आर्थिक व्यवस्थापन- आधारभूत बाइबलीय सिद्धान्त

बाइबलले केद्रित गरेको महत्वपूर्ण विषयहरुमध्ये आर्थिकको विषय एक हो। 
हाम्रो जीवनको आर्थिक र आत्मिक क्षेत्र एकअर्कासँग जोडिएको हुन्छ। आज हामी धेरै परमेश्वरका जनहरु आर्थिक जीवनमा चुकिरहेका हुन्छौं। येशूख्रीष्ट स्वयमले स्वर्ग र नरकको विषयमा भन्दा बढी आर्थिक विषयमा प्रचार गर्नुभयो। बाइबलले २५०० पटकभन्दा बढी पैसा र आर्थिक कुराहरुको बारेमा बोलेको छ। जब हाम्राे आर्थिक क्षेत्र बिग्रन्छ यसको सिधा असर हाम्रो आत्मिक क्षेत्रमा देख्न सकिन्छ। 
आज हामी ३ सामान्य, सरल र सहज बाइबलीय आर्थिक सिद्धान्तहरुलाई हेर्नेछौं जसले हाम्रो जीवन परिवर्तन गर्नेछ तर यसको निम्ति यी सिद्धान्तहरुलाई हामीले हाम्रो आर्थिकी जीवनमा लागु गर्नुपर्ने हुन्छ। 


पहिलो, ऋणमुक्त हुनुहोस् :
एउटा परिक्षणमा जब भ्यागुतालाई तात्तो पानीमा हालियो, त्यसले तातोलाई सहन नसकेर उफ्रेर भाग्न थाल्यो तर त्यसलाई जब सामान्य तापक्रम भएको पानीमा राखियो र बिस्तारै-बिस्तारै पानीको तापक्रम बढाउँन थालियो भ्यागुता आरामले मनतातो पानीको मज्जा लिन थाल्यो र अन्त्यमा पानी उम्लेर भ्यागुताको ज्यान गयो।
प्रियहरु जब हाम्रो आर्थिक छेत्रलाई ऋणको सहायताले मिलाउन थाल्छौ यो हाम्रो बानीमा परिणत हुन्छ, हामीसँग जे-जति छ त्यो सधैं अपुग देखिन्छ र बिस्तारै-बिस्तारै ऋणको खाडलमा डुबेको पत्तो हुँदैन। 
बाइबलले यसरी भन्छ, 
 "ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ"-हितोपदेश २२:७
"बन्धकमा आफ्नो हात नहाल, अथवा अर्काको ऋणको जमानी नबस्। यदि तँसँग तिर्ने उपाय छैन भने, तँ सुतेको खाटसमेत तँबाट खोसिनेछ"- हितोपदेश २२:२६-२७
अवश्य पनि दुवै खण्डहरुले ऋण लिनु अबाइबलीय हो भनेको होईन। कतिपय त्यस्ता परिस्थितिहरु हुन्छन् जहाँ हामीलाई सहायताको खाँचो पर्दछ र त्यसमा आर्थिक पनि पर्दछ तर यस खण्डहरुले हामीलाई ऋण लिन अघि सचेत गराउँदछ कि ऋण लिनुअघि मानिस होसियार हुनुपर्छ। ऊ दासजस्तै गरिब, अत्याचारमा परेको मानिस बन्न सक्छ। 
यसकारण आर्थिक छेत्रलाई प्रभावशाली रुपमा व्यवस्थापन गर्ने पहिलो खुड्किला तपाई ऋणमुक्त हुनुपर्छ। मृगले चिताको पन्जाबाट आफैलाई फुत्काएझैं तपाईले आफैलाई साहुकारको ऋणबाट छुटाउनुहोस्। बाइबलमा कहि पनि ऋण असल हो भनिएको छैन। 
व्यक्तिगत जीवनमा ऋण सधैं दुई ‌प्रकारका खर्चका कारणले लिइन्छ :
आवश्यकताको खर्च (Fixed Expenses) 
चाहनाका खर्चहरु (Variable Expenses) 
हामीले हाम्रो चाहनाकाे खर्चहरुलाई मारेर भए पनि हाम्रो ऋणलाई निमिट्यान्न पार्नुपर्छ। 

दोस्रो, बचत गर्नुहोस्:
योसेफले अनिकालको निम्ति प्रार्थना होइन बचत गरेको कारण मिश्र,इस्राएल र अन्य राष्ट्रहरुलाई बचाउन सफल भए। एउटा असल व्यवस्थापक अनिश्चितकालीन समयको लागी सधैं तयार हुन्छ। 
पैसाले सधैं एउटा कुरा भन्छ, "यदि तिमीले मलाई आज बचायौं भने म तिमीलाई भोली बचाउनेछु"
बजेट तयार पार्नुहोस्। प्रत्येक रुपैयाँलाई नाम दिनुहोस् र योजना कोर्नुहोस। बिना योजना र बिना रणनीति भविष्यलाई सामना गर्नु मुर्खतापूर्ण हुन्छ। 
लुका १४:२८-२९

तेस्रो, लगानी गर्नुहोस्। 
परमेश्वर हाम्रो स्रोत निष्क्रिय भएको देख्न चाहनुहुन्न। हामीलाई याद छ, येशूख्रीष्टले बताउनुभएको 'तोडाको दृष्टान्त'मा मालिक जोचाहिँ परमेश्वर हुनुहुन्छ, उहाँ नोकरहरुले आफ्नो स्रोतलाई केवल बचत मात्र होइन तर लगानी गरेको चाहनुहुन्थ्यो, यसकारण तेस्रो नोकर जसले आफ्नो तोडालाई लगानी नगरी माटोमुनि राखेको थियो, त्यसबाट त्यो पनि खोसियो। 
याद गर्नुहोस् पहिलो मानिसलाई परमेश्वरले दिनुभएको आशिष एउटा निर्देशन र आग्या पनि थियो, "फल्दै-फुल्दै, वृद्धि हुँदै,पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ" - उत्पति १:२८
गरिबीचाहिँ स्रोतको कमी हुनु होइन तर उत्पादन र सृजनाको कमी हुनु हो। 
हामीले आफ्नो स्रोत र साधनलाई परमेश्वरको राज्यको निम्ति लगानी गर्नुपर्छ। आर्थिक व्यवस्थापनमा दया देखाउने, दिने र मुठ्ठी खोल्ने कुरा सधैं प्राथमिकतामा आउनुपर्छ। यसले परमेश्वरको आशिष हाम्रो आर्थिकमा देख्न सक्छौं।



Comments

Post a Comment