्टले कुहाएर तपाईलाई पूर्ण रुपमा नयाँ बनाउनुहुनेछ । अब उप्रान्त तपाई गन्हाउने होइन, तर तपाईको सुगन्धले अरुलाई सुवास्ना दिनुहुनेछ। 

                                           "ख्रीष्टमा तपाईको नयाँ चिनारीमा सुवास्ना छ"

पत्रूसले यशैयाको वचनलाई उद्धृत गरेका छन जहाँ यसरी लेखिएको छ, 
"जङ्गली जनावरहरू, स्‍यालहरू र लाटोकोसेराहरूले मेरो इज्‍जत गर्छन्‌, किनभने म मेरा मानिसहरू, मेरा चुनिएकाहरूलाई पिउनका निम्‍ति मरुभूमिमा पानी अनि रूखो जमिनमा खोलाहरू दिन्‍छु, त्‍यस जातिलाई, जसलाई मेरो प्रशंसाको घोषणा गरून्‌ भनेर मेरो निम्‍ति मैले बनाएँ"- यशैया ४३:२०-२१
पुरानो नियममा केवल इस्राएली मात्र परमेश्वरका चुनिएका जाती थिए तर ख्रीष्टद्धारा त्यो सिमितता तोडिएको छ र आज हामी पनि परमेश्वरका निजि जाती ठहरिएका छौं। 
यसकारण प्रेरित पावल लेख्छन्,
"अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्‍का, न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ।
यदि तिमीहरू ख्रीष्‍टका हौ भनेता तिमीहरू अब्राहामका सन्‍तान हौ, र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ" - गलाती ३:२८-२९

पत्रूसले बारम्बार हामी चाहिँ परमेश्वरद्धारा छानिएका अथवा चुनिएका हौं भनी बताउँछन्।
१ पत्रूस १:२ "परमेश्वर पिताद्धारा उहाँको पूर्वज्ञानअनुसार चुनिएकाहरुलाई"
जब उनले यो पत्र लेख्दै थिए तब परमेश्वरका जनहरु सतावटको कारण छरपष्ट भएका थिए। उनीहरु केवल एकअर्काबाट मात्र होइन तर परमेश्वरबाट पनि उनीहरु छरपष्ट भएका थिए। यस्तो अवस्थामा उनीहरुलाई आफ्नो साँचो पहिचान र चिनारी थाहा हुन अति नै आवश्यक थियो। धेरै पटक बाधाँसमस्या र सतावटहरुको बिचमा हामीले आफ्नो चिनारीलाई भुलिरहेका हुन्छौ तर जब हामीलाई म को हुँ? भन्ने थाहा हुन्छ, हामी कुनै पनि सतावटहरुबाट गुज्रन सक्छौं।

'फ्रान्सका राजा लूईस (XVI) का पुत्रको कथा'
फ्रान्सका अन्तिम राजा लुईसलाई १७ सय शताब्दीमा उनको सिहासनबाट हटाइयो र कैद गरियो। उनको जवान छोरा, राजकुमारलाई पनि अपहरण गरियो। अपहरणकारीहरुले सोचे कि राजाको छोरा सिंहासनको उत्तराधिकारी भए तापनि यदि उनीहरुले नैतिक रुपमा उसलाई नष्ट गर्न सके, उसले जीवनले आफूलाई दिएको महान र भव्य भाग्य कहिल्यै महसुस गर्न सक्दैन। 
तिनीहरुले उसलाई टाढाको समुदायमा लग्छन् र त्यहाँ तिनीहरुले केटालाई हरेक फोहोर र घिनलाग्दा कुराहरुको प्रस्ताव र प्रलोभन दिन्छ। 
तिनीहरुले उनलाई घिनलाग्दा भाषाहरु सिकाउन खोज्छन्, वेश्यालय लग्छन,उनलाई कुलतमा फसाउन खोज्छन र चौबिसै घण्टा नैतिक रुपमा खतम गर्न यातना दिन्छन्। करिब छ महिनासम्म यस्तो चल्छ, हरेक दिन तर त्यस जवान केटा तिनीहरुको प्रलोभनमा पर्दैन। अन्तत: तिनीहरुको असफलतापछि तिनीहरुले उनलाई प्रश्न गरे-"किन तिमीले यी कुराहरुमा आफूलाई समर्पण गरेनौं-किन तिमीले यसमा भाग लिएनौ? यी कुराहरुले तिमीलाई आनन्द प्रदान गर्नेथियो, तिम्रो सम्पूर्ण अभिलाषा पुरा गर्नेथियो, यी सबै तिम्रै थियो? "
तब जवान केटाले जवान दिन्छ, "तिमीले मागेको कुरा म गर्न सक्दिन किनकि म राजा हुन जन्मेको हुँ"
प्रियहरु रापताप र चापको समय, सतावटको अवस्था र उत्तारचढावको परिस्थितिमा हामीले कहिल्यै हामी को हौं भन्ने सत्यतालाई भुल्नु हुँदैन। 

प्रेरित पावलले अझ यस रहस्यलाई स्पष्ट पार्दै लेख्छन् 
"उहाँको सामुन्‍ने पवित्र र निष्‍कलङ्क होऔं भनेर संसारको उत्‍पत्तिभन्‍दा अघिबाटै उहाँले हामीलाई चुन्‍नुभयो" - एफिसी १:४

चुनिनुको अर्थ के हो? 

किंग जेम्स संस्करण (KJV) मा उल्लेखनीय अनुवाद भेट्टाइन्छ, त्यहाँ "विशिष्ट जाती/ a peculiar people" भनी अनुवाद गरिएको छ। 
यहाँ ग्रीक शब्द "पेरिपोइसिस/peripoiēsis" प्रयोग गरिएको छ जसको अर्थ "सम्पत्ति" हुन्छ, यसले हामी हरेक परमप्रभुको सम्पत्ति भएको अर्थ्याउँदछ। 
प्रेरित पावल लेख्छन्, "तिमीहरू मोल तिरेर किनिएका हौ" (१ कोरन्थी ६:२०
पत्रूसले पनि अघिल्लो अध्यायमा स्पष्ट पार्छन कि,
"तिमीहरू जान्‍दछौ, कि आफ्‍ना पिता-पुर्खाबाट आएका व्‍यर्थका कुराहरूदेखि, सुन वा चाँदीजस्‍ता नाश हुने थोकहरूद्वारा दाम तिरी तिमीहरू छुट्ट्याइएका होइनौ, तर निष्‍खोट र निष्‍कलङ्क थुमाको जस्‍तो ख्रीष्‍टको अनमोल रगतद्वारा दाम तिरी छुट्ट्याइएका छौ"- १ पत्रुस १:१८-१९
परमेश्वर पिताले हामीलाई पापको दासत्वबाट छुट्टाउन सानो मोल तिर्नुभएको छैन तर आफ्नो एकमात्र पुत्र दिनुभयो यसकारण पनि हामी केवल उहाँको सम्पत्ति हौं।

'वंश'लाई 'मानिसहरु', 'जाती',  'पुस्ता', 'राष्ट्र' को रुपमा बुझ्न सकिन्छ। यहाँ वंशलाई जनाउने ग्रीक शब्द "लाओस/laos" प्रयोग गरिएको छ जसको अर्थ परमेश्वरसँग गहिरो सम्बन्ध भएको मानिसहरु" हो। 
प्रियहरु परमेश्वरले हामी धेरै असल भएको कारण, हामी धेरै क्षमतावान भएको कारण, हामीले धेरै असल कार्यहरु धर्मकर्महरु गरेको कारण हामीलाई चुन्नुभएको होइन तर उहाँले हामीलाई चुन्ने निर्णय गर्नुभएको कारण। उहाँलाई हाम्रो आवश्यकता भएर होइन, हामीलाई उहाँको आवश्यकता भएको कारण। उहाँले हामीलाई प्रेम गर्ने छनौट गर्नुभयो, हामीलाई चुन्ने इच्छा गर्नुभयो। 
यसकारण हामीले सधैं घमण्डलाई हाम्रो हृदयबाट सधैं टाढा राख्नुपर्छ। किन घमण्ड गर्ने? के तपाई धेरै पढेलेखेकाे हुनुहुन्छ भनेर घमण्ड गर्ने? तपाईको शिक्षाको कारण परमेश्वरले तपाईलाई चुन्नुभएको होइन। तपाईको धनसम्पत्तिको कारण घमण्ड गर्ने? त्यो तपाईको कहिल्यै थिएन। बलको कारण घमण्ड गर्ने? एकदिन समयले हामीलाई निर्बल तुल्याईदिन्छ। 
तर धर्मशास्त्रले यसरी भन्दछ, 
"परमप्रभु यसो भन्‍नुहुन्‍छ: “बुद्धिमान्‌ मानिसले आफ्‍नो बुद्धिमा घमण्‍ड नगरोस्‌, अथवा बलियो मानिसले आफ्‍नो बलमा घमण्‍ड नगरोस्‌, अथवा धनी मानिसले आफ्‍नो धनमा घमण्‍ड नगरोस्‌, तर जसले घमण्‍ड गर्छ त्‍यसले यस विषयमा घमण्‍ड गरोस्‌: ‘म परमप्रभुलाई जान्‍दछु र चिन्‍दछु, र उहाँ त्‍यही परमप्रभु हुनुहुन्‍छ, जसले पृथ्‍वीमा दया, न्‍याय र धार्मिकताको व्‍यवहार गर्नुहुन्‍छ। किनभने यिनैमा म प्रसन्‍न हुन्‍छु,” परमप्रभु भन्‍नुहुन्‍छ" - यर्मिया ९:२३-२४

- "चुनिनुको अर्थचाहिँ स्विकारिनु हो।"
हामी कोहि पनि त्यागिन चाहँदैनौ। तिरस्कृत हुनु चाहिँ औधी पिडाको कुरा हो। 
एउटा जनावर पनि स्विकारिन चाहन्छ। जब तपाईले घरपालुवा कुकुरलाई नियाल्नुहुन्छ, त्यो कुकुरले आफ्नो मालिकको ध्यान आफुतिर होस भनेर अनेक क्रियाकलाप गर्छ, आफ्नो मालिकबाट स्विकारिन चाहन्छ, आफ्नो मालिकको माया चाहन्छ। 
जब तपाई मण्डली प्रवेश गर्नुहुन्छ, कसैले तपाईको जयमसिहको प्रतिक्रिया दिएन भने तपाईलाई चोट पुग्छ। मानिस स्वभावैले स्विकारिन चाहन्छ, आफु महत्वपुर्ण छु भन्ने एहेसास गर्न चाहन्छ ।
 हामी कुनै समय त्यागिएका, तिरस्कृत भएका र परमेश्वबाट निकै टाढा थियौं तर उहाँले हामीलाई अव उसो स्विकार्ने प्रण गर्नुभयो यसकारण अब हामी त्यागिएका होइनौ तर चुनिएका वंश हौं। चुनिनुचाहिँ परमेश्वरले सित्तैमा दिनुभएको अति नै महान सुअवसर हो। 
पुरानो नियममा इस्राएललाई परमप्रभुले आफ्नो निज प्रजाको रुपमा चुन्नुभएको थियो। यसकारण पनि इस्राएलको दुष्टयाई, अपराध र अधर्मको बाबजुद पनि परमप्रभुले इस्राएललाई त्याग्नुभएन तर उहाँ भन्नुहुन्छ,
 “ए एफ्राइम, म तँलाई कसरी छोड़िदिन सक्‍छु र! ए इस्राएल, म तँलाई कसरी दुश्‍मनका हातमा सुम्‍पिदिन सक्‍छु? म तँलाई कसरी अदमालाई झैँ व्‍यवहार गर्न सक्‍छु? म तँलाई कसरी सबोयीमलाई झैँ बनाउन सक्‍छु! मेरो हृदय मभित्र परिवर्तित भएको छ। मेरो मन दयाले जागृत भएको छ" - होशे ११:८
यसकारण पनि चुन्नु र चुनिनुचाहिँ हामीले बुझेको भन्दा अझ गहिरो छ। चुन्ने प्रक्रियामा करार र प्रतिज्ञाजस्तो गम्भीर कुरा समावेश भएको हुन्छ। 
यसकारण पनि जब हामी कसैलाई आफ्नो जिवनसाथीको रुपमा चुन्छौ तब यसलाई परमेश्वरले गम्भीर रुपमा हेर्नुहुन्छ किनकि त्यहाँ करार र प्रतिज्ञाजस्तो गम्भीर कुरा समावेश भएको हुन्छ। केवल स्वस्थतामा, सुन्दरतामा, प्रशस्ततामा, ठिक-ठिक काम गर्दा मात्र होइन कमिकमजोरीमा, गल्तीमा, अस्वस्थतामा, घटिअभावमा पनि यो सम्बन्ध बलियो हुनुपर्छ जसरी परमप्रभुले इस्राएललाई तिनीहरुको कमीकमजोरी र गल्तीहरुमा पनि त्याग्नुभएन, टिठ्याउनुभयो,सजाय पनि दिनुभयो तर त्याग्नुभएन किनकि उहाँले तिनीहरुलाई चिन्नुभएको थियो। 

"चुनिनुको अर्थ उत्तराधिकारी हुनु हो।"
जुन दिनबाट हामी परमेश्वरद्धारा चुनियौ धर्मशास्त्रले भन्दछ, "उहाँले हामीलाई सन्तान हुने अधिकार दिनुभयो" (यूहन्ना १:१२)
धर्मशास्त्रले येशूख्रीष्टको क्रूसको मृत्युअघि उहाँलाई 'एकलौटे पुत्र'(यूहन्ना ३:१६) को रुपमा सम्बोधन गरेको छ, तर क्रूसले हामीलाई पनि परमेश्वरको सन्तान हुने अधिकार दियो यसकारण परमेश्वरको अब उप्रान्त एकलौटे पुत्र होइन तर धेरै पुत्रहरु छ। 
यसकारण हिब्रूका लेखक भन्छन्,
"पवित्र तुल्‍याउनुहुने (परमप्ररभु) पवित्र तुल्‍याइएकाहरू (इशाईहरु/हामी) पनि सबै एउटै परिवारका हुन्‌। त्‍यसैकारण तिनीहरूलाई भाइ भन्‍नमा येशू शर्माउनुहुन्‍न" - हिब्रू २:११
जब हामी ख्रीष्टमा हाम्रो नयाँ पहिचान प्राप्त गर्दछौं तब हामी उहाँमा रुपान्तरण हुँदै जान्छौ। 
वास्तवमा इशाई हुनुको अर्थचाहिँ  हप्ताको एक दिन दुई घण्टाको निम्ति आफ्नो मण्डली परिवारसँग सेवासंगतीमा सामेल हुनु होइन। तर ख्रीष्टको रुप धारण गर्नु हो, उहाँमा रुपान्तरित हुनु हो। 
वास्तवमा 'ख्रीष्टियन' को अर्थ नै 'सानो ख्रीष्ट' हो। 
जब हामीले आफैलाई क्रिस्चियन भएको दाबि गरिरहेका हुन्छौं, हामी आफूलाई ख्रीष्टको कान्छो भाई सानो ख्रीष्टको रुपमा प्रस्तुत गरिरहेका हुन्छौं।  





    KR MINISTRY

Follow us on Facebook :

https://www.facebook.com/KR-Ministry-100603994682704/

Subscribe to our youtube Channel:

https://youtube.com/channel/UCrEdov-cW_27tu48OuQVXKQ



Comments