भण्डारेको जिम्मेवारी
हामी हरेक परमेश्वरबाट चुनिएका भण्डारे हौं।
ल्यारी बरकेट, "एउटा परीवारको आत्मिकी जिवन कस्तो छ भनि बुझ्नको निम्ति, त्यस परिवारले कसरी आर्थिक श्रोत र साधनलाई परिचालन गर्छ हेर्नुपर्छ"
इडोवा कोयनिकान, "जब पैसालाई आफू असल हातमा भएको महसुस हुन्छ तब यो त्यहि हातमा बस्न र वृद्धि हुन चाहन्छ"
पावलले आफैलाई पादरी अथवा मिनिष्टर नभएर सेवक भएको बताउँछन। अझ पावलको शब्दलाई ठेट भाषामा भन्ने हो भने जहाजमा काम गर्ने नोकर। पावलले आफैलाई प्रेरित वा सन्तसँग दाँज्न मानेका छैनन तर आफैलाई गिराएर नोकरको दर्जा दिएका छन्।
पावल एक नम्रताका नमुना :
१ कोरन्थी १५:९, "प्रेरितहरुमध्ये म सबैभन्दा तुच्छ हुँ"
एफिसी ३:८, "सबै सन्तहरुमा म अत्यन्त तुच्छ हुँ"
१ तिमोथी १:१५, "पापीहरुमा म सबैभन्दा मुख्य हुँ"
आजका अगुवाहरु जो पद र प्रतिष्ठाको पछि एकोहोरो दौडिरहेका छन, उनीहरुले पावलबाट गम्भीर पाठ सिक्न आवश्यक छ। एउटा अगुवा पहिला सेवक अर्थात नोकर अर्थात भण्डारे हुन सिक्नुपर्छ। जसले मालिक नभएर परमेश्वरको नोकरको रुपमा आफैलाई हेर्न सक्छ ऊ जिवनभरि नम्रतामा जिउन सक्छ अनि परमेश्वरलाई नम्र मानिस औधी मनपर्छ।
"धन्य नम्रहरु, किनभने तिनीहरुले पृथ्वीको अधिकार पाउनेछन्"- मत्ती ५:५
भण्डारे नम्रताको नमुना हुनुपर्छ तर जसले आफैलाई मालिक हुँ भनि ठान्छ भने ऊ मुर्ख र घमण्डले भरिएको व्यक्ति हो र उसले स्वयम परमेश्वरलाई चुनौती दिरहेको हुन्छ। यस्तो दुस्साहस चाहिँ एकताका शैतानले गरेको थियो। अहिले त्यसको अवस्था कस्तो छ विचार गर्नुहोस्। कुनै समय स्वर्गको महिमामय स्थानमा उसको वास थियो, परमेश्वरले सिद्धतामा त्यसलाई सिंगार्नुभएको थियो, स्वर्गदुतहरुमध्ये विशिष्ट प्राणी आज एउटा विश्वासीको प्रार्थनाले भाग्नुपर्छ। धर्मशास्त्रले ठिकै भनेको हो,
"सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डी आत्मा आउँछ"- हितोपदेश १६:१८
यसकारण प्रिय भण्डारेहरु हामीले कहिल्यै घमण्ड नगरौ 'मैले यो कमाएको छु, यो उपलब्धिहरु हासिल गरेको छु' भनेर तर हरेक कुराको श्रेय परमेश्वरलाई नै दिउ। यदि कसैले तपाईको प्रशंसा गर्छ भने त्यस प्रशंसाको निम्ति धन्यवाद दिनुहोस तर त्यस प्रशंसालाई ग्रहण नगर्नुहोस् तर त्यस प्रशंसा परमेश्वरलाई दिनुहोस्।
हामी परमेश्वरअघि र मानिसअघि पनि एक असल र इमान्दार भण्डारे ठहरिन आवश्यक छ।
यसकारण पनि पावल लेख्छन्, "यसरी मानिसले हामीहरूलाई ख्रीष्टका सेवक र परमेश्वरका रहस्यहरूका भण्डारे ठान्नुपर्दछ" - १ कोरन्थी ४:१
"एउटा व्यक्ति भण्डारे हुन अघि सेवक हुनपर्छ" तब मात्र उसले भण्डारेपनलाई पुर्णतामा बुझ्न सक्छ। सेवाको हृदय नभएको भण्डारे परमेश्वर चाहनुहुन्न। धेरैचोटी मण्डलीमा यस्तो दुखलाग्दो घटनाहरु घटदछ। मण्डलीले दुख गरेर एक-एक पैसा जम्मा गरेर बाइबल कलेज पढाएपछि उसको हृदय सेवाकाईको नभएर अरु कुराको निम्ति हुन्छ। सेवाकाई तब प्रभावकारी हुन्छ जब सेवाकाई हृदयले गरिन्छ। बाध्यताले, कसैको करकापले, मानिसलाई हरेर गरिने, स्वार्थपनले गरेको सेवाकाई अन्तसम्म टिक्दैन।
भण्डारे जवाफदेही हुनुपर्छ। भण्डारेलाई मालिकले जिम्मेवारी सुम्पिएको कारण ऊ जवाफदेही हुनुपर्ने हुन्छ। एउटा भण्डारेले आफ्नो जिम्मेवारी र कर्तव्य कति असल रुपमा निभायो यसको लेखा बुझाउनुपर्ने हुन्छ। यसकारण बाइबलले बताउँदछ कि, "यसैले हामी हरेकले परमेश्वरलाई आफ्नो लेखा दिनेछौं" - रोमी १४:१२
"किनकि हामी सबै ख्रीष्टका न्याय-आसनको सामुन्ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ" - २ कोरन्थी ५:१०
एउटा मानिसको निम्ति स्वयम परमेश्वरद्धारा भण्डारेको जिम्मेवारी सुम्पनुचाहिँ सौभाग्यको कुरा हो तर यसका साथै यो ठूलो चुनौतीपूर्ण छ। यो महान जिम्मेवारीलाई एकले सम्पूर्ण संयमता र सतर्कताकासाथ निभाउनुपर्ने हुन्छ। एउटा भण्डारे पूर्ण अनुशासित हुन आवश्यक छ।
के हामीले एक असल र इमान्दार भण्डारेलेझै आफ्नो जिम्मेवारीहरु पुरा गरिरहेका छौं?
बाबइबलले भन्दछ,
“विश्वासी र बुद्धिमान् नोकर को हो, जसलाई त्यसको मालिकले आफ्ना परिवारका चाकरहरूलाई ठीक-ठीक समयमा खान देओस् भनी खटाएको हुन्छ? त्यो नोकर धन्य हो, जसलाई मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछ। साँच्चै, म तिमीहरूलाई भन्दछु, मालिकले त्यसलाई आफ्नो सारा सम्पत्तिमाथि जिम्मेवार नियुक्त गर्नेछ। तर यदि त्यस दुष्ट नोकरले ‘मेरा मालिक बियाँलो गर्छन्’ भनी मनमा ठानी, आफूसँगै काम गर्ने नोकरहरूलाई पिट्न र मतवालाहरूसँग खान र पिउन लाग्यो भने, त्यस नोकरको मालिक त्यसले नचिताएको दिन र नजानेको घड़ीमा आइपुग्नेछ। अनि मालिकले त्यसलाई कठोर दण्ड दिनेछ र त्यसलाई ढोंगीहरूका माझ फालिदिनेछ, जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।”- मत्ती २४:४५-५१
विश्वासयोग्य र बुद्धिमान नोकर को हो?
बाबइबलले भन्दछ, "भण्डारेहरु विश्वासयोग्य(Pistos) ठहरिनुपर्छ" (१ कोरन्थी ४:२)। यहाँ विश्वासयोग्यलाई जनाउने ग्रीक शब्द 'पिसटोस' प्रयोग गरिएको छ जसको अर्थ भरोसाको योग्य हुन्छ। एउटा भण्डारे सर्वप्रथम परमेश्वरको नजरमा अनि दोस्रो मानिसको नजरमा भरोसाको योग्य ठहरिन आवश्यक छ। बाइबलले भन्दछ, "जो थोरै कुरामा इमान्दार हुन्छ, त्यो धेरैमा पनि इमानदार हुन्छ" - लूका १६:१०
परमेश्वर बिना जाँच भरोसा गर्नुहुन्न। उहाँ हामीलाई सानो कुरा दिएर जाँच गर्नुहुन्छ। धेरैचोटी हामी डल्लै ठूलो भाग खोजिरहेका हुन्छौं। यदि अहिले हामीसँग भएको थोरै श्रोतमा हामी इमान्दार छैनौ भने परमेश्वरबाट हामीले ठूलो कुराको आश गर्न सक्दैनौं।
त्यसोभए को हो त एक विश्वादयोग्य र बुद्धिमान भण्डारे?
एउटा भण्डारे/नोकर जसले आफ्नो मालिकद्धारा सुम्पिएकाे जिम्मेवारीहरुलाई चाहे मालिकको उपस्थितिमा वा अनुपस्थितिमा इमान्दारसाथ पुरा गर्छ, त्यहि विश्वासयोग्य र बुद्धिमान नोकर हो। त्यो नोकर जसले मालिकको डरकासाथ होइन तर मालिकको आदरकासाथ आफ्नो जिम्मेवारीहरुलाई पुरा गर्दछ।
को नोकर धन्यको हो?
त्यो नोकर जसलाई मालिकले आउँदा आफ्नो जिम्मेवारी र कर्तव्यबाट नतर्कि त्यसलाई पुरा गरिरहेको भेट्टाउँदछ। कतिले आफ्नो जिम्मेवारी सुरुवाती समयमा मात्र खुशी र जाँगरका साथ पुरा गर्छ तर जसै समस्या आउँछ, मानिसले आलोचना गर्न थाल्छ, श्रोतको अभाव हुन थाल्छ तब निराश भई आफ्नो जिम्मेवारीहरुबाट तर्किदँछ। त्यस्तो नोकरलाई मालिकले आफ्नो आगमनमा सुम्पिएको जिम्मेवारी पुरा गर्दैगरेको भेट्टाउदैन। अन्तसम्म आफ्नो जिम्मेवारीबाट नफर्किने नोकर नै धन्यको हो।
जब हामीलाई परमेश्वरले भरोसा गरेर केहि जिम्मेवारी सुम्पनुहुन्छ तब हामीले त्यसलाई गम्भीरताकासाथ आफ्नो मृत्युसम्मै पुरा गर्नुपर्ने हुन्छ।
बाइबलमा येशूख्रिष्टले दुई प्रकारको नोकरहरुको बिषयमा बताउँनुभयो। एउटा नोकरलाई आफ्नो जिम्मेवारी र मालिकको इच्छा थाहा थियो तर त्यसले आफ्नो मालिकको इच्छा अनुसार गर्न इन्कार गर्दछ यसकारण त्यसको दण्ड एकदम कठिन हुनेछ तर अर्को नोकरलाई आफ्नो मालिकको इच्छा थाहा नभएको कारण ऊ आफ्नो जिम्मेवारीमा अलमल र दुविधामा पर्छ र उसको दण्डचाहिँ कम कठोरमय हुनेछ तर दुवै नोकर दण्ड र न्यायको हकदार हुनेछ।
“आफ्नो मालिकको इच्छा जानेर तयार नरहने र तिनको इच्छाबमोजिम नगर्ने दासले चाहिँ ज्यादै पिटाइ खानेछ। तर मालिकको इच्छा नजानेर पिटाइ खाने योग्यको काम गर्नेले थोरै पिटाइ खानेछ। प्रत्येक जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै मागिनेछ, र हरेक जसलाई धेरै सुम्पिएको छ, त्यसबाट अझ बढ़ी लिइनेछ" - लूका १२:४७-४८
अवश्य पनि हामी यी दुवै नोकर हुन चाहँदैनौ तर हामीचाहीँ विश्वासयोग्य र बुद्धिमान नोकर हुन चाहन्छौ यसकारण हामीलाई परमेश्वरको इच्छा र हाम्रो जिम्मेचारी स्पष्ट रुपमा थाहा हुन आवश्यक छ। जब हामीलाई परमेश्वरको/मालिकको इच्छा थाहा हुन्छ तब अटोमेटिक हामीलाई हाम्रो जिम्मेवारी पनि थाहा हुन्छ। आज हामी दुविधा र अलमलमा पर्नुको मुख्य कारणचाहिँ हामीलाई हाम्रो सृष्टिकर्ताको इच्छा थाहा नहुनु हो। मण्डलीमा समस्या आउनु, एकअर्कामा मनमुटाव र चित्त दुखाई हुनु, मण्डलीले दर्शन र उद्धेश्यको क्षेत्रमा काम गर्न नसक्नु यी सबैको पछाडीचाहिँ हामीलाई परमेश्वरको इच्छा थाहा नहुनु हो।
जब एउटा इसाईलाई परमेश्वरको इच्छा थाहा हुन्छ उसलाई आफ्नो जिवनसँग के गर्नुपर्छ, 'मेरो जिम्मेवारी के हो थाहा हुन्छ'।
परमेश्वरले हामीलाई समय, पैसा, वरदान, बुद्धि, क्षमता अादि दिनुभएको छ र उहाँको इच्छा अनुसार यी कुराहरु परिचालन गर्न हामी जिम्मेवार छौं।
जोन डि. रकफेलर अमेरिकाको पहिलो अरबपतिहरुमध्ये एक थिए र उनी ब्याप्टिष्ट सम्प्रदायका इसाई थिए। उनले पैसा कमाउने क्षमता परमेश्वरको उपहार हो र यस क्षमतालाई विकास गरिनुपर्छ र अरुको भलाईको निम्ति प्रयोग गरिनुपर्छ भनि विश्वास गर्थे। उनले आफ्नो जिवनकालमा ५५ करोड डलर दान दिए तर उनले आफ्नो मुठ्ठी खोल्न धनी हुन पर्खेनन्। ख्रिष्टमा आएपछि नै उनले मण्डलीमा दंशाश दिन थाले। जब उनी ७ वर्षका थिए ५मा सेन्टस् (५० पैसा) पकेटमनिको रुपमा पाउँथे। उनलाई ५ पैसा बचत गर्न र ५ पैसा दान दिन सिकाइन्थ्यो।
भण्डारेको जिम्मेवारीहरु:
-परमेश्वरको श्रोत र साधनहरुको व्यवस्थापन
- परमेश्वरको श्रोत र साधनहरुलाई उहाँको इच्छा र योजना अनुरुप परिचालन गर्ने
- अरुको निम्ति सदुपयोग गर्ने (हराएकाहरु, दिनदुखी,गरिब,असहाय,बालबालिका आदी)
- परमेश्वरको श्रोत र साधनहरुको वृद्धि

Comments
Post a Comment